भक्तपुरका ज्ञानेश साख सबैरै उठ्छन् । उनीसंगै उनकी श्रीमती समेत संगै उठ्छिन् । ज्ञानेश दम्पति बिहानको झिसमिसे संगै आफ्नो दिनचर्या शुरु गर्छन। त्यो दिनचर्या रातको १२ बजे सम्म पनि जारी नै रहन्छ ।
उनीहरुको व्यस्तता यस्तो छ कि, आफ्नो लागि खाना पकाउने समेत समय हुँदैन । दिनहुँ सय बढी ग्राहक खाजा र चिया खानकै लागि आउने ज्ञानेश बताउँछन् । विहान ५ बजेदेखि राति ९ बजे सम्मै उनको पसलमा चहलपहल हुन्छ । उनी भन्छन्, ”विहानैदेखि ग्राहक आउनुहुन्छ त्यसैले खाने समेत फुर्सद हुँदैन ।”
२०४६ सालदेखि नै ज्ञानेश साखको परिवारमा व्यवसायिक कुकको उदय भएको हो । उनको बुवाले भक्तपुर क्याम्पसमा २०४६ सालदेखि नै क्यान्टिन संन्चालन गरि व्यवसायिक कुकको काम सुरु गरे । ज्ञानेशले पनि बुबाको कामका अलि अलि सघाउँदै काम सिक्दै आए । पछि कामको सिलसिलामा ज्ञानेशले भक्तपुरको एक रेस्टुरेन्टमा कुकको रुपमा काम पाए । काम गर्दै गरेको क्रममा बुबाको अचानक २०७४ सालमा हातखुट्टा नचल्ने भएपछि त्यो काम उनकै काँधमा आइपुग्यो । ज्ञानेशले रेस्टुरेन्टको राम्रो काम छोडेर बुबाले संन्चालन गरिरहेको कामलाई निरन्तरता दिए ।
उनले २०५४ सालदेखि २०७६ साल सम्म भक्तपुर क्याम्पसको क्यान्टिन संन्चालन गरे । पछि क्याम्पसको नयाँ भबन बनाउने भनेपछि त्यस क्षेत्रमा काम छोडे ।
हातमा सिप त छ तर काम गर्ने ठाउँको खोजीमा महिना दिन उनी भौतारीरहे । कतै ठाउँ नपाए पछि श्रीमतीको सल्लाह अनुसार घरबाट नै काम सुरु गर्ने निधो गरे ।
तर, घरमा पनि समस्या थियो । संयुक्त परिवार भएकोले त्यो काममा पनि केहि समय बाधा आइपर्यो । तर जहाँ इच्छा त्यहाँ उपाए । अन्तत, उनकी भाउजु घर दिन तयार भएपछि उनलाई घरबाटै व्यवसाय संचालनमा सहयोग मिल्यो ।
त्यसपछि सुरु भयो ज्ञानेशको फास्ट फुड एण्ड कफी सप । साघुरो ठाउँ र पुरानो घरमा फास्ट फुड एण्ड कफी सप चल्छ र र ? त्यो आफैमा प्रश्न थियो । पुरानो घरलाई केहि सरसफाई पछि प्रश्नैप्रश्न बीच सुरु भयो ज्ञानेशको फास्ट फुड एण्ड कफी सप ।
उनकोमा यस्तो भिड हुन्छ कि ग्राहक बस्नका लागि समेत पालो कुर्न बाध्य छन् । यो सब आफ्नो लगाव, मिहिनेत र ग्राहकप्रति उत्तरदायी भएको नतिजा मान्छन उनी । सबैसंग राम्रो व्यवहार गर्ने मिजासिलो स्वभाबले गर्दा ग्राहक पालो कुर्न तयार छन् तर जादैनन ।भक्तपुर क्याम्पसमा काम गर्दाका ग्राहक समेत आफ्नोमा आउने गरेको उनले सुनाए ।
ज्ञानेश दाई संग अहिले कुराकानी गर्ने समेत फुर्सद छैन । उनको काममा श्रीमतीले साथ समेत दिएकि छन । उनको श्रीमती शिक्षिका थिइन । पछि ज्ञानेशको कामको व्यस्तताको कारण शिक्षण पेशा नै छाडेर श्रीमानको काममा साथ दिइरहेको उनले बताइन।
अहिले छोरा छोरीले समेत साथ दिएकोले उनलाई स्वास फेर्न अलि फुर्सद भएको छ । ज्ञानेशले लामो स्वास लिदै भने ”पहिला काम गर्दा सबैलाई मनाउनु पर्ने तर अहिले आफ्नैमा काम गर्दा बेग्लै मजा छ । अहिले आफूले मासिक रुपमा ४०-५० हजार आम्दानी गरिरहेको उनले बताए ।
भक्तपुरको मुटुमा नै रहेको ठाउँ भएकोले पनि ज्ञानेशको पसलमा चहलपहल अचेल निकै फस्टाएको छ । नजिकै बनिरहेको भाजु पोखरी भोलिका दिनमा एउटा सुन्दर ठाउँको रुपमा विकास हुँदै छ भने यता सिद्ध पोखरी समेत संगै जोडेकोले पनि ज्ञानेशको पसलमा चहलपहल निकै देखिन्छ ।
सानो लगानीबाट सुरु भएको उक्त पसल अहिले विस्तारै माथि उठ्न सफल भएको छ । उनको काममा साथदिन पाएकोमा श्रीमती पनि दंग देखिन्छिन । अलि अलि आमाको पनि साथ छ । ज्ञानेशको काममा अहिले खुशी देखिन्छ परिवार । ज्ञानेश पनि परिबारको हौसलाले गर्दा यहाँ सम्म आइपुगेको बताउछन ।
ज्ञानेश पूर्व बास्केटबल खेलाडी समेत हुन् । भक्तपुर क्याम्पसमा उनको पहिचान बास्केटबल खेलाडीको रुपमा समेत थियो । अहिले पनि उनलाई खेल प्रति त्यतिनै रुची छ तर परिवार पाल्न आफूले अपनाएको पेशालाई उनले त्यो भन्दा बढी महत्व दिएका छन् । उनी खेलाडी बन्न नपाएकोमा पछुतो छैन ।आफ्नै बुबाको पेशालाई अंगालेर आम्दानी गर्न सकेकोमा उनी दंग देखिन्छन् ।