समाचारीय मूल्य :
सर्वोच्च अदालतको सुदृढीकरण आन्दोलनमा बारको भूमिकाको रुपरेखा बार कार्यालय भित्र तैयार हुँदै थियो । बाहिर पटाङ्गिनीमा दुई जना वकिल लडभिड् गर्दै थिए । घटना सामान्य हो तर, सूचना प्रविधिको विकासले यस्ता घटनालाई पनि ‘भाइरल’ बनाइदिन सक्छ । भएको त्यतिमात्र हो ।
पत्रकारितामा यौन, हत्या, सबै प्रकारका हिंसा, आतंक, युद्ध अर्थात नकारात्मक समाचारको ‘समाचारीय मूल्य’ बढी हुन्छ । यसर्थ विकाउ माल उत्पादन गर्न सबै उद्धत हुन्छन् । यस्तो समाचारमा सबैको आँखा दौडने भएकाले पनि कथित ‘एक्सक्लुसिव स्टोरी’ बनाउन कोही पछि हट्दैन । थोरैलेमात्र यस्ता समाचारीय मूल्य दिँदैनन, दिएनै भएपनि यस्ता घटनालाई न्युनिकरण गर्ने उद्वेश्यले पस्केका हुन्छन् ।
बझाउनु पत्रकारिता हैन :
घटना दुई जना वकिलको बीचमा भएको सामान्य प्रकृतिको थियो । यो घटनालाई अतिरञ्जित बनाउनु पर्ने कुनै कारण थिएन/छैन । तर, ‘मूलधारको मिडिया’ले यसपछि पनि यो घटनालाई रञ्जित बनाउन कुनै कसर छाडेनन् । अझ दुबैजना पात्रलाई स्टुडियो बोलाएर ‘केरकार’ गर्ने जुन काम गरे तिनले नेपाली पत्रकारितालाई गलत दिशातर्फ मोड्ने काम गरेका हुन् । नेपाली पत्रकारितामा यतिखेर दुई पक्षलाई बोलाएर बझाउने कामलाई पत्रकारिता भन्ने बुझ्ने गरिएको छ ।
कसरी हान्नु भयो फेरी हानेर देखाउनुस त ?’ भनेर पत्रकारले कुस्तिको अखडामा पहलमानको परीक्षा लिएजस्तो गर्नु पनि कतै पत्रकारिता हो ? ‘फलनाले तपाईलाई यसो भन्दैथिए तपाईँ के भन्नुहुन्छ ?’ यस्तो पनि प्रश्न हुन्छ ? जनताको नाम गरेर आफ्नो खल्तीबाट प्रश्न उठाउन मिल्छ ? तर, यस्तै पत्रकारितालाई नेता, पाठक, दर्शकश्रोताले पुठ दिँदा विग्रेको पत्रकारिता हो । यस्तै पो पत्रकारिता हो कि भन्ने गलत सन्देश दिएको हो । यसैले दूरदराजमा पत्रकार हुने हो भने फलाना ‘हर्फनमौला’ पत्रकार झैं हुनु भनेर दशैंमा टीका लाउँदा आशिर्वाद दिएको प्रसंग आउँछ । पत्रकार भनेको फलाना ‘हर्फनमौला’ पत्रकार जस्तो हो भन्ने गाउँले जिज्ञासा आउँछ । यहिँनेर आएर पत्रकारिता भ्रष्टिकरण भएको छ । गलत दिशातर्फ मोडिएको छ ।
युट्युबेको अनुकरण :
यतिखेर नेपाली पत्रकारिता ‘युटुबे पत्रकारिता’तर्फ मोडिन सुरु गरेको छ । कथित ‘भिउज’ बढाउने नाममा खेतीपाती गर्ने काम भएको छ । यो घटनामा पनि पत्रकारिताले त्यसै गर्यो । घटनाको गहिराइमा पुग्ने कोशीस गरेन । कस्ले पहिला हात लगायो कति मुक्का हान्यो आदिमै अडियो । घटनाको पृष्ठभूमिमा पुगेन । घटनाको परिस्थिति निर्माण गर्ने कारणको सारमा पुगेन । समाचार दिने अस्वस्थ्य प्रतिष्पर्धामा लागि रहे । यतिखेर युटुबे प्रस्तोता र आम पत्रकारिता छुट्टिन छोडेको छ । बारको बैठकमा गएर लाइफदिने नाममा अनाधिकृत प्रबेश गर्ने आफुलाई पत्रकारिताको ‘हर्फनमौला’ सम्झने प्रवृत्तिले नेपाली पत्रकारितालाई कहाँ पुर्याउँछ ? त्यस्तै हर्फनमौला प्रवृत्ति बढ्दै गए नेपाली पत्रकारहरु झगडा लगाउने बझौटेको भूमिकामा पुग्नेछन् ।
झुसिलो डकार :
यो झगडाको चुरो कुरो भने झगडिया वकिल भूमिनन्द चुडालले आफै दिए । उनले झगडा पछि गणतन्त्रको विपक्षमा, राजतन्त्रको पक्षमा दिएको सार्वजनिक बयान त्यो भने महत्वपूर्ण छ । उनी अहिलेको परिवर्तनको खारेजीमा लागेका पश्चगामी, प्रतिगामी प्रवृत्तिका पिपा हुन भन्ने ठहरमा पुगिन्छ । उनी जति नै ‘लुला–लंगडा’ भएपनि उनले बारको पटाङ्गिनीमा उभिएर दिएको बयान स्वाभिमानी नागरिकका लागि अपमान हो । यस्तो दुर्बचन पचाउन सकिने विषय त हुँदै होइन, नेपाली जनताले सत्तरी वर्ष लगाएर ल्याएको परिवर्तन र महान शहीदहरुको दिउँसै तिरस्कार गरिएको घटना हो । यसअर्थमा अर्का वकिल विराट न्यौपानेले गरेको ‘हर्कत’ अपराध सरह होइन । काँक्रा चोरलाई मुड्के सास्ती मात्र हो ।
अदालतको बेथितीलाई थितीमा ल्याउने बारको प्रस्तावित आन्दोलनलाई मात्र चुडालले विरोध गरेका होइनन् । चोलेन्द्र शमसेरको भित्रांस पनि खोलेका छन् । चोलेन्द्रले राजीनामा दिन आनकानी गर्नु पछाडिको रहस्य बाहिर ल्याएका छन् । व्यवस्थापिका, कार्यपालिकामाथिको हमलामा पराजित प्रतिगामीहरु यतिखेर चोलेन्द्रमार्फत दूनो सोझ्याउन दोस्रो खिलराज खोजिरहेका छन् । चोलेन्द्रको बुइ चढेर राजतन्त्रको पुनस्थापनाको दीयो बाल्न सकिन्छ कि भन्ने मकसद तिनीहरुमा भएको यो घटनाले पुष्टी गर्छ ।
चोलेन्द्र मात्रै यस्ता पात्र हुन् जसको पृष्ठभूमि र आगत–विगतले राजतन्त्रको बैतर्णी पार गर्न सकिने सम्भावना छ । तर, चुडाल जस्तो रुन्चे अभियन्ताले राजतन्त्रको पुनस्थापना चैं कसरी गर्ला ? यो प्रश्न चैं अनुत्तरित नै छ । फेरिपनि चुडाल प्रकरण राजतन्त्रवादीहरुको यस्तै झुसिलो डकार चैं पक्कै हो । (झिल्कोबाट)