नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर नेमकिपाका अध्यक्ष, संविधान सभा सदस्य, पूर्व सांसद एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेंको निवासमा पुगेको छ । पत्नी वियोगमा रहेका नेता बिजुक्छें र परिवारजनमा समवेदना प्रकट गर्न महासंघ बिजुक्छें निवास पुगेको हो ।
सोमबार कमलविनायकस्थित बिजुक्छें निवास पुगेको महासंघको टोलीले अध्यक्ष बिजुक्छेंको जीवन संगिनी शोभा प्रधानप्रति श्रद्धान्जली अर्पण गर्दै उनको निधनले अध्यक्ष बिजुक्छेले आफ्नो जीवनसाथी र भक्तपुरले एक कर्मठ शिक्षासेवी गुमाउनुपरेको बताएको थियो । शाखाका कार्यवाहक अध्यक्ष सुन्दर सिल्पकारको नेतृत्वमा पुगेको उक्त टोलीले प्रधानको निधनले शोकमा रहेका नेता बिजुक्छें, परिवारजन, पार्टी पङ्ति र भक्तपुरवासी सबैमा धैर्यधारण गर्ने सामर्थ्य प्राप्त होस् भनी कामना र समवेदना सहित श्रद्धान्जली पत्र समेत हस्तान्तरण गरेको सहसचिव हेमराज ढकालले बताए ।
शोक सभामा नेमकिपाका अध्यक्ष एवं वरिष्ठ बामपन्थी नेता बिजुक्छेंले आफ्नो परिवारको पिडामा महासंघ मल्हम लगाउन आएको प्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए । उक्त क्षणमा नेमकिपाका जिल्ला अध्यक्ष एवं बागमती प्रदेश सांसद शुरेन्द्रराज गोसाई र परिवारजनको समेत उपस्थिति रहेको थियो ।
लामो समयदेखि क्यान्सर रोगले ग्रसित बिजुक्छें पत्नी प्रधानको ६२ वर्षको उमेरमा गत ८ गते निधन भएको हो । २०४० सालमा अध्यक्ष बिजुक्छें संग बिबाह गरेकी प्रधानले अध्यक्ष बिजुक्छेंको राजनीतिक संघर्षपूर्ण जीवनको साक्षी र सहयोगी बन्दै जीवन बिताएकी थिइन् । विद्यालय शिक्षक रहेर शिक्षा सेवा गरेकी प्रधानले पार्टीको बिभिन्न भूमिकामा रही राजनीतिमा समेत सक्रियतापूर्वक सहभागिता जनाएकी थिइन् । गत शुक्रवार उनको अन्येष्टिमा हजारौ सर्वसाधारण सहभागी भई उनको पार्थिव शरीरलाई अन्तिम बिदाइ गरेका थिए ।