नेपाली काँग्रेस भक्तपुरले जिल्ला सम्मेलनको सम्पूर्ण तयारी सम्पन्न गरेको छ । सम्मेलन तयारी मुल समितिका संयोजक कृष्णमुरारी न्यौपानेको संयोजकत्वमा जिल्ला सम्मेलनको सम्पूर्ण तयारी सम्पन्न भएको हो ।
सम्मेलनलाई आज बिहान ९ बजे पार्टी सभापति शेर बहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ । उक्त अवसरमा पार्टीका अन्य पदाधिकारी सहित नेता शेखर कोइरालाको समेत आतिथ्यता रहने जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिएका छन् । कालोपाटीस्थित भक्तपुर ब्याङ्क्वेट लाई सम्मेलन स्थल तोकिएको छ ।
सम्मेलनमा सहभागी हुन काँग्रेसका नेता कार्यकर्ताहरु बाजागाजासहित र्याली गरेर आउने तयारीमा रहेका छन् । सल्लाघारी, दुवाकोट र ब्यासी लगायतका ठाउँबाट र्याली शुरु गरी सम्मेलन स्थलमा जोडिने कार्यतालिका रहेको छ । कार्यक्रम स्थललाई दुलही झैँ श्रिंगारिएको छ भने आसपासको माहोल समेत काँग्रेसमय बनाइएको छ ।
बन्द सत्रमा भने जिल्लाका ४ वटै नगरपालिका एवं ३८ वटै वडामा निर्वाचित क्षेत्रीय प्रतिनिधिहरु, पार्टीको विभिन्न तहमा रहेको समितिका सभापति, पदाधिकारीहरु, भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रतिनिधि एवम् पर्यवेक्षक गरी १ हजार ५ सय भन्दा बढीको सहभागिता रहने जिल्ला सभापति दुर्लभ थापाले जानकारी गराएका छन् ।