गत बिहीबार सय किलो सुन तस्करी प्रकरणबारे समाचारमा न केपी ओलीको नाम थियो न तस्वीर । थियो त केवल व्यवसायी दीपक मलहोत्राको तस्वीर र समाचार । तर, सोमबार राति अन्तर्राष्ट्रिय विमानस्थलको पत्रकार सम्मेलनमा ‘नयाँ पत्रिका’माथि पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली खनिए । पत्रिकाले मलहोत्रासंग जोडेर आफ्नो तस्वीर राखेको भन्दै उनले आक्रोश पोखेका छन् । त्यतिमात्र होइन, नयाँ पत्रिका सतारुढ़ माओवादी पार्टीको पत्रिका भएको समेत उनको आरोप छ ।
उनको आक्रोश र आरोपले विषयबस्तु प्रति एमाले अध्यक्ष ओलीको बुझाइ कति सतही रहेछ भन्ने पर्दाफास समेत भएको छ । आफूले बुझेर भन्दा अरुले बुझाएको कुरामा ओली आश्वस्त हुने गरेको तथ्य यसले उजागर गरेको छ । पत्रिकालाई लिएर हचुवाको भरमा अध्यक्ष ओलीले दिएको अभिव्यक्तिबारे एमालेका अधिकांश पदाधिकारी नै आश्चर्यचकित भएका छन् । ओलीलाई उनका नजिककाले गलत सूचना दिएकाले पत्रिकामाथि आरोप लगाएको हुनसक्ने उनीहरुले पत्रकार संग स्पष्टिकरण दिने गरेका छन् । ओलीले ‘आफूलाई कसैले पत्रिकाले त्यसरी फोटो प्रकाशन गरेको जानकारी गराएको सूचनाका आधारमा बोलेको’ पदाधिकारीलाई जवाफ दिएका बताइएको छ ।
बुधवार उनको आक्रोश र आरोपप्रति सम्पादकीय नै लेखेर नयाँ पत्रिकाले चिन्ता व्यक्त गरेको छ । ”देशको दोस्रो ठूलो राजनीतिक दलका अध्यक्षको अभिव्यक्तिमा विवेक,मर्यादा र सूचनाको अभाव देखेर हामी चिन्तित छौं ।” सम्पादकीयमा भनिएको छ ।
सय किलो सुन तस्करी प्रकरण दीपक मलहोत्रा अनुसन्धानको दायरामा भएको उल्लेख छ । त्यसमा न ओलीको कुनै तस्बिर छ, न नाम । त्यो समाचारमा ओलीको आक्रोश, आरोप र गाली–गलौजले मलहोत्रासँग उनको अतिरिक्त प्रेम त देखिएला, तर राजनीतिक विवेक र मर्यादा नदेखिने नयाँ पत्रिकाको ठहर छ ।
३३ किलो सुन तस्करी प्रकरणबाट मलहोत्रा कसरी र किन जोगिए ? पूर्णपाठ आउन बाँकी नै छ र ओलीको आक्रोशबाट सजिलै बुझ्न सकिने सम्पादकीयमा भनिएको छ ।
यो देश ओलीको पार्टीमा जस्तो कसैले प्रश्न उठाउन नसक्ने अवस्थामा नरहेको भन्दै सम्पादकीयमा ओलीलाई बिनाम्रतापूर्वक अनुरोध गर्दै भनिएको छ ”तस्करहरूप्रति यत्ति नाङ्गो प्रेम आफ्ना कार्यकर्तालाई कतै दुख्ला भन्ने विवेक प्रयोग गरिदिनोस् ।”