प्रतिनिधि सभामा सांसद दुर्लभ थापाले पहिलोपटक विषय उठान गरेका छन् । भक्तपुर २ बाट निर्वाचित सांसद थापाले ९ महिनापछि पहिलोपटक समसामयिक समस्या उठान गर्दै संसदको ध्यानाकर्षण गराएका हुन् ।
बिहीवार प्रतिनिधि सभामा शुन्य समय लिएर सांसद थापाले राज्यका तीनै अंग बिरामी रहेको प्रति चिन्ता व्यक्त गरे । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बिरामी परेको उनको भनाइ छ । उनी बिरामी रहेको खबर सभामुखले संसदलाई जानकारी गराएको प्रशङ्ग उल्लेख गर्दै सांसद थापाले प्रश्न गरे, ”सरकार, संसद र न्यायालय बिरामी भएको कोमार्फत जानकारी हुन्छ ? म ध्यानाकर्षण गराउन चाहन्छु ।” भ्रष्टाचार र तस्करी बिरुद्ध आक्रामक शुरुवात गरेको सरकार सुस्त हुँदा, संसद अवरुद्ध हुँदा र अदालतले कार्यपालिका र व्यवस्थापिका माथि हस्तक्षेप बढाउँदा राज्यका तीनै अंग जनताको नजरमा बिरामी बनेका उनको प्रष्टीकरण रहेको छ ।
त्यस्तै उनले भक्तपुरको सानोठिमी स्थित युसेप नेपाल नामक संस्थाले संचालन गरेको बाल सुधार गृहमा गत ३ गते भएको बालकको मृत्यु र तत्पश्चातको तोडफोड लगायतमा सत्य तथ्य बाहिर ल्याउनुपर्ने तथा मृतक परिवारलाई क्षतीपूर्ती दिनुपर्ने पनि माग गरेका छन् । १ मिनेटको शुन्य समयमा उनले २ विषय उठान गरेका हुन् ।
के हो शुन्य समय
संसद्को नियमित कार्यसूचि रहेका बेला सांसदले आफ्नो निर्वाचन क्षेत्रका आपतकालीन र महत्वपूर्ण विषयवस्तु सभामुखमार्फत ध्यानाकर्षण गराउनका लागि एक मिनेटको समय छुट्टाइएको हुन्छ । त्यसैलाई शुन्य समय भन्ने गरिन्छ । शून्य समय लिएर बोल्ने संसदीय अभ्यास बेलायतबाट सुरु भएको हो ।