भक्तपुर-१ स्थित डा इवामुरा स्मृती अस्पतालको लापरवाहीले फेरिपनि एकजनाको ज्यान गएको तथ्य बाहिर आएको छ । गत असार २५ गते मुटु सम्बन्धी समस्याको उपचार गर्न गएकी एक महिलाको ज्यान गएको कुरा अस्पतालले गुपचुप पारेको हो ।
भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ५ खरिपाटीमा क्यान्टिन संचालन गर्दै आएकी वर्ष ३६ की कविता सुनारको उपचारका क्रममा ज्यान गएको थियो । अस्पतालले काठमाडौंको एक निजी अस्पतालमा रिफर गरी पुन इवामुरामै फर्काएर उपचार गरेको थियो । इवामुराले गलत उपचार गरेको र नेपालको एकमात्र सरकारी मुटुरोग अस्पताल शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा रिफर नगरी निजी अस्पतालमा पुर्याई फेरि इवामुरामै बिरामी फर्काउन लगाई उपचार गरेकाले बिरामीको ज्यान गएको भन्दै आफन्त आन्दोलित थिए ।
दुई बच्चाकी आमा सुनारको मृत्यु भए पश्चात् मृतकका आफन्तले डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भनी शव बुझ्न नमान्दा अस्पताल प्रशासन र आफन्तबीच प्रहरी प्रशासनको रोहबरमा वार्ता भएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा पिडित परिवारलाई ६ लाख रुपैया दिन र मृतकका २ बच्चालाई उच्च शिक्षासम्म पढाइको व्यवस्था गरिदिन डा इवामुरा स्मृती अस्पताल मन्जुर भएपछि सहमति भएको भनिएपनि त्यो कुरा गुपचुप पारिएको छ । सहमतिपछि परिवारले शव बुझेको थियो ।
केही समय अघि इन्डाेस्काेपी गर्न आफै हिडेर इवामुरा मेमोरियल अस्पताल पुगेका भक्तपुर ७ का ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुकाे पनि अस्पतालकाे लापर्वाही र चिकित्सककाे हेलचक्रयाइँपूर्ण इन्डाेस्काेपीका कारण मुटुमा क्षति पुग्न गई नर्भिक अस्पतालमा ज्यान गएको थियो । त्यतिबेला नर्भिकका लाग्ने सम्पूर्ण खर्च इवामुराले ब्योहोर्ने सहमति गरिएको थियो तर, बिरामीको ज्यान भने बचाउन सकिएको थिएन ।