भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा ट्रकको चक्कामा परी स्कुटी चालकको ज्यान गएपछि स्थानीय आक्रोशित बनेका छन् । १२ चक्के मालवाहक ट्रकले किच्दा स्कुटी चालकको घटनास्थलमै बिभत्सकिसिमले ज्यान गएपछि स्थानीय आक्रोशित भएका हुन् ।
काठमाडौ बाट आइरहेको बा४९प ८९४४ नम्बरको स्कुटीलाई सोही दिशाबाट आइरहेको ना६ख २१७३ नम्बरको मालबाहक ट्रकले गठ्ठाघर बस स्टपमा दिउँसो करिब २ बजेको समयमा ठक्कर दिएको थियो । त्यसपछि पनि ट्रक चालकले जानीजानी घिसारेर स्कुटी चालकको ज्यान लिएको भन्दै स्थानीय आक्रोशित छन् । घटनास्थल राताम्मे छ भने स्थानीयको प्रदर्शनका कारण थप तनावग्रस्त बनेको छ ।
चक्का मुनी किचिएको अवस्थामा रहेकी स्कुटी चालकको पहिचान हुन सकेको छैन ।शव निकाल्न ट्रक उठाउनुपर्ने भएकोले जिल्ला प्रशासन कार्यालय भक्तपुरले क्रेन पठाएको छ । तर, प्रदर्शनकारीले क्रेनलाई अवरोध गर्दा शव पहिचान समेत हुन नसकेको सिडिओ रोशनीकुमारी श्रेष्ठले बताएकी छन् ।
भक्तपुर पोस्ट संग कुरा गर्दै सिडिओ श्रेष्ठले संयमता अपनाउन सबैसंग आग्रह गरेकी छन् । दुर्घटनाका दोषीलाई उन्मुक्ति नहुने प्रतिवद्धता प्रकट गर्दै उनले प्रहरी प्रशासनलाई सहयोग गर्न स्थानीय प्रदर्शनकारीसंग अनुरोध गरेकी छन् ।