भक्तपुरमा एकाबिहानै सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पतिपत्नी सवार स्कुटीलाई १२ चक्के मालबाहक ट्रकले ठक्कर दिँदा पछाडि सवार पत्नी ४१ वर्षीया नविना देउलाको निधन भएको हो ।
भक्तपुरको भक्तपुर नगरपालिका-५ घर भई हाल देउला दम्पती ललितपुरको नख्खीपोटमा बस्दै आएका थिए । उनका पति स्कुटी चालक ४३ वर्षीय जिते देउलाको नागरिक अस्पतालमा उपचार भैरहेको र बोल्नसक्ने अवस्थामा रहेको प्रहरीको भनाइ छ ।
बिहीबार बिहान ७ बजेको समयमा भक्तपुरको मध्यपुर थिमि- ३ स्थित गठ्ठाघर चोकमा भक्तपुरबाट काठमाडौ तर्फ जादै गरेको ना ८ ख २३११नं.को १२ चक्के ट्रकले सोही दिशा तर्फ जादै गरेको बा प्र.०२-०३८प ४४०१नं.को स्कुटीलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी रहेका डिएसपी ढुन्डीराज नेउपानेले जनाएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी नविनाको पौने ८ बजेको समयमा भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचारको क्रममा ज्यान गएको डिएसपी नेउपानेले जानकारी दिए ।
ट्रक चालक मकवानपुरगढी गाउँपालिका-४ का ३८ वर्षीय बुद्ध बहादुर घलानलाई नियन्त्रणमा लिई प्रहरी बृत थिमिले थप अनुसन्धान अघि बढाएको उनले बताएका छन् ।