निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्ला कार्यसमितिले नयाँ नेतृत्व पाएको छ । प्याब्सन भक्तपुरकाे १६ औँ अधिवेशनले राजन कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
अध्यक्ष निर्वाचित कस्पाल मोर्डन बोर्डिङ स्कुल, दधिकोटका संचालक/प्रिन्सिपल हुन् । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा निलेश आचार्य र अर्को उपाध्यक्ष पदमा बिजय कर्माचार्यलाई निर्वाचित गरेको प्याब्सनिष्ट दिनेश मैनालीले जानकारी दिए । उनीहरू सर्वसम्मत निर्वाचित भएका बताइएको छ ।
अधिवेशनले सर्वसम्मत गर्न नसक्दा सचिव र कोषाध्यक्ष पदका लागि भने मतदान गर्नुपरेको थियो ।
इम्युनिटी स्कूलका संचालक/प्रिन्सिपल सूर्य बहादुर भण्डारीलाई भने सचिव पदमा मतदानको सामना गर्नुपर्यो । उनले प्रतिस्पर्धी उम्मेदवार डिल्ली जोशीलाई १२ मतले पछि पार्दै सचिव पद हात पारे । त्यसैगरी काेषाध्यक्षमा पनि मतदान बाट रत्नमान शंखदेव बिजयी बने । उनी एनके श्रेष्ठलाई पछि पार्दै बिजयी बनेका हुन् ।
सह-सचिवमा लिलानाथ निरौला र सह-कोषाध्यक्षमा लक्ष्मी कुटु भने निर्विरोध निर्वाचित भएका थिए ।
नयाँ कार्यसमितिको सदस्यहरुमा मीना महर्जन, ईश्वर बहादुर श्रेष्ठ, प्रभुनारायण यादव, शंकरकुमार कर्ण कायष्ठ, कृष्ण कार्की रहेका छन् । अधिवेशनले जीवन श्रेष्ठ, यज्ञराज भट्टराई र दिनेश मैनालीलाई महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।
अधिवेशनमा १ सय २ प्रतिनिधि सहभागी रहेका थिए । दुई पद पनि सर्वसम्मत गर्नुपर्ने पक्षमा रहेका २८ प्रतिनिधिले तठस्थ रहँदै मतदान बहिस्कार गरेका बताइएको छ ।
नवनिर्वाचित अध्यक्ष कस्पालले आफ्नो नेतृत्वको कार्यसमितिले सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता प्रकट गर्दै निर्वाचन अधिवेशनको एक प्रक्रिया मात्र भएको र प्याब्सन भक्तपुर एक ढिक्का नै रहेको भक्तपुर पोस्टसंग प्रतिक्रिया दिएका छन् ।