
भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको रहस्मय निधन र न्याय माग गर्दा विद्यार्थी माथि भएको दमनको सानोठिमीमा बिरोध भएको छ ।
बी–टेक तेस्रो वर्षमा पढ्ने नेपाली विद्यार्थी प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएको र विद्यार्थीले अनुसन्धानको माग गर्दा दमन भएको भन्दै अखिल (क्रान्तिकारी) सानोठिमी क्याम्पस समितिले बिरोध प्रदर्शन गरेको हो । विद्यार्थीहरुले मंगलवार साँझ क्याम्पस गेट अगाडी उभिएर बिरोध प्रदर्शन गरेका हुन् ।
अखिल (क्रान्तिकारी) प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन हो ।
विद्यार्थीहरुले विद्यार्थीको मृत्युबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने, न्याय माग्दा दमन गर्ने क्याम्पस प्रशासनलाई कारवाही हुनुपर्ने, विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने, भयरहीत वातावरणमा पढ्नपाउने व्यवस्था मिलाउनुपर्ने लगायतमा प्लेकार्ड प्रदर्शन गर्दै बिरोध गरे ।
उनीहरुले नेपाल सरकारले आफ्नो नागरिकबारे पर्याप्त चिन्ता र चासो नदेखाएको प्रति खेद प्रकट पनि गरेका छन् ।
अखिल (क्रान्तिकारी) सानोठिमी क्याम्पस समितिकी अध्यक्ष चन्द्रकला बास्तोलाले भारतमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्यु हुँदा सरकार सुतेर बसेको बताइन ।
घटनाको अनुसन्धान हुनुपर्ने जायज माग गर्दा नेपाली विद्याथीलाई दमन गर्ने र विश्वविद्यालय बाट निकाल्ने कार्य अमानवीय भएको बास्तोलाले बताएकी छन् ।
भारतमा अध्ययनरत विद्यार्थीको सुरक्षाका लागि सरकारले कुटनीतिक र राजनीतिक पहल नगरे आफूहरु नेपाल सरकार बिरुद्ध आन्दोलन गर्न बाध्य हुने अध्यक्ष बास्तोलाले चेतावनी दिएकी छन् ।