अर्जुनबहादुर रायमाझी शिक्षा सेवामा नसुनिएको नाम होइन । जतिबेला तत्कालिन माओबादी जनयुद्धमा थियो त्यतिबेला नै औलामा गनिने माओबादी समर्थक कर्मचारीका रुपमा चिनिन्थे शिक्षाका अर्जुन रायमाझी ।
बिद्यार्थी बेला देखि नै बामपन्थी बिचारले प्रेरित रायमाझी माओबादी शान्ति प्रक्रियामा आएपछी गठन भएको राष्ट्रिय कर्मचारी संगठनका शिक्षा विभागीय समितिको अध्यक्ष समेत रहेका थिए । उनले शिक्षामा खुबै संगठन बिस्तार गरे । अहिले पनि राकसको शिक्षा विभागीय समिति अब्बल दर्जामा गनिन्छ ।
उपसचिव बनेपछि ट्रेड युनियनमा रहन नपाउने निजामति ऐनको व्यवस्था बमोजिम उनी अहिले संगठनमा सक्रिय नभएको बताउछन । उनी उपसचिव बनेको धेरै पनि भएको छैन र उपसचिव हुनासाथ जिशिअ बन्ने भाग्यशाली व्यक्ति पनि बने रायमाझी ।
तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको निजि सचिवालयमा रहदा रहदै उनको बढुवा भयो र आफुलाई शिक्षाको नीतिगत र प्रक्रियागत कुरामा सहयोग गरेको र शिक्षा ऐन संसोधनमा पनि लागेको भन्दै पोखरेलले रायमाझीलाई महत्वपूर्ण जिम्मेवारीमा पुर्याए । अनि शुरु भयो रायमाझीको कार्यालय प्रमुखको पहिलो यात्रा । जिल्ला शिक्षा अधिकारीको रुपमा , त्यो पनि राजधानीसंगै जोडिएको भक्तपुर बाट ।
सिनियर उपसचिवहरुले दावी गर्ने उपत्यकामा रायमाझीका बिरोधी निस्किएनन । संगै पोस्टिङ भएका काठमाडाैं र ललितपुरमा बिबाद मात्र भएन । अदालतसम्म मुद्दा पर्यो र निर्णय कार्यान्वयन हुन सकेन तर भक्तपुरमा कान्छा उपसचिव भएर नियुक्त रायमाझी अहिलेसम्म निर्बिबाद रहेका छन ।
उनको सरल स्वभाव, मिलनसार व्यवहार र इमान्दार छविका कारण उनी सबैका प्यारा बनेका छन् । उनी खुला किताब जस्ता छन्, बोलाइ र गराई फरक छैन उनको । त्यसैले आफु संगैका साथीहरु फेरबदल भैरहदा उनले भक्तपुरमा बसेर ३ मन्त्री पनि पचाइसकेका छन् ।
रायमाझी शिक्षा बुझेका र शिक्षाप्रति चिन्तित भएकाले जिशिअको अनुभव बिना नै अनुकरणीय कामको प्रारम्भ समेत गरे । उनले बन्द भएका सरकारी स्कुलहरुलाई ब्युताउनु समुदायको लागि असल कामको शुरुवातको रुपमा लोकप्रिय छ ।
निजी स्कूल संग प्रतिष्पर्धा गर्न नसकेको भन्दै बन्द भएका स्कुलहरुलाई उनले सुचारु मात्र गराएनन । समुदायलाई संचालनको जिम्मेवारी दिएर भौतिक सुविधामा पनि पहुचको स्थिति बनाइदिए । त्यतिमात्र होइन नीजी विद्यालयले कसरी राम्रो गर्न सके भन्ने अनुभव शेयारिंग गराएर, तालिम संचालन गाराएर र आपसी सहयोगलाई अनिवार्य बनाएर उनले हुदा खाने बर्गको पहुँच हुने सामुदायिक स्कूलहरुलाई सुक्नबाट बचाए ।
शिक्षा कार्यालय सेवाग्राहीको प्रत्यक्ष सम्पर्क हुने कार्यालय भएकोले पनि बादबिबाद त् भै नै रह्यो तर रायमाझीले सबैको साझा बनेर सबै समस्याको समाधान गरेको कुरा शिक्षा समितिमा रहेकाहरु नै सुनाउछ्न । जिशिअलाइ विपक्षीको आखाले हेर्ने समितिका सदस्यहरु रायमाझीबाट भने बेखुशी बनेनन् । उनमा बोल्ने कला नभएपनि काम गर्ने र सबैलाई मिलाएर अघि बढ्न सक्ने कला भएको कर्मचारीहरु बताउँछन ।
यतिबेला शिक्षाका अधिकार र संरचनाहरु स्थानीय तहमा पुगेका छन् । कतिपय जिल्लाहरुमा यसले कर्मचारी र जनप्रतिनिधिहरुबीच सौताको जस्तो व्यवहार पनि देखायो । जिशिका र स्थानीय तहको अन्तरबिरोधहरु मिडियासम्म आए र सेवाग्राहीले सास्तीसमेत पाए । तर भक्तपुरमा त्यस्तो भएन ।
जिशिअ रायमाझीले स्थानीय तहको निर्वाचन अगाडीबाट नै स्थानीयले गर्ने कामहरु स्थगित गरेर अधिकार र उत्तरदायित्व हस्तान्तरणको तयारी गरेका थिए । ‘कतिपयले यसलाई जिशिअ काम गर्न डराएको भनेर पनि बुझे तर जनप्रतिनिधिहरुको काममा हस्तक्षेप गर्नु जनतामाथि अन्याय गर्नु हो भन्ने मेरो बुझाइ थियो । त्यसैले मैले गरिन ।” इभक्तपुरसंग उनले भने ।
अहिले जिशिकामा उनीसहित ३ कर्मचारी मात्र छन् । बाँकी सबै स्थानिय तहमा बाँडिइसके । शिक्षा विभागले यो बर्ष जिशिका नरहने कल्पना नगरेकोले उनको दिनचर्या कार्यालयमा बितिरहेको छ ।
कर्मचारी जनताका सेवक हुन् त्यसैले जनप्रतिनिधि भन्दा माथि हुन सक्दैनन् भन्ने रायमाझी जनताको पक्षमा काम गर्ने आफ्नो कर्तब्य र गराउने जनप्रतिनिधिको अधिकार भएको बताउँछन ।
”राजनीति बुझेको छु त्यसैले सिस्टमलाई सहयोग गर्ने कर्तब्यबाट बिमुख हुन्न” उनले प्रतिबद्धता जनाए । आफु राजनीति गर्ने मान्छे नभएको र कर्मचारी मात्र भएको बताउदै उनी भन्छन् ” राजनीति गर्ने र बुझ्ने फरक कुरा हो ।” कर्मचारीले राजनीति बुझ्न भने जरुरी भएको उनको बझाइ छ । यसले व्यवस्थालाई बलियो बनाउन मद्दतै गर्ने उनी बताँउछन् । ”राजनीति बुझ्नुपर्छ गर्ने भए चै चुनावमा भिड्नु पर्यो , नत्र जनप्रतिनिधिलाई कर्मचारीले बाटो छेक्नु हुदैन ।” उनको कुरा स्पष्ट छ ।