News Portal

  • राष्ट्रपतिमा दोहोरिने भण्डारीको इच्छा

    पत्रपत्रिकाकाठमाडौँ, २२ माघ
    ७०० पटक
    काठमाडौँ, २२ माघ

    राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकताको ‘घनीभूत’ छलफलमा रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ‘लन्च मिटिङ’ गरेकी छन् ।

    शनिबार दिउँसो उनले दुवै अध्यक्षलाई शीतलनिवास बोलाई झन्डै पाँच घण्टा लामो भेट गरेकी हुन् । दुई अध्यक्षसँग राष्ट्रपतिको भेटबारे राष्ट्रपतिका प्रमुख स्वकीयसचिव डा भेषराज अधिकारीले पुष्टि गरे पनि कुराकानीको एजेन्डाका विषयमा भने अनभिज्ञता व्यक्त गरे।

    ‘उहाँहरू (ओली–दाहाल) सँग राष्ट्रपतिज्यूको शनिबार शीतलनिवासमै भेटघाट भएको हो,’ डा अधिकारीले भने, ‘अनौपचारिक भेटघाट भएकोले त्यहाँ हाम्रो सहभागिता रहने कुरा भएन, कुराकानी के भए त्यो पनि जानकारी हुने कुरा भएन ।’

    तर, माओवादी केन्द्रका अध्यक्ष दाहालनिकट स्रोतका अनुसार, राष्ट्रपतिले दुई अध्यक्षलाई आमन्त्रण गरी गरेको लन्च छलफलमा उनले दुई कम्युनिस्ट पार्टीको एकता प्रक्रियादेखि नयाँ राष्ट्रपति चयनसम्मका विषयमा जिज्ञासा राखेकी थिइन् ।

    अनौपचारिक कुराकानीमा अत्यन्त खुलेरै तीन नेताबीच कुराकानी भएको शीतलनिवास स्रोतले पनि बतायो । उक्त छलफलमा राष्ट्रपति भण्डारीले राष्ट्रपतिमा पुनः दोहोरिने इच्छा प्रकट गरेकी थिइन् ।

    ‘आम जनमत एमालेमाओवादीबीच एकताकै पक्षमा छ, तपाईंहरूले पार्टी एकता गर्नुहोस्’, राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै शीतलनिवास स्रोतले अन्नपूर्णसँग भन्यो, ‘नयाँ राष्ट्रपति–उपराष्ट्रपति चुनावका सन्र्दभमा पनि दुई पार्टीभित्रैबाट आउने भएकाले एक कार्यकाल हामीलाई नै अवसर दिनुहोस् ।’

    आफूहरू (भण्डारी र नन्दबहादुर पुन) ले लामो समय कार्यकाल सम्हाल्न नपाएको तर्क राख्दै भण्डारीले नयाँ राष्ट्रपति –उपराष्ट्रपति चयन गर्दा राष्ट्रलाई पर्न आउने व्ययभार, आफूहरूको अनुभव, पार्टीदेखि राष्ट्रको परिवर्तनका पक्षमा गरेको योगदानलगायत सम्मानका लागि भए पनि दोहोर्याउन आग्रह गरेकी थिइन् ।

    एमाले अध्यक्ष ओली आफ्नो पक्षमा सकारात्मक नै रहेको ठानेकी भण्डारीले दुवै नेतालाई सँगै राखेर आफूहरूको निरन्तरताको प्रतिबद्धता चाहेकी स्रोत बताउँछ । राष्ट्रपति भण्डारीले पुनः राष्ट्रपतिमा दोहोरिने इच्छा यसअघि माओवादी अध्यक्ष दाहालसँग राखिसकेकी थिइन् । भण्डारीले दाहाल परिवारलाई २८ पुसमा शीतलनिवासमै बेलाएर डिनर दिएकी थिइन् ।

    स्रोतका अनुसार, उक्त संवादमा भण्डारीले दुवै पार्टी अध्यक्षको पदीय भागबन्डा कार्यकारी भूमिकामै रहनेगरी टुंगो लगाएरै भए पनि एकता गर्न सुझाएकी थिइन् ।

    उनले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री र दाहाललाई पार्टी अध्यक्ष चलाउन दिएर भए पनि एकता गर्न सुझाएको माओवादी अध्यक्ष दाहालले आफ्नो पार्टीनिकट विद्यार्थी संगठनका पदाधिकारीसँग आइतबार आफ्नै निवासमा खुलाएका थिए ।

    ‘राष्ट्रपति, ओलीजी र म हिजो (शनिबार) मात्रै पनि बस्यौं, राष्ट्रपति स्वयंले पनि पीएम र सीएम दुई अध्यक्षमा बाँडफाँट गरेर टुंगो लगाएरै भए पनि एकता गर्नुहोस् भनेर सुझाव राख्नुभयो’, बैठकमा सहभागी एक विद्यार्थी नेताले भने ।

    ओलीले भने आफ्नो पार्टीभित्रको ‘प्रेसर’ लाई देखाउँदै तत्कालभन्दा एकताको महाधिवशेनपछि पार्टी अध्यक्ष लिन दाहाललाई सुझाएका थिए । दाहालले पार्टी एकता समदूरीमा राखेर गर्नका लागि पनि अध्यक्ष र प्रधानमन्त्री दुई अध्यक्ष बीच बाँडफाँट गरी एकता प्रक्रिया टुंग्याउनु राम्रो हुने राष्ट्रपति सहमतिको छलफलका क्रममा राखेका थिए ।

    ‘पीएम र सीएम पावर सेयरिङ हुँदा नै एकतालाई बल पुग्छ भन्ने तर्क हामीले राख्दै आएका छौं, हिजो शनिबार राष्ट्रपतिसहितको भेटमा पनि मैले त्यही कुरा राखेको छु’, दाहालको विद्यार्थी नेताहरूलाई बिफ्रिङ थियो, ‘एमाले ठूलो पार्टी भएकोले एमालेले रोजेर राखोस्, त्यसपछिको पद हामी राख्छौं ।’

    दाहालले ओलीजीलाई अध्यक्ष नै ठूलो लागेको भए त्यही पद राखेर आफूलाई प्रधानमन्त्री दिए पनि हुने भन्दै दुवै विकल्पमा खुला रहेको बताएका थिए । तर, यो विषयमा अझै छलफल गर्ने ओलीले बताएका स्रोतले बतायो ।

    राष्ट्रपतिको समेत राय बुझेका ओली–दाहालले एकता प्रक्रियाबाट भाग्न भने कसैलाई पनि अहिले छुट नभएको समान धारणा राखेका थिए । लन्च मिटिङबाट उठ्ने बेला ओलीले भनेका थिए, ‘एकता गर्नैपर्छ, हामी अझै फेरि छलफल गर्छौं, मिलाउँछौं ।’ (अन्नपूर्ण पोष्ट दैनिक)

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा बालकरामले छेडाए जिब्रो, जात्रा हेर्न मन्त्री किराती सहित हजारौंको भिड

    येंयाँ पुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि-५ दिगुलीमा जिब्रो छेड्ने जात्रा भएको छ...

    राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन स्थगित

    राजधानी केन्द्रित आन्दोलनरत राहत शिक्षकहरूका माग सम्बोधन भएका छन् । सरकार र अन्दोलित राहत शिक्षक...

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...