भक्तपुर थिमीका ६६ वर्षीय फर्निचर व्यवसायी जगतबहादुर श्रेष्ठ बुधबार मध्यपुर थिमी चारदोबाटोमा जेब्राक्रसिङमा ठहरै भए। बिहान साढे पाँच बजे काठमाडौतिरबाट आएको सवारी साधनले ठक्कर दिँदा उनको जेब्राक्रसिङमै मृत्यु भएको हो । द्रुत गतिको ठक्करका कारण उनको शरीर जेब्राक्रसिङबाट पूर्वतिर दुई सय मिटर टाढा हुत्तिएको थियो।
घटनापछि मृतकका आफन्त र स्थानीयले बुधबार करिब ३ घण्टा यो सडक अवरुद्ध गरे । सडक बन्द हुँदा स्कुले बालबालिका र कलेजका विद्यार्थीले सास्ती झेल्नुपर्यो । जिल्ला प्रशासन कार्यालयको प्रयासपछि बिहीबारमात्र आफन्तले मृतकको दाहसंस्कार गरे। श्रेष्ठ सधैंजसो जेब्राक्रसिङबाटै बाटो पार गर्दै थिए । घटनालगत्तै प्रहरीले सवारी साधन नियन्त्रणमा लिएर भक्तपुर अस्पतालमा शव पुर्याउँदासम्म मृतकका आफन्तले थाहा पाएका थिएनन्। यो अवधि करिब तीन घण्टाको थियो ।
आकाशेपुल चोकदेखि टाढा हुनु, पैदलयात्रीले आकाशेपुल भएका स्थानमा पनि सडकबाटै बाटो काट्नु, गठ्ठाघरदेखि राधेराधेसम्मको क्षेत्रमा सडकबत्ती नुहुन, ट्राफिक बत्ती नहुनु, सडकमा भएका जेब्राक्रसिङ चिह्न प्रस्ट नहुनुजस्ता संरचनागत कमजोरीका कारण तीनकुने–सूर्यविनायक सडकमा बढी दुर्घटना हुने गरेका छन् ।
जेब्राक्रसिङमा बाटो काट्ने क्रममा सवारी साधनको ठक्करबाट ज्यान गुमाउने श्रेष्ठ प्रतिनिधि पात्रमात्र हुन्। यो खण्डमा दैनिक धेरै संख्यामा दुर्घटना हुने गरेका छन्। दुर्घटनाका कारण ज्यान गुमाउने बर्सेनि बढेका छन् । यो वर्षमात्र करिब ३० जनाले यो सडक खण्डमा ज्यान गुमाएको हुन सक्ने स्थानीयले बताए। ‘सडकमै मृत्य भएको रेकर्ड प्रहरीसँग हुन्छ। कतिको त अस्पताल पुगेर उपचारक्रममा मृत्यु हुन्छ, त्यो कुरा कसैलाई थाहा नै हुँदैन,’ स्थानीय पसले रोकश श्रेष्ठले भने। उनी भन्छन्, ‘यो सडकमा दुर्घटना भएपछि बाँच्ने सम्भावना अत्यन्त कम हुन्छ।’
महानगरीय ट्राफिक महाशाखाको दुर्घटना विवरणअनुसार यो सडक खण्डमा पाँच वर्षको अवधिमा ७८ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्षको माघ महिनाभित्रमात्र १५ जनाको मृत्यु भइसकेको छ । तीनकुनेदेखि सूर्यविनायकसम्म ९ किलोमिटर सडक खण्डमा यति ठूलो संख्यामा व्यक्तिको ज्यान गएको हो । मध्यपुर थिमी चारदोबाटो, सूर्यविनायकलगायतका स्थानमा दिनहुँ दर्जनौं दुर्घटना हुन्छन् । ‘दिनहुँ दुर्घटना कति हुन्छ, हिसाब गरी साध्य छैन,’ चारदोबाटो सडक खण्डमा खटिएका ट्राफिक प्रहरी दिलबहादुर थापाले भने ।
महाशाखाकै अभिलेखअनुसार यो खण्डमा छ लेनको सडक बनेको पाँच वर्षको अवधिमा ४ हजार ६ सय ६२ वटा दुर्घटना भएका छन् । तीमध्ये १ सय ६ जना गम्भीर घाइते र १ हजार ६ सय १९ जना सामान्य घाइते बनेका छन् । स्थानीयका अनुसार यो सडकमा दुर्घटना हुनेमा बढी तीव्र गतिमा चल्ने ट्रक, टिपर र मोटरसाइकल बढी देखिन्छन् । यो अवधिमा सबैभन्दा बढी दुर्घटनामा मोटरसाइकल परेको देखिन्छ । दुर्घटनामा परेका सवारी साधनमध्ये १४ सय ६८ मोटरसाइकल छन् भने ५ सय ५५ टिपर र ट्रक छन् । यो अवधिमा जम्मा ४ हजार ६ सय ६२ वटा सवारी साधन दुर्घटनामा परेको तथ्यांक छ ।
महाशाखाको तथ्यांकअनुसार पछिल्लो तीन आर्थिक वर्षमा मोटरसाइकल र टिपर बढी संख्यामा दुर्घटनामा परेका छन् । अन्य सवारी साधनको पनि दुर्घटना संख्या घट्न सकेको छैन । यो सडक खण्डका मध्यपुर थिमी, चारदोबाटो, राधेराधे, सूर्यविनायकमा दैनिकजसो गम्भीर प्रकारका दुर्घटना हुने गरेको स्थानीय बताउँछन् ।
गठ्ठाघरयता सडकबत्ती नहुनु, थिमी चोकमा ट्राफिक लाइट नहुनु, आकाशेपुल चोकदेखि पर हुनु, चारदोबाटोमा वारपार गर्ने सवारी साधनका लागि स्काइओभर नहुनु र यो खण्डमा चल्ने सबै सवारी साधन सरकारको मापदण्डभन्दा दोब्बर गतिमा चलेका कारण बढी दुर्घटना भएको उनीहरूको अनुभव छ । ‘सरकारले प्रतिघण्टा ६० किलोमिटर गतिमा चलाउन अनुमति दिएकोे यो सडकमा प्रतिघण्टा १२० किलोमिटरको गतिमा गाडी कुद्छन्,’ ट्राफिक प्रहरी थापाले भने ।
स्थानीय व्यापारी शंकरमान श्रेष्ठका अनुसार तीव्र्र गतिमा गुड्ने सवारी साधनमा निसान टाटा, टिपर, ट्रक, मोटरसाइकललगायत छन् । तीमध्ये मोटरसाइकल र टिपरको गति थामिनसक्नु छ । काठमाडौंतिर इँटा पुर्याएर भट्टा फर्कने क्रममा मालवाहक गाडीको गति तेब्बर तीव्र हुन्छ । तीव्र्र गतिका सवारी साधनले ठक्कर दिँदा जेब्राक्रसिङमा बाटो काट्दै गरेका पैदलयात्री र मोटरसाइकलमा सवार गम्भीर घाइते हुन्छन् भने तीमध्ये कतिपयको मृत्यु हुन्छ। मोटरसाइकल एकआपसमा ठोक्किने, मालवाहक गाडीले मोटरसाइकललाई ठक्कर दिने र यी दुवैले पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु हुने जस्ता दुर्घटना हुने गरेका छन्।
स्थानीयका अनुसार केही वर्षयता इँटा ओसार्ने मालवाहक गाडी चालकलाई प्रतिटिपको आधारमा दिइने १ हजार भत्ताको लोभमा चालकहरू तीव्र गतिमा गाडी हुइँक्याउँछन् । ‘पैसाको लोभमा मालवाहक गाडी रित्तै आएका बेला यति बढी गतिमा हुन्छन् कि बे्रक लगाए पनि थामिने स्थिति हुँदैन,’ शंकरमानले भने ।
मुख्यचोककै माथि हुनुपर्ने आकाशेपुल चोकदेखि टाढा हुनु, पैदलयात्रीले आकाशेपुल भएका स्थानमा पनि सडकबाटै बाटो काट्नु, गठ्ठाघरदेखि राधेराधेसम्मको क्षेत्रमा सडकबत्ती नुहुन, ट्राफिक बत्ती नहुनु, सडकमा भएका जेब्राक्रसिङ चिह्न प्रस्ट नहुनुजस्ता संरचनागत कमजोरीका कारण पनि यो सडकमा बढी दुर्घटना हुने गरेको स्थानीयको भनाइ छ । ‘गठ्ठाघरदेखि तीव्र गतिमा आएका गाडीले चोक नै देख्दैनन् र मान्छे हानेको पत्तै पाउँदैनन्,’ व्यापारी पूर्णबहादुर बस्नेतले भने । स्थानीयका अनुसार यो खण्डमा बत्ती नभएकै कारण बिहान र रातका समयमा बढी दुर्घटना हुन्छन् ।
सडकमा ट्राफिक प्रहरी नबस्ने समस्या भएको पनि स्थानीयको गुनासो छ । सडकमा अरूलाई सेवा दिँदा आफ्नै ज्यान गएको घटनाले ट्राफिक प्रहरी त्रसित छन् । ‘डर लागेर सडकको बीचमा बस्दैनौं, हाम्रै हवल्दारले अरूलाई बचाउन जाँदा ज्यानै गयो,’ ट्राफिक प्रहरी थापाले भने ।
समाधान के ?
सयौं घाइते भएका र दर्जनौंले ज्यान गुमाएका यो सडकमा आवश्यक जेब्राक्रसिङ, सडक बत्ती, ट्राफिक बत्ती, जेब्रा क्रसिङ चिह्न, आकाशेपुल, स्काइओभर वे र ट्राफिक ड्युटी भएमा दुर्घटना कम हुने स्थानीय बताउँछन् । यसका साथै सवारी साधन प्रयोगकर्तालाई गति नियमन, पैदलयात्री, चालकलाई ट्राफिक शिक्षा दिने गतिविधि भएमा दुर्घटना स्वतः कम भएर जाने स्थानीयको सुझाव छ । तीव्र गतिमा आउने मालवाहक गाडीको अनुगमन, नियमन तथा कारबाही गर्ने र सडकमा साँढे नछाड्ने, सबैले ट्राफिक नियम पालना गरेमा समस्याको दीर्घकालीन समाधान हुन सक्ने उनीहरू बताउँछन् ।
(नागरिक दैनिक)