लोकलाजका कारण सार्वजनिक हुने नगरेका जबरजस्ती करणीका केशमा मानिसहरु पछिल्लोसमय निकै सचेत देखिएका छन् । भक्तपुरमा एक सचेत अभिभावकले बलात्कार प्रयास गर्ने युवालाइ प्रहरीको खोरमा पुर्याएका छन् ।
भक्तपुर नगरपालिका-१० बेखाल बस्ने बर्ष २३ को अञ्जन अवालले बलात्कार प्रयास गरेको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो । २२ बर्षिय महिलालाई अवालले बलात्कार प्रयास गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
महिलाको अभिभावकले दर्ता गराएको उजुरीमा आरोपी अवालले आफ्नै घर कोठामा लगी जबरजस्ती करणी गर्न खोजेको जिकिर गरिएको छ ।गत पुष २९ गते महिला माथि बलात्कार प्रयास भएको भन्दै अभिभावक अाइतवार उजुरी लिएर महानगरीय प्रहरी परिसर भक्तपुर आइपुगेका थिए ।
उजुरी दर्ता हुनासाथ आरोपी अवाललाई पक्राउ गरेको प्रहरीले आइतवार म्याद थप गरी थप अनुसन्धान अघि बढाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइले इभक्तपुरलाई जानकारी गराएका छन् ।