News Portal

  • कहाँबाट आयो जबज, अप्ठ्यारोमा बाम एकता

    पत्रपत्रिकाकाठमाडौँ, ४ फागुन
    ९६५ पटक
    काठमाडौँ, ४ फागुन

    दसैँको छेका पारेर मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिलेर लड्ने निर्णय गरेका थिए । वाम गठबन्धनको घोषणा गर्न आयोजित कार्यक्रमलाई पार्टी एकताको प्रस्थानविन्दु भनिएको थियो । निर्वाचनलगत्तै दुई पार्टीलाई मिलाएर एउटै पार्टी बनाउने उद्घोष शीर्ष नेताहरुको थियो ।

    छिटोछिटो अदलीबदली भइरहने सरकारबाट आजित भएका नेपाली जनताले दुई कम्युनिष्ट पार्टीलाई एउटै बनाउने र देशमा राजनीतिक स्थायित्व तथा समृद्धि दिने बाचा सहजै पत्याए । निर्वाचन वाम गठबन्धनको अनुकुल आयो । अझ भनौँ नसोचेको जित हासिल भयो ।

    संघीय सरकारसँगै ६ वटा प्रान्तीय सरकार एकलौटी चलाउन सक्ने हैसियतमा मतदाताले वाम गठबन्धनलाई पुर्‍याइदिए । निर्वाचन परिणामले हौसिएका वाम नेताहरु निर्वाचनको रापताप सेलाउन नपाउँदै पार्टी एकताका लागि भन्दै तारान्तार छलफल, सम्वाद र बैठकमा ब्यस्त हुन थाले ।

    एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड पनि थुप्रैपटक ‘वन टु वन’ वार्तामा बसे । तर, पार्टी एकताको सुत्र आजसम्म पहिल्याउन सकेनन् । बुधबार पार्टी एकता र सरकार गठनका विषयमा निर्णायक वार्ता भनेर खुबै प्रचार भयो । बिहानदेखि लगातार ‘वारपार’को वार्तामा नेताहरु जुटे ।

    ओली–प्रचण्डको ‘वन टु वन’ वार्ताले पार्टी एकता र सरकार गठनबारे मोटामोटी खाका तयार पारेको भनियो र त्यसलाई दुवै अध्यक्षले आआफ्नो पार्टी कमिटीमा बुधबारै छलफल गराई पारित गराए । यस्ता समाचार सञ्चार माध्यमबाट लगातार आएपछि वाम समर्थक कार्यकर्ता र जनतामा उत्साह छायो । तर, दिनभरीको उत्साह साँझ पर्दै गएपछि चिसो भयो । पार्टी एकता संयोजन समितिको बैठक निष्कर्षहीन भयो ।

    ओली–प्रचण्डले बनाएको खाका यस्तो थियो

    – एकीकृत पार्टीमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समान हैसियतमा हुने । प्रचण्ड कार्यकारी अधिकारसहित अध्यक्ष हुने छन् भने ओली प्रधानमन्त्री हुने भएकाले सेरेमोनियल अध्यक्ष रहने छन् ।

    – अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति अनुसार पाँच वर्षे कार्यकालमा दुवै आधा–आधा समय साढे २ वर्ष ओली र साढे २ वर्ष प्रचण्ड प्रधानमन्त्री हुने छन् ।

    – एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राखिने

    – एकीकृत पार्टीका राजनीतिक दर्शन माक्र्सवाद र लेनिनवादलाई रहने

    – एकता महाधिवेशनसम्म पार्टीको कार्यदिशाका विषयमा समाजवाद उन्मुख कार्यदिशा निर्माण र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने

    – दुई अध्यक्षबाहेक बहुपद सृजना नगर्ने । एकसय भन्दा कमको केन्द्रीय समिति बनाउने ।

    – राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रले पाउने

    केही दिनदेखिका लगातारका ‘वन एन्ड वन’ वार्ता र बुधबार ललितपुरको मानभवनस्थित शरदप्रसाद अधिकारीको घरमा एकैदिन धेरैपटक भएको वार्तापछि निकालिएको खेस्रो थियो त्यो । दुई नेताले यस्तो खाका तयार पारेपछि आन्तरिक पार्टी कमिटीमा बुधबारै छलफल पनि गराएका थिए । ओलीले सोही भवनमा स्थायी समितिको बैठक ठाकेर छलफल गरेका थिए भने प्रचण्डले आफ्नो निवास खुमलटारमा छलफल गराए ।

    त्यसपछि प्रचण्ड र ओली पुनः वन टु वन गोप्य वार्तामा रहे । त्यसपछि दुवैले सो खाका पार्टी एकता संयोजन समितिको बैठकमा प्रस्तुत गरेका थिए । तर, बैठकमा एमालेका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेलले असहमति जनाए ।

    नेपाल र खनालले पार्टी एकता गर्दा ओली र प्रचण्डले आफ्नो मात्र व्यवस्थापन गरेको भन्दै अन्य नेताको पनि पोर्टफोलियो स्पष्ट पार्नुपर्ने अडान राखे । पोखरेलले भने एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त एमालेले मान्दै आएको ‘जनताको बहुदलीय जनवाद’ हुनुपर्ने अडान तेस्र्याए । यिनै गाँठो फुकाउन नसक्दा संयोजन समितिको बैठक निष्कर्षहीन भयो । बैठकपछि नेताहरुले एकताको ९५ प्रतिशत काम सकिएको भन्दै बिहीबार ५ प्रतिशत काम भएपछि पार्टी एकताको घोषणा हुने भनाइ सञ्चारमाध्यममा दिए । तर, बिहीबारको समय पनि त्यतिकै बितेको छ ।

    निर्वाचन आयोगले बुधबार राति निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएपछि कोर्ष सरकार गठनतिर मोडियो । बिहीबार बिहान ९ बजे नै एमाले र माओवादीका नेताहरु सरकार गठनको दावीपत्र लिएर राष्ट्रपति कार्यालय शीतलनिवास पुगे ।

    सरकार गठनका लागि वाम गठबन्धनसँग स्पष्ट बहुमत रहेकाले वाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न पत्रमा राष्ट्रपतिलाई आग्रह गरिएको थियो ।

    राष्ट्रपतिलाई पत्र बुझाएपछि पुनः पार्टी एकताको बाँकी काममा जुट्ने सहमति दलहरूबीच थियो । बिहीबारै एकता संयोजन समितिको बैठक पनि बस्यो । तर, बिहीबार बिहानै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को अन्तिम बैठक बोलाई राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेपछि पुनः सरकार गठनकै कुराले पार्टी एकताको छलफल स्थगित हुन पुग्यो ।

    प्रधानमन्त्री देउवा राजीनामा पत्र बोकेर शीतलनिवास पुगेको केहीबेरमै वाम गठबन्धनका नेता केपी ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरिन् भने बिहीबारै ४ बले सपथग्रहणको समय तोकियो । ओलीले प्रधानमन्त्रीका रूपमा दोस्रोपटक सपथग्रहण गरे । तर, पहिलो गाँसमै उनलाई ढुंगा लाग्यो । सपथ ग्रहणका लागि माओवादीले मन्त्रीको नाम दिएन ।

    पार्टी एकता र सरकारको विषय नटुंगिएसम्म मन्त्री नपठाउने सन्देश प्रचण्डले ओलीलाई पटकपटक दिएका थिए । त्यसैले ओलीले बिहीबार लालबाबु पण्डित र थममाया थापालाई मन्त्री नियुक्त गरी सानो आकारको मन्त्रिपरिषद् गठन गरे ।

    पार्टी एकतासम्बन्धी ९५ प्रतिशत काम सकिएको भन्ने नेताहरूको भनाइ ओली क्याविनेटमा तत्काल माओवादीको सहभागिता नहुनुले गलत सावित गर्‍यो नै । बिहीबारै माओवादी अध्यक्ष प्रचण्ड बिहान बबरमहलमा रहेको आर्ट काउन्सिलमा जनयुद्धकालीन फोटोहरूको प्रदर्शनी उद्घाटन गर्न पुगे भने दिउँसो सिन्धुलीको कार्यक्रमा गए । यसले पनि नेताहरुबीच पार्टी एकताका विषयमा धेरै मनभेद मेट्न बाँकी रहेको र्छलंग भयो ।

    माओवादीको चित्त दुखाइ कहाँ ?

    आफूहरूसँग भएका सहमति एमालेले कार्यान्वयन नगरेकोप्रति माओवादीको असन्तुष्टि देखिन्छ । माओवादी नेताका अनुसार एमाले भएका सहमतिविपरीत गएकाले सरकारमा मन्त्री नपठाइएको हो । ओली र प्रचण्डबीचको छलफलमा सरकार सञ्चालन, पार्टीका नेताहरूको व्यवस्थापनदेखि पार्टीको वैचारिक, सांगठनिक एकताको हल कसरी गर्ने भन्नेबारे बृहत छलफल भई पटकपटक समझदारी बनेको दावी माओवादी नेताहरूको छ ।

    अहिले ओली प्रधानमन्त्री र सेरेमोनियल अध्यक्ष तथा प्रचण्ड कार्यकारी अधिकारसहितको पार्टी अध्यक्ष हुने, ओलीले साढे दुई वर्ष सरकार सञ्चालन गरेपछि प्रचण्डलाई सरकार हस्तान्तरण गर्ने जस्ता विषयमा समझदारी बनिसकेको माओवादी नेताको दावी छ ।

    तर, एमाले महासचिव ईश्वर पोखरेलका कुरा भिन्न छन् । एउटै पार्टीमा बहु केन्द्र राख्न नहुनेदेखि पार्टी एकतापछि सरकार सञ्चालनमा आलोपालो भन्ने विषय नै नरहने उनको भनाइ रहँदै आएको छ । पछिल्लो समय त जबजप्रतिको अडानले पार्टी एकताको निर्णायक भनिएका वार्ता नै छायाँमा पारिदिएको छ । (नयाँ पत्रिका दैनिक)

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...