News Portal

  • पार्टी एकता नभए सरकारमा नजाने माओबादी केन्द्रको तयारी

    पत्रपत्रिकाकाठमाडौँ, ४ फागुन
    १२९१ पटक
    काठमाडौँ, ४ फागुन

    एमालेसँग पार्टी एकताको विधि औपचारिक रूपमै टुंगो नलागेसम्म माओवादी केन्द्र केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने अडानमा देखिएको छ । बुधबार राति अबेरसम्म चलेको दुई दलबीचको छलफलमा सहमति जुट्न नसकेपछि केन्द्रले बिहीबार सरकारमा आफ्ना तर्फबाट मन्त्री पठाएन ।

    प्रधानमन्त्री ओलीसहित एमालेका दुई मन्त्रीले मात्र शपथ लिए ।‘पार्टी एकता र सरकारसम्बन्धी दुई दलको छलफल नटुंगिएका कारण हामीले अहिले मन्त्री नपठाएका हौं,’ माओवादी प्रवक्ता पम्फा भुसालले कान्तिपुरसँग भनिन्, ‘केही राजनीतिक र वैचारिक विषय टुंग्याउन बाँकी छन् ।’

    माओवादी केन्द्रका प्रमुख नेताहरू बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बैठक बसेका थिए । बैठकले प्रधानमन्त्रीमा ओलीलाई तत्काल समर्थनसहितको पत्र राष्ट्रपतिकामा पुर्‍याउने तर सरकारमा सामेल नहुने निष्कर्ष निकालेको थियो । खुमलटार बैठकपछि माओवादीको समर्थन रहेको भन्दै दाहालले लेखेको पत्रसहित नेता नारायणकाजी श्रेष्ठ मात्र एमाले नेताहरूसँगै राष्ट्रपति कार्यालय पुगेका थिए । त्यहाँ दाहालले राष्ट्रपतिलाई सम्बोधन गर्दै पठाएको आफ्ना ५३ जना सांसदको केपी ओलीलाई समर्थन रहेको बेहोराको पत्र श्रेष्ठले हस्तान्तरण गरेका थिए ।

    बुधबारको वार्तामा दुई दलबीच बिहीबार वाम एकता संयोजन समितिको बैठक बसी बाँकी विषय टुंग्याउने सहमति थियो । तर, बिहीबार बिहानैदेखि प्रधानमन्त्री नियुक्तिसम्बन्धी काममा अल्झिएकाले दुई दलको बैठक हुन सकेन ।

    शुक्रबार दुई दलबीच छलफल हुने माओवादी प्रवक्ता भुसालले जानकारी दिइन् । उक्त बैठक सहमतिमा पुगे माओवादीले ओली नेतृत्वको सरकारमा आफ्ना मन्त्रीहरू पठाउनेछ । नत्र बाहिरै बसेर समर्थन मात्र गर्नेछ ।

    नेताहरूका अनुसार बुधबार झन्डै चार घण्टा चलेको बैठकमा प्रधानमन्त्री आलोपालो गर्ने र पार्टीको सैद्धान्तिक विषय के हुने भन्नेमा कुरा मिल्न सकेको थिएन ।

    दुवै पार्टीका अध्यक्ष पार्टीको संयुक्त नेतृत्व गर्ने विषयमा सैद्धान्तिक रूपमा सहमत थिए । तर, सरकारको नेतृत्व पनि ओली र दाहालबीच आलोपालो हुनुपर्ने, समय पनि किटान गर्नुपर्ने माओवादीको अडान थियो ।

    एमालेले अहिलेसम्म मान्दै आएको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ ९जबज० लाई कतै न कतै उल्लेख गर्नुपर्ने धारणा राखेको थियो ।

    स्रोतका अनुसार बुधबारको बैठकमा एमाले नेता माधवकुमार नेपालले जबजलाई एकीकृत पार्टीको मूल सैद्धान्तिक विषय बनाउनुपर्ने अडान राखेका थिए । महासचिव ईश्वर पोखरेललगायत नेता पनि जबजको दिशाबाटै अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् ।

    बैठकमा नेता नेपालले जबजको विषय उठाएपछि माओवादी नेताहरूले पनि माओवाद राख्नुपर्ने धारणा राखे । यही विषयमा दुई पक्षबीच लामो छलफल भए पनि सहमति जुट्न सकेन ।

    अघिल्ला बैठकमा दुवैका मिलेका सैद्धान्तिक विषय लिपिबद्ध गर्ने र नमिलेकालाई महाधिवेशनमा लैजाने समझदारी थियो । बुधबारको छलफलबाट एमालेले आफूलाई गलाउने नीति लिन खोजेको हो कि भन्ने आशंका माओवादीमा पैदा भएपछि बिहीबारको मन्त्रिपरिषद् विस्तारमा आफ्ना तर्फबाट मन्त्री नै नपठाउने निष्कर्षमा पुगेको हो ।

    छलफलमा दुई पार्टीका अध्यक्षको संयुक्त नेतृत्वको विषय टुंगिए पनि अन्य शीर्ष नेताका बारेमा के गर्ने भन्ने स्पष्ट धारणा बनिसकेको थिएन । दुवै दलका प्रमुख नेताले एकता प्रक्रियामा आफ्नो पनि स्थान सुरक्षित होस् भन्ने चाहेका छन् ।

    उनीहरूको भूमिका अहिले नै के हुने भन्ने तय नहुँदा त्यसको प्रभाव बुधबारको वार्तामा पर्‍यो । अब शुक्रबार बिहानैदेखि बस्ने एकतासम्बन्धी बैठकले यो विषयसमेत निरूपण गर्नुपर्नेछ । (कान्तिपुर दैनिक)

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...