News Portal

  • ६ महिनामा व्यापार घाटा पुग्यो ५ खर्ब : १४.८ प्रतिशतले बृद्धि

    रमेश लम्सालकाठमाडौँ, ५ फागुन
    १०८५ पटक
    काठमाडौँ, ५ फागुन

    चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १४.८ प्रतिशतले बढेर रु चार खर्ब ९३ अर्ब ४२ करोड पुगेको छ ।

    आव २०७३/७४ मा सोही अवधिमा व्यापार घाटा रु चार खर्ब २९ अर्ब ८७ करोड रहेको थियो । गत आवको तुलनामा चालु आवमा व्यापार घाटा रु ७१ अर्ब ४० करोडले बढेको छ ।

    आव २०७२/७३ मा त्यस्तो व्यापार घाटा रु दुई खर्ब ५० अर्ब ८५ करोडको थियो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार मुलुकबाट निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिँदै गएको हो ।

    केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याँक अनुसार पछिल्लो ६ महिनामा वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, सुन, पोलिथिन ग्रेनियुल्स लगायतका वस्तुको आयात बढ्न जाँदा व्यापार घाटा बढी देखिएको हो । तर चालु आवको ६ महिनामा कृषि औजार तथा पार्टपुर्जा, सेनिटरी वेयर्स, खाने तेल, ड्राइसेल ब्याट्री, तयारी पोशाक लगायतका वस्तुहरुको आयात भने घटेको छ ।

    समीक्षा अवधिमा कूल वस्तु आयात १५ प्रतिशतले बढेर रु पाँच खर्ब ३४ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६७.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात १५.३ प्रतिशत, चीनबाट भएको आयात ९.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७.६ प्रतिशतले बढेको छ ।

    भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालय, वीरगन्ज भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको भए तापनि अन्य भन्सार नाकाबाट भएको निर्यातमा वृद्धि भएको छ ।

    त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा भैरहवा भन्सार कार्यालय, कञ्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

    चालु आवको ६ महिनामा ३४.५ प्रतिशतले पेट्रोलियम पदार्थको आयात बढेको छ । यस अवधिमा रु ६९ अर्ब ६६ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ । आव २०७३/७४ मा रु ५१ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात भएको थियो । नेपाल विद्युत् प्राधिकरणले गत वर्षदेखि घरायसी प्रयोजनका लागि विद्युत्भार कटौती अन्त्य गरेपनि औद्योगिक माग यथावत् रहेको छ भन्ने उपलब्ध तथ्यांकले प्रस्ट पार्छ । प्राधिकरणले हाल दैनिक चार घण्टा औद्योगिक करिडोरमा विद्युत्भार कटौती गर्दै आएको छ । द्रुत गतिमा रहेको भौतिक पूर्वाधारको निर्माण तथा विकास परियोजनामा पेट्रोलिय पदार्थको प्रयोग बढी भएपछि आयातसमेत बढेको देखिन्छ ।

    भारतसँगको घाटा थेग्न मुस्किल

    पेट्रोलियम पदार्थ, नेपाल विद्युत् प्राधिकरणले आयात गरेको विद्युत् लगायतका कारण व्यापार घाटा भारतसँग बढी रहेको देखिन्छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आवको ६ महिनामा भारतबाट मात्रै रु तीन खर्ब ५१ अर्ब ४१ करोडको आयात भएको छ । चीनतर्फ भने रु ६७ अर्ब ८६ करोडको व्यापार घाटा रहेको छ । भारततर्फको आयात बढेका कारण व्यापार घाटा पनि सोही मुलुकसँग नै बढी रहेको छ ।

    आर्थिक वर्ष २०७४/७५ को छ महिनामा भन्सार तथ्याँकमा आधारित निर्यातको एकाई मूल्य सूचकांक वार्षिक विन्दुगत आधारमा ०।४ प्रतिशतले घटेको र आयात मूल्य सूचकांकमा ३.७ प्रतिशतले वृद्धि भएको छ ।

    अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकांक ८.९ प्रतिशतले बढेको थियो । कार्पेट, पश्मिना, अलैँची, घ्यू, मुसुरोको दालको निर्यात मूल्यमा ह्रास आएका कारण निर्यात मूल्य सूचकांकमा कमी भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, ल्यापटपको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकांकमा वृद्धि भएको हो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...