धनगढीमाई नगरपालिका १२ का पचुवा मरिकले तीन महिनाअघि रामपुत मरिकसँग गोलबजार नगरपालिकाको मुक्सार गाउँ ३५ हजार रुपैयाँमा किने ।
लहान नगरपालिका २२, सिसवनीका दिलीप मरिकले सोही नगरपालिका ४ को गाउँ एक वर्षअघि ६० हजार रुपैयाँमा किनेका थिए ।
लहान नगरपालिका २२ का महेन्द्र मरिक भन्छन्, ‘२० वर्षअघि ६ हजारमा किनबेच भएको गाउँको अहिले भाउ बढेको छ।’
सिंगो वडा नै किन्ने दिलीप मरिककी हजुरआमाको नाममा बेलीगाउँ पनि छ ।
हिजोआज बेलीगाउँ दुई दाजुभाइले संयुक्त रूपमा चलाइरहेका छन् । परिवारको सदस्य वृद्धि भएकाले थप गाउँ किन्नुपरेको उनी बताउँछन् ।
मरिकले भने, ‘कमाइ गरिखाने गाउँ थोरै भएकाले त्यसबाट हुने कमाइबाट गुजारा चल्न धौ धौ परेपछि नयाँ गाउँ किनेको हुँ ।
आफ्नो गाउँ नहुँदा आफैंले बनाएको बाँसका सामग्री अरूलाई कम मूल्यमा दिनुपर्थ्यो।’ डोम समुदायले बाँसका सामग्री बनाउने र आफूले किनेको गाउँमा बेच्ने गर्छन् ।
घरजग्गा बिक्री त देशभर जहाँ पनि हुन्छ तर सुन्दै अचम्म लाग्छ, सिरहा जिल्लामा भने यहाँका अल्पसंख्यक मधेसी दलित डोम जातिले गाउँ नै खरिद बिक्री गर्छन् ।
सिंगो बस्ती कुनै न कुनै डोम समुदायका मानिसले किनेकै हुन्छ । मधेसको सबै गाउँ बिक्री भएको छ । डोम समुदायमा गाउँका गाउँ बेच्ने, किन्ने र आफ्नो गर्जो टार्न बन्धकीसमेत राख्ने अनौठो चलन छ।
पूर्वको झापादेखि पश्चिमको पर्सासम्म करिब १३ हजार संख्यामा छरिएर बसेका डोम समुदायमा आफ्नो इलाका छाडेर अरूकोमा गई बाँसको सामग्री बिक्री गर्न र काम गर्न प्रतिबन्ध छ।
अरूको इलाकामा गएर काम गर्न र बाँसको सामग्री बनाई बिक्री गर्न गाउँ, सहर किन्नुपर्छ नभए बन्धकी लिनुपर्छ ।
कोही लुकेर अर्काले किनेको गाउँमा बेच्न गएमा जातीय नियमअनुसार दण्ड व्यहोर्नुपर्छ।यो समुदायमा भाइभाइबीच अंश लगाउँदा पनि गाउँ–टोल नै लगाउने चलन छ।
अंशमा एउटा मात्रै गाउँ भागमा परेपछि काम गर्ने एरिया सानो हुँदा सिसवनीका भोला मरिकले बन्धकीमा लिएका छन् ।
भोला भन्छन्, ‘३५ हजारमा हरि मरिकसँग बाखैरगाउँ बन्धकीमा लिएको छु ।’ (अन्नपूर्ण पोष्ट दैनिक)