News Portal

  • स्थानीय तहका जनप्रतिनिधिलाई जिशिका भक्तपुरको अभिमुखीकरण : हेर्नुस् कस्ले के भने

    इभक्तपुर संवाददाताभक्तपुर, ७ फागुन
    १३५६ पटक
    भक्तपुर, ७ फागुन

    जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधिहरुलाई बोलाएर शिक्षा सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आइतवार जगातीस्थित भक्तपुर भ्यूमा जिशिकाले अनौपचारिक शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

    जनप्रतिनिधिहरुले बिद्यालयहरु माथि चासो बढाएको भएता पनि अन्य पाटाहरूमा ध्यान दिन नसकेको देशव्यापी दृश्यहरु देखिएपछि अनौपचारिक शिक्षा केन्द्र सानोठिमी र युनेस्कोको सहयोगमा भक्तपुर जिशिकाले देशमै पहिलोपटक अनौपचारिक शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीको सभापतित्वमा संचालित यस १ दिने कार्यक्रममा जिल्लामा रहेका जिल्ला समन्वय समितिका संयोजक, मेयर , उपमेयर , वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरुको उत्साहजनक र सक्रिय सहभागिता रहेको थियो ।

    कार्यक्रममा शिक्षाविद प्रा.डा. विद्यानाथ कोइरालाले अनौपचारिक शिक्षाको बारेमा प्रकाश पार्नुको साथै यसको बिकासमा स्थानीय तहको भूमिका र कर्तव्यको बिषयमा प्रस्तुती तथा अन्तरक्रिया चलाएका थिए । कोइरालाले स्थानीय आवश्यकतामा आधारीत पाठ्यक्रम बनाएर स्थानीय ज्ञानमा भएको बिज्ञान खोज्दै जीवन पर्यन्त शिक्षाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका थिए ।

    त्यसैगरी अनौपचारिक शिक्षाको क्षेत्रमा काम गर्दै आएको केन्द्रिय निकाय अनौपचारिक शिक्षा केन्द्रकी कर्मचारी बिमला मिश्रले अनौपचारिक शिक्षाको बिगत,बर्तमान र भावी गन्तब्य बताइन् । उनले सो सम्बन्धमा कार्यपत्र नै प्रस्तुत गरेकी थिइन् ।

    उक्त कार्यक्रममा भक्तपुरको नमूनाको रुपमा रहेको सिपाडोलस्थित एक सामुदायिक अध्यन केन्द्रकी मनशोभा त्वातीले सामुदायिक अध्यन केन्द्रको समग्र अभ्यास झल्कने चित्रात्मक प्रस्तुती पेश गर्दै बिबिध क्षेत्रमा गरेका असल प्रयासहरुबारे अवगत गराएकी थिइन् ।

    अभिमुखीकरण कार्यक्रमपछिको अन्तरक्रियामा बोल्दै जिल्ला समन्वय समितिका संयोजक नवराज गेलालले जनप्रतिनिधि र कर्मचारीबीच मन मिल्नुपर्नेमा जोड दिए । उनले जनप्रतिनिधिले ‘म नै सर्वेसर्वा हुँ’ भन्ने दम्भ त्याग्नुपर्ने र कर्मचारीले पनि ‘म नै जान्नेसुन्ने हुँ’ भन्ने घमण्ड छोड्नुपर्ने भन्दै दुबै मिले मात्र अपेक्षित सुधार सम्भव भएको भनेका छन् ।

    सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेब थापाले जीवन पर्यन्त शिक्षाको लागि नगरपालिकाले गृहकार्य अगाडी बढाउने र अहिलेसम्मका प्रयासलाई व्यवस्थित बनाउदै बढी उपलब्धीमुलक नतिजा निकाल्ने बताएका थिए भने उपमेयर जुना बस्नेतले अनौपचारिक शिक्षा भनेको साक्षर बनाउनु मात्र नभई शिक्षित बनाउनु पनि भएको भन्ने बुझेको बताउदै यसमा नगरपालिकाले स्पष्ट नीति बनाउने दावी गरिन् ।

    त्यसैगरी चागुनारायण नगरपालिकाका मेयर सोम मिश्रले जनतालाई निरन्तर शिक्षाको भोक जगाउन नगरपालिका लागिपर्ने बताए । उनले निरन्तर शिक्षा आफ्नो प्राथमिकतामा पर्ने प्रतिबद्धता जाहेर गरे ।

    उक्त अवसरमा मध्यपुर थिमिकी उप प्रमुख अञ्जना देवी मधिकर्मीले निरन्तर शिक्षाको लागि सबैको सहकार्यमा नीति र योजना तथा कार्यक्रम बनाएर अघि बढ्ने बताइन । भक्तपुर नगरपालिकाका मेयर उपमेयर भने कार्यक्रममा उपस्थित थिएनन । भक्तपुर नगरपालिकाका वडाध्यक्षहरुले नगरपालिकाको आयोजनामा मेयर कप अन्तर नगरपालिका स्तरीय भलिवल प्रतियोगितामा मेयर , उपमेयर व्यस्त भएको जानकारी इभक्तपुरलाई गराए । उनीहरुले आफुहरुले बुझेको कुरा रिपोर्टिङ गर्ने बताए ।

    कार्यक्रमको समापनमा बोल्दै सहयोगी सस्था युनेस्कोको काठमाडौंस्थित कार्यालयका प्रमुख बलराम तिमल्सिनाले स्वायत्ततालाई स्वार्थको रुपमा हेर्नु नहुने जिकिर गर्दै देश र जनतासंग जोडिएको कार्यक्रम अगाडी बढाउन सुझाव दिएका थिए । उनले स्थानीय तहले शिक्षामा अपनत्व लिएर आफ्नो क्षेत्रमा राम्रो गर्न सके मात्र देशको शैक्षिक बिकाशमा टेवा पुग्ने बताएका थिए ।

    त्यसैगरी अनौपचारिक शिक्षा केन्द्रका निर्देशक चुडामणि पौडेलले स्थानीय तहले औपचारिक शिक्षामा जोड दिएर अनौपचारिक शिक्षामा बेवास्ता गरे शिक्षा क्षेत्र बर्बाद हुने बताए । उनले निरन्तर शिक्षा होलसेट भएको भन्दै औपचारिक शिक्षा त्यसको एक सेट मात्र भएको जिकिर गरेका थिए । निरन्तर शिक्षाले जीवनको गुण बढ्ने भन्दै उनले यसको बिकाशमा हातेमालो गर्न आफुहरु सधै तयार भएको जानकारी गराए ।

    कार्यक्रममा जिल्ला शिक्षा अधिकारी अर्जुन बहादुर रायमाझीले निरन्तर शिक्षाको लागि काम गर्ने पालो स्थानीय तहको काँधमा आएको भन्दै आफ्नो नगरपालिका भित्र नमुना गरेर देखाउन अनुरोध गरेका थिए ।

    बिद्यालय निरीक्षक बिमल निरौलाले स्वागत मन्तब्य राखेको कार्यक्रममा यमुना पोखरेलले कार्यक्रम संचालन गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...