News Portal

  • भद्रगोल प्रदेशका मन्त्री रिसोर्टमा बिताउछ्न रात

    पत्रपत्रिकाकाठमाडौँ, ११ फागुन
    ११०९ पटक
    काठमाडौँ, ११ फागुन

    प्रदेश १ : मुख्यमन्त्री राष्ट्र बैंकको गेस्टहाउसमा, आन्तरिक मामिलामन्त्री रिसोर्टमा

    मुख्यमन्त्री शेरधन राईका लागि जहदा रोडमा एउटा घर तयार पारिएको थियो, तर अपायक र असुरक्षित भएको भन्दै उनी राष्ट्र बैंकको गेस्टहाउसमा बसिरहेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
    आन्तरिक मामिलामन्त्री हिक्मत कार्की फुड एन्ड फन रिसोर्टमा र आर्थिक मामिलामन्त्री इन्द्र आङ्बो होटेल स्वागतममा छन् । पर्यटनमन्त्री जगदीश कुसियत ४० किमि टाढा कोसी गाउँपालिका (सुनसरी)स्थित निवासबाट आउँछन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेको घर भने नजिकै भएकाले आउजाउ गर्न सजिलो छ ।
    घिमिरे घरबाटै धाउँछन् : सामाजिक विकासमन्त्री जीवन घिमरे विराटनगर–१० शान्ति चोकस्थित निजी निवासबाटै मन्त्रालय धाउँछन् । उनको सरकारी आवासका लागि विभिन्न स्थान हेरिए पनि अझै टुंगो नलागेको स्वकीय सचिव सुशान्त बन्जाराले बताए ।

    दैनिक ४० किलोमिटर यात्रा
    उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री जगदीश कुसियत पनि निजी निवासबाटै मन्त्रालय आउजाउ गर्छन् । सुनसरीको कोसी गाउँपालिका–५ स्थित घरबाट मन्त्रालय ४० किलोमिटर दूरीमा पर्छ । उनी दैनिक कर्यालय समयमै मन्त्रालय आउने र तीन–चार घन्टा काम गरेर फर्किने गरेको स्वकीय सचिव विष्णु यादवले बताए । कुसियतलाई पोखरियास्थित मन्त्रालय रहेकै ठाउँमा आवासको व्यवस्था मिलाउने तयारी भइरहेको छ ।

    प्रदेश २ : केन्द्रले दिएका पाँचमध्ये तीन गाडी चल्नै नसक्ने, दुई गाडी बनाउन १७ लाख लाग्ने
    केन्द्रीय सरकारले दिएका तीनवटा गाडी चल्नै नसक्ने अवस्थाका छन् । अरू दुई गाडीमध्ये एउटा मुख्यमन्त्री मो लालबाबु राउत गद्दी र अर्को अर्थ मामिला तथा योजनामन्त्री विजय यादवले चढिरहेका छन् । ती दुई गाडी मर्मत गर्न १७ लाख लाग्ने अनुमान छ । धनुषास्थित सिँचाइ कार्यालयले सभामुख सरोजकुमार यादवलाई दिएको गाडीमा सिट कभरसमेत छैन । भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनललाई कृषि तालिम केन्द्रले दिएको गाडी पनि सोमबार राति वीरगन्जबाट फर्कंंदा बिग्रिएपछि थन्क्याइएको छ ।
    प्रदेश २ मा सरकार गठन भएको एक साता भइसक्दा पनि मन्त्रीहरूलाई स्थायी कार्यालय तथा सरकारी आवास व्यवस्थापन हुन सकेको छैन । मुख्यमन्त्रीको कार्यकक्ष तथा आवासको अस्थायी व्यवस्थापन जनकपुर चुरोट कारखानाको गेस्टहाउसमा गरिएको छ ।
    प्रदेशलाई केन्द्रका थोत्रा गाडी
    प्रदेश सरकारले पाएका २३ मध्ये पाँचवटा गाडी मात्र तत्काल प्रयोग गर्न सकिनेछन् । बाँकी १८ गाडी मर्मत नगरी चलाउन नमिल्ने भएकाले थन्किएको मुख्यमन्त्रीको कार्यालयका सचिव हरि फुँयालले जानकारी दिए । तिनै पाँच गाडीमध्ये छानेर प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख र मन्त्रीहरूले लिएका हुन् । कतिपय चल्न नसक्ने गाडीलाई फिर्ता पठाएको फुँयालले बताए ।

    प्रदेश ३ : १६९ कर्मचारी अझै हाजिर भएनन्, प्रदेश प्रमुख पनि पाँच दिन मात्र हेटौँडामा
    प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा सचिवालय र सात मन्त्रालयका लागि केन्द्रबाट दुई सय ३७ कर्मचारी खटाइए पनि हालसम्म ६८ कर्मचारी मात्र हाजिर भएका छन् । १६९ कर्मचारी सम्पर्कमा छैनन् । मुख्यमन्त्री र मन्त्रीहरूको शपथपछि उपचारका लागि भारत गएकी प्रदेश प्रमुख अनुराधा कोइराला १६ फागुनमा मात्रै हेटौँडा आइपुग्ने मुख्यमन्त्री डोरमणि पौडेलले बताए । तर, उपचारका लागि जानुअघि पनि उनी दुईपटक गरी पाँच दिन मात्रै हेटौँडा बसिन् ।

    प्रदेश ४ : मुख्यमन्त्री र मन्त्रीका लागि आवास तयार
    प्रदेश ४ मा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरूको निवास भवन मर्मतसम्भारको बाहिरी तयारीको काम करिब सकिएको छ । तर, भवनभित्र अझै सकिएको छैन । भौतिक संरचना व्यवस्थापन समितिले सम्भावित आवास भवन तोक्ने काम गरिरहेको छ भने भवन मर्मतसम्भार कार्यलाई पनि अगाडि बढाइरहेको छ ।

    प्रदेश ५ : २३५ कर्मचारी बुटवल पठाइएकोमा ४९ हाजिर
    केन्द्रबाट दुई सय ३५ कर्मचारी खटाइएकोमा ४९ जना मात्रै बुटवल पुगेका छन् । त्यस्तै, प्रदेश प्रमुख उमाकान्त झा सडक विभागको गेस्टहाउसमै छन् । उनलाई उच्च अदालतको निर्माणाधीन भवनमा राख्ने तयारी छ ।
    प्रदेश प्रमुख गेस्टहाउसमै
    प्रदेश प्रमुख उमाकान्त झाको स्थायी निवास भने अझै टुंगो लागेको छैन । उनी केही समय सडक विभागको गेस्टहाउसमा बस्नेछन् । उनलाई उच्च अदालतको निर्माणाधीन भवनमा राख्ने तयारी थालिएको छ ।

    भनेजति गाडी ल्याइएन, ल्याएका जति काम लागेन
    मुख्यमन्त्री, मन्त्री तथा मन्त्रालयका लागि दिने भनिएका गाडी अहिलेसम्म बुटवल ल्याइएका छ्रनन् । उपलब्ध गराइएका केही सवारी पनि कामै नलाग्ने अवस्थाका छन् । ‘धेरै गाडी आएकै छैनन्, ल्याइएकामध्ये अधिकांश कामै नलाग्ने अवस्थाका छन्’, सचिव काफ्ले भने, ‘एउटै गाडी मर्मत गर्न ८ लाखसम्म लाग्ने इष्टिमेट आएको छ, त्यस्ता गाडी कसरी मर्मत गरेर चलाउने ?’
    भैरहवा भन्सारमा रहेको नयाँ गाडी मुख्यमन्त्रीलाई ब्यवस्था गरिएको छ । पठाउने भनिएका वन तथा भुमिसुधार मन्त्रालयका ६, शहरी विकास मन्त्रालयका २, आपूर्ति मन्त्रालयका १, भौतिक पूर्वाधार मन्त्रालयका १ तथा शिक्षा मन्त्रालयबाट १ सवारी साधन आइ पुगेका छैनन् ।

    प्रदेश ६ : सरकारी निवास नपाउँदा मन्त्रीको वास होटेलमा
    कर्मचारीले क्षेत्रीय कार्यालयका निवास छाड्न ढिला गर्दा सभामुख र मन्त्रीले सरकारी निवास पाएका छैनन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले पनि नियुक्त भएको दुई सातापछि क्षेत्रीय वन तालिम केन्द्रका निर्देशकको निवास पाएका थिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाही कार्यालयकै गेस्टहाउसमा बस्दै आएका छन् ।

    प्रदेश ७ : प्रदेश प्रमुखको कार्यालयका कर्मचारी सम्पर्कमा छैनन्
    सरकारले प्रदेश ७ का सबै निकायका लागि दुई सय ३७ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको भए पनि सामान्य प्रशासन मन्त्रालय र अन्य मन्त्रालयबाट हालसम्म एक सय १९ जना कर्मचारी मात्रै खटाइएको छ । तीमध्ये पनि धेरै कर्मचारी हाजिर भएका छैनन् ।
    देश प्रमुखको कार्यालयमा खटाइएका अधिकृत खेमराज खत्री, गगनसिंह विष्टलगायत कर्मचारी सम्पर्कमा आएका छैनन् । यो कार्यालयमा १८ जना खटाइएकोमा ११ मात्र हाजिर भएका छन् । अरू मन्त्रालयमा त अझै धेरै समस्या छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...