News Portal

  • नर्भिकमै डाक्टरको यस्तो लापरबाही – देब्रे गोडामा समस्या, दाहिनेको अप्रेसन

    पत्रपत्रिकाकाठमाडौँ, १३ फागुन
    ९७७ पटक
    काठमाडौँ, १३ फागुन

    चितवन भरतपुरकी विन्दु पौडेल दाहिने गोडामा दुखाइ बढेपछि स्थानीय अस्पताल पुगिन् । चिकित्सकले एमआरआई गरे । घुँडाको लिगामेन्ट च्यातिएको रिपोर्ट आयो । तर, थप उपचारका लागि त्यहाँका डाक्टरले काठमाडौं रिफर गरिदिए ।

    चितवनका चिकित्सकले भनेअनुसार उनी परिवारका सदस्यसहित थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुगिन् । चितवनकै एमआरआई रिपोर्ट हेरेका नर्भिकका चिकित्सकले अप्रेसन गर्नुपर्ने बताए । विन्दु अप्रेसनका लागि शुक्रबारै भर्ना भइन् ।

    अर्थोपेडिक डा प्रवीण नेपाल र डा शैलेज रञ्जितकारको टोलीले अप्रेसन गर्ने तय भयो । बिरामीका आफन्त बाहिर बसे, डाक्टरद्वयले भित्र अप्रेसन थाले ।

    केही घन्टापछि आफन्तलाई खबर आयो, अप्रेसन सफलतापूर्वक सकियो । थिएटरबाहिरको वातावरण उज्यालो बन्यो । तर, बिरामीलाई तत्काल भेट्न दिइएन ।

    जब विन्दुलाई भेट्न आफन्तले अनुमति पाए, तब खुसीको पाइला लम्काए । तर, देब्रे गोडाको अप्रेसन गर्न ल्याएको बिरामीको दाहिने गोडा चिरेको देखेपछि आफन्त छाँगाबाट खसेझैँ भए ।

    सुरुमा सुन्नै चाहेनन्, पछि स्विकारे
    बिरामीका परिवारले तत्काल अस्पताल प्रशासनमा आपत्ति जनाए । तर, पीडितका कुरा प्रशासनले सुन्न चाहेन । ‘गलत अप्रेसन भएको जानकारी गराउँदा प्रशासनले स्विकारेन,’ विन्दुका श्रीमान् किशोर पौडेलले भने, ‘अप्रेसन गर्ने डा नेपालले पनि गल्ती नभएको बताए ।’

    पीडित र अस्पताल प्रशासनबीच लामै विवाद चल्यो । ‘अन्ततः डा। नेपालले गल्ती स्विकारे, प्रशासन पनि गल्यो,’ किशोरले भने । नर्भिकले गल्ती स्विकार्दै पीडित पक्षसँग लिखित रूपमै विभिन्न सहमति गरेको छ । डा नेपालले गल्ती स्विकार्दै भनेका छन्, ‘अप्रेसनका वेला भ्रममा परेछु, देब्रे सोचेर अप्रेसन गरेको दाहिने पर्न गएछ, पछि मात्रै थाहा पाएँ ।’

    पीडित र अस्पतालबीच सहमति
    विन्दुको देब्रे गोडाको अप्रेसन गर्नुपर्नेमा दाहिने गोडाको गरेको विषयमा नर्भिकले लिखित रूपमै गल्ती स्वीकार गरेको छ । पीडित पक्ष र अस्पतालबीच भएको सहमतिमा गल्ती स्विकारेको स्पष्ट छ ।

    सहमतिपत्रमा भनिएको छ, ‘मानवीय त्रुटिका कारण दाहिने घुँडाको अप्रेसन हुन गएको तथ्य हामी उपचारमा संलग्न चिकित्सक प्रवीण नेपाल र शैलेज रञ्जितकार तथा नर्भिक हस्पिटल स्वीकार गर्दछौँ ।’ विन्दुको गलत रूपमा दाहिने गोडाको अप्रेसन हुन गएकाले भविष्यमा आइपर्ने स्वास्थ्य समस्या र देब्रे घुँडाको लिगामेन्ट टियरको उपचार, यसमा जोडिएर आउने नसालगायतको समस्या, दुवै गोडाको हुन सक्ने सम्पूर्ण उपचार अस्पतालले निःशुल्क गर्ने सहमतिपत्रमा लिपिबद्ध गरिएको छ ।

    विन्दुको घुँडाको उपचार नेपालबाहिर लगेर गर्नुपरे पनि सबै खर्च नर्भिकले व्यहोर्ने भएको छ । अस्पतालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

    प्रतिवेदन भन्छ – चिरफार गर्दा बढी लापर्बाही
    प्रा डा हरिहर वस्तीको संयोजकत्वमा गठित एक समितिले अस्पताल वा चिकित्सकका कारण बिरामीको मृत्यु वा अंगभंग हुने गरेका घटनाबारे अध्ययन गरी केही महिनाअघि प्रतिवेदन तयार गरेको थियो ।

    यस्ता घटनाको स्वतन्त्र अनुसन्धान, छानबिन र क्षतिपूर्तिलगायत आवश्यक विषयलाई व्यवस्थित गर्न राय–सुझाबसहित तयार गरिएको प्रतिवेदनले नेपालमा ३३ दशमलव ३३ प्रतिशत लापर्बाही चिरफार (सर्जिकल ट्रिटमेन्ट) को अवस्थामा हुने गरेको देखाएको थियो ।

    दक्ष चिकित्सकले उपचार नगरेका कारण झन्डै १५ प्रतिशत लापर्बाही हुने गरेको र आकस्मिक उपचार नदिएका कारण १४ प्रतिशत लापर्बाही हुने गरेको समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा स्पष्ट छ ।

    समितिका सदस्य डा रमेश पराजुलीका अनुसार बिरामीसँग डाक्टरले उचित राय, परामर्श र छलफल नगरेका कारण झन्डै १५ प्रतिशत लापर्बाहीका घटना भएको देखिन्छ । उनले भने, ‘एक अध्ययनले बिरामीसँग कसरी कुरा गर्ने भन्ने सीपको कमी नेपालका ८० प्रतिशत डाक्टरमा भएको देखाएको छ ।’ (नयाँ पत्रिका दैनिक)

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...