News Portal

  • क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा सामान्य विवादमा गम्भीर अपराध,४२ महिनामा २,१६४ हत्या

    पत्रपत्रिकाकाठमाडौँ, १४ फागुन
    १६७० पटक
    काठमाडौँ, १४ फागुन

    १. प्युठान नगरपालिका–१ खैराकोटका २७ वर्षीय गिरबहादुर विकले २३ वर्षकी श्रीमती बागेश्वरीलाई कोदालाको पाताले टाउकोमा हाने । भुइँमा ढलेकी बागेश्वरी छटपटाउँदा पनि गिरबहादुरको रिस थामिएन, दोस्रो प्रहार गरे । घरायसी विवादमा श्रीमान्को रिसले बागेश्वरीको ठाउँको ठाउँ मृत्यु भयो ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।

    २. कन्चनपुरको कृष्णपुर नगरपालिका–४ का ४२ वर्षीय बिरु डगौरा र उनकी पत्नी ४० वर्षीया लाहुबीचको विवाद कुटपिटमा बदलियो । बिरुले पत्नीको टाउको समातेर घरको भित्तामा बजारे । टाउकाबाट रगत बग्दासमेत बिरुको रिस थामिएन । उनले लछार्दै फेरि भित्तामा ठोके । लाहुको घटनास्थलमै मृत्यु भयो ।

    ३. सुनसरीको धरान उपमहानगरपालिका–५ फोक्लिङ टापुका ५४ वर्षीय कुमार राई मानसिक रोगी थिए । उनले बाटामा हिँड्दै गरेकी ३६ वर्षीया मीरा विकलाई ढुंगाले हाने । घटना नियालिरहेका मीराका श्रीमान शंकर विक आवेगमा आए । उनले कुमारलाई समातेर कुटपिट गरे । उनीसँगै थिए २२ वर्षीय शम्भु भुजेल । कुटपिटमा भुजेल पनि मिसिए । दुई भाइको कुटाइले अचेत बनेका राईलाई उपचारका लागि धरानस्थित घोपा अस्पताल लगियो । उपचारकै क्रममा उनको मृत्यु भयो ।

    यी प्रतिनिधि घटना क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा भएका हुन् । देशमा साँढे तीन वर्षमा दुई हजार १६४ ले यस्तै आवेगका कारण अनाहकमा ज्यान गुमाएका छन् ।

    नेपाल प्रहरीको यस तथ्यांकलाई विश्लेषण गर्दा प्रत्येक दिन दुईजनाको ज्यान यसैगरी जाने गरेको देखिन्छ ।

    प्रहरी प्रवक्ता डिआइजी मनोज नेउपानेले क्षणिक आवेग नियन्त्रण नहुँदा हुने हत्या तुलनात्मक रूपमा बढेको बताए ।

    उनले भने, ‘गत तीन वर्षमा दुई हजारभन्दा धेरैको हत्या भएको छ । यी घटना अधिकांश क्षणिक आवेगकै कारण भएका देखिन्छन् ।’

    यस अवधिमा सबैभन्दा धेरै हत्या आर्थिक वर्ष ०७२/७३ मा देशभर ६ सय २७ को हत्या भएको थियो । त्यसपछि ०७३/७४ मा धेरै ६ सय १६ को हत्या भयो ।

    आर्थिक वर्ष ०७१–७२ मा भने ६ सय आठजनाको हत्या भएको थियो । चालू आर्थिक वर्षको ६ महिनामा तीन सय १३ जनाको हत्या भएको छ ।

    ‘संख्या हेर्दा हत्या धेरै नै भएको देखिन्छ । तर, तीन करोड जनसंख्या भएको देशमा यी घटना सामान्य हुन् ।’ नेउपानेले भने, ‘यी घटनामा कमजोर सुरक्षाका कारण नभई सामाजिक, आर्थिक, राजनीतिकजस्ता कारण छन् ।’

    कहिले कति हत्या ?
    ०७१/७२ : ६०८
    ०७२/७३ : ६२७
    ०७३/७४ : ६१६
    पछिल्लो ६ महिना : ३१३
    जम्मा हत्या २,१६४

    कहाँ कति हत्या ?
    सबैभन्दा धेरै हत्या तत्कालीन मध्यमाञ्चल विकास क्षेत्रमा सात सय ८८ जनाको भएको छ । तीन सय १५ हत्या काठमाडौं उपत्यकामा मात्रै भएका छन् । पश्चिमाञ्चलमा तीन सय आठ, मध्यपश्चिमाञ्चलमा दुई सय ८१, पूर्वाञ्चलमा दुई सय ५२ र सुदूर पश्चिमाञ्चलमा एक सय ९१ जनाको हत्या भएको छ ।

    २९५ बालबालिकाको हत्या
    प्रहरीको तथ्यांकअनुसार हत्या हुनेमा पुरुषको संख्या धेरै छ । ४२ महिनामा एक हजार एक सय १९ पुरुषको हत्या भएको छ । यो कुल हत्याको ५१ प्रतिशत हो । यही अवधिमा सात सय ५० महिलाको हत्या भएको छ । यो संख्या ३४ प्रतिशत हो । बाँकी १५ प्रतिशत भने बालबालिका रहेका छन् । यस अवधिमा एक सय ५२ बालकको र एक सय ४३ बालिकाको हत्या भएको छ ।

    किन हुन्छन् हत्या ?
    डा. टीकाराम गौतम, समाजशास्त्री
    संक्रमणकालीन समाजमा क्षणिक आवेगका कारण हुने हत्या बढ्छन् । यस्ता घटना विश्वभर हुने गरेका छन् । संक्रमणकालीन समाजमा स्रोतसाधन सीमित र अस्वस्थ प्रतिस्पर्धा धेरै हुन्छ । यसको प्रत्यक्ष प्रभाव मानिसमा पर्छ । समाजले मानिसलाई जे सिकाउँछ, त्यही सिक्छ । जस्तो बनाउँछ, त्यस्तै बन्छ । खराब समाजबाट कसरी असल मानिस बन्न सक्छ ? वर्तमान नेपाली समाज त्यस्तै छ । त्यसो हुँदा मानिसमा क्षणिक आवेग उत्पन्न हुन्छ । यसलाई नियन्त्रण गर्ने मेकानिजम ऊसँगै छैन । फलतः यो हत्या गर्ने चरणसम्म पुग्छ । अहिले बढेका हत्या यसैका कारण हुन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...