News Portal

  • सर्लाहीका सांसद यादवको अडानले संसद् सचिवालय अप्ठ्यारोमा

    इभक्तपुर संवाददाता
    ७७८ पटक

    राजपाका सांसद महिन्द्रप्रसाद यादवले प्रतिनिधिसभा पहिलो बैठकको अध्यक्षता गर्दा दौरासुरुवाल नलगाउने अडान लिएपछि संघीय संसद् सचिवालय अप्ठ्यारोमा परेको छ।

    नागरिकताअनुसार राजपा अध्यक्ष महन्थ ठाकुरभन्दा ५ वर्ष जेठा देखिएका यादवले प्रतिनिधिसभाको फागुन २१ गते बस्ने बैठकको अध्यक्षता गर्नेछन् भने अरू सांसदलाई शपथ गराउनेछन्। तर, यादव कुनै पनि औपचारिक कार्यक्रममा दौरासुरुवाल नलगाउने अडानमा छन्।

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट यादवले शपथ लिएपछि अरू सांसदलाई शपथ गराउनेछन् भने नयाँ सभामुख चयन नभएसम्म प्रतिनिधिसभामा सभामुखको भूमिका निर्वाह गर्नेछन्।

    सचिवालयले बुधबार ५ दलका नेतासँगको छलफलमा राजपा सांसद यादवलाई दौरासुरुवाल लगाएर बैठकको अध्यक्षता गरिदिन आग्रह गरेको थियो। तर, यादवले दौरासुरुवाल नलगाउने अडान लिएका थिए।

    आफूले मधेसको पहिचान झल्किने पोसाक मात्र लगाउने अडान यादवले राखेपछि ‘औपचारिक समारोह’ लाई लिएर सचिवालयका कर्मचारी अप्ठ्यारोमा परेको बताउँछन्।

    ‘दौरासुरुवाल लगाउनुपर्ने व्यवस्था कुन संविधान र ऐनमा छ ? ’ यादवले प्रतिप्रश्न गर्दै भने, ‘संविधानले सबै नागरिकलाई आफ्नो भाषा, संस्कृति र भेषभूषाको अधिकार दिएको छ। म मधेसको पहिचान झल्किने पहिरन लगाउँछु।’

    औपचारिक र राष्ट्रिय समारोहमा दौरासुरुवाल लगाउने प्रचलन रहेको भन्दै सचिवालयले यादवलाई ‘फकाउने’ प्रयत्न गरिरहे पनि यादवले मानेका छैनन्। राष्ट्रियसभामा भने कांग्रेसकी तारादेवी भट्टले अध्यक्षता गर्दै छिन्।

    सचिवालयले फागुन २० गते ४ बजे प्रतिनिधिसभा र ५ बजे राष्ट्रियसभाका सांसदको शपथग्रहण कार्यक्रम तय गरेको छ। राष्ट्रपतिले फागुन २१ गते दुवै सदनको अधिवेशन आह्वान गरिसकेकी छन्।

    सर्वदलीय बैठकमा सचिवालयका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभाले तत्काल गर्नुपर्ने कामको विवरण पेस गरिएको थियो। संसद् अधिवेशन सुरु भएको १५ दिनभित्र प्रतिनिधिसभाले सभामुख र उपसभामुख तथा राष्ट्रियसभाले अध्यक्ष र उपाध्यक्ष चयन गरिसक्नुपर्छ। यस्तै, प्रधानमन्त्री केपी ओलीले चैत ३ भित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिइसक्नुपर्छ। फागुन २९ मा नयाँ राष्ट्रपतिको निर्वाचनको मिति तोकिएको छ।

    एमालेका पूर्वप्रमुख सचेतक भानुभक्त ढकालले चैत ५ भित्र सबै चुनाव सक्नुपर्ने भएकाले त्यसअनुसार कार्यसूची बनाएर ल्याउन सचिवालयलाई निर्देशन दिइएको बताए।

    सत्तासीन एमालेले राष्ट्रपतिको निर्वाचनअगावै सभामुख र उपसभामुखको चुनाव गर्ने कार्यतालिका बनाउन सचिवालयलाई सुझाव दिएको थियो। सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले दलहरूको सुझाव र आन्तरिक तयारीको हिसाबसहित २० गते दलहरूसमक्ष कार्यतालिका पेस गर्ने जानकारी बैठकमा गराएका थिए।

    महासचिव भट्टराईले नयाँ कार्यविधि नबनेसम्मका लागि संसद्को बैठक सञ्चालन गर्न सचिवालयले बनाएको अन्तरिम कार्यविधिबारे दलहरूलाई जानकारी गराएका थिए। (अन्नपूर्ण पोष्ट दैनिक)

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...