News Portal

  • २५ वर्षीया दुई युवती यसरी परे फेसबुके साथीको फन्दामा

    पत्रपत्रिकाकाठमाडौँ, २२ फागुन
    १००६ पटक
    काठमाडौँ, २२ फागुन

    कुनै अपरिचितले फेसबुकमार्फत उपहार परेको भनी पठाएको सूचना पत्याउँदै त्यसको  लोभमा मान्छेले कति रुपैयाँसम्म खर्च गर्ला ? पैसाको जोहो गर्न कतिसम्म दौडधुप गर्ला र अपरिचितलाई कति पटकसम्म पैसा पठाइरहला ?

    सोमबार सार्वजनिक भएको एउटा घटनाले प्रहरीलाई नै अचम्ममा मात्र पारेन, ठगीमा प्रविधि र हुन्डी कारोबारीको प्रयोग कसरी भइरहेको छ भन्ने तथ्यसमेत उजागर गरेको छ ।

    स्नातक सकेका २५ वर्षीया दुई युवतीले फेसबुके साथीको फन्दामा परेर ५१ लाख रुपैयाँ गुमाएको यो प्रतिनिधि कथाले ‘डिजिटल डिभाइस’ मार्फत ठगीधन्दा बढिरहेको देखाउँछ । त्यस्ता पासोमा पढेलेखेकै व्यक्तिसमेत कसरी फसिरहेका छन् भन्ने पनि बुझाउँछ ।

    पर्वत, कुर्घा स्थायी घर भई काठमाडौंको तीनकुनेमा बस्दै आएका पबी क्षत्री र लक्ष्मीदेवी चपार्इं छिमेकी र सहपाठी थिए । उनीहरू दुवै खुब मिल्थे ।

    करिब दुई महिनाअघि एक दिन पबी बेलायती नागरिक बताउने ब्रायन लुसिया बकार नामको फेसबुक अकाउन्टसँग जोडिइन् । सामान्य कुराकानीबाट सुरु भएको उनीहरूको संवाद केही दिनमै मित्रतामा बदलियो ।

    ब्रायनले एक दिन पबीलाई भने, ‘तिमीलाई उपहारस्वरूप ४४ हजार पाउन्डसहित केही सुन र हीराको हार पठाउँदै छु ।’ यस्तो खबर पाएको केही दिनमै पबीलाई हवाट्स एपमार्फत भारतबाट खबर आयो, ‘तिम्रो साथीले करिब एक करोड मूल्यबराबरको बहुमूल्य उपहार पठाएको छ । भन्सार क्लियरेन्स गर्न केही रकम चाहिने भयो ।’

    उपहार आएको विश्वासमा पबीले भारतीय नागरिक बताउने ती व्यक्तिले भनेअनुसार रकम पठाउन थालिन् । तर भन्सारबाट उपहार छुटाउन धेरै पैसा लाग्ने थाहा पाएपछि पबीले साथी लक्ष्मीसँग साझेदारी गरिन्, उपहार ल्याउन दुवै मिलेर रकम खर्चिने र उपहार हात परेपछि बाँडेर लिने।

    प्रहरीका अनुसार यी दुवैले विभिन्न ९ पटक गरी ५१ लाख रुपैयाँ पठाएका थिए । पछिल्लो पटक भारतबाट फोन गर्नेले अब अन्तिम पटक थप ५ लाख भारु पठाइदिए उपहार भन्सारबाट छुटाउन सकिने बताएपछि युवतीहरू आफूहरू ठगिएको निष्कर्षमा पुग्दै महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका थिए ।

    प्रहरीका अनुसार कुल रकममध्ये लक्ष्मीले १२ लाख ६० हजार रुपैयाँ खर्चेकी थिइन् भने अरू रकम पबी स्वयंको। अनौठो त यो छ कि सामान्य आर्थिक हैसियतका यी दुवै युवतीले उपहार प्राप्तिको आसमा आफन्त, चिने–जानेकासँग आफूहरू विदेश जान लागेको र रकम अपुग भएको भन्दै पैसा उठाएका थिए । त्यतिले नपुगेर ब्याजमा समेत पैसा लिएका थिए।

    प्रहरीका अनुसार युवती र ब्रायनबीच सुरुमा फेसबुक म्यासेन्जरमार्फत भएको कुराकानीपछि हवाट्स एपमा सम्पर्क भएको थियो । पीडित युवतीबाट पैसा पठाउने क्रममा विभिन्न ९ तहमा मान्छे सक्रिय भएको अनुसन्धानमा देखिएको छ ।

    परिसरका प्रवक्ता डीएसपी मोहन थापाका अनुुसार ‘ठगीको यो घटनामा नेपालभित्र र बाहिर बस्ने धेरै जनाको संलग्नता विभिन्न तहमा भएको देखिन्छ ।’

    पीडित युवतीहरूलाई भारतीय नागरिकले हवाट्स एपमा फलानो व्यक्तिलाई रकम दिनु, उसैले पैसा यता पठाइदिन्छ भनेका थिए । त्यसपछि दुई युवतीले नागार्जुन ४ सीतापाइला बस्ने कुरियर कम्पनीका सञ्चालक जयराम कार्कीलाई ४ पटक पैसा दिएको देखिन्छ ।

    जयरामले आफूले उक्त रकम सुनसरी, धरान घर भई खिचापोखरीमा दुर्गा ट्रेड इन्टरनेसनल नामक कस्मेटिक होलसेल पसलका सञ्चालक नारायण अग्रवाललाई दिएको बताएका छन् ।

    अग्रवालले पटक–पटक गरेर ४६ लाख रुपैयाँ भारतको दिल्लीमा बस्ने पंकज अग्रवाललाई पठाइदिएको बताएका छन् । दिल्लीमा बस्ने पंकज पनि हुन्डीकै कारोबारी रहेको अनुसन्धानमा खुलेको छ ।

    प्रहरीका अनुसार नारायण हुन्डी कारोबारीसमेत हुन् । उनी खाडीदेखि युरोप र अमेरिकाबाट समेत हुन्डीमा रकम ल्याउने काममा संलग्न भएको भेटिएको छ ।

    प्रहरीले उनको पसलबाट १५ लाख ६२ हजार ९ सय २० रुपैयाँ बरामद गरेको छ । युवतीहरूले भारतमा रकम पठाउन विभिन्न मनी ट्रान्सफरको पनि प्रयोग गरेको देखिन्छ । तर काठमाडौंबाट पठाइएको रकम विभिन्न नेपाली हुँदै भारत पुगेको अनुसन्धानले देखाएको छ ।

    अनुसन्धानमा संलग्न अधिकारीका अनुसार भारतीयले भनेअनुसार युवतीहरूले पाँचथरको फिदिम बस्ने बुढामाया थाम्सुहाङ, सुशीला थाम्सुहाङ, विमला थाम्सुहाङ, साधना किलिङका नाममा पटक–पटक गरेर ४ लाख रुपैयाँ पठाएका थिए ।

    बेलायती नागरिक बताउने ब्रायनले हवाट्स एपमा युवतीसँग नेपालीमा पनि धेरथोर कुराकानी गरेको देखिन्छ । उपहार भारत आएको बताउनेले पनि नेपाली मिश्रित भाषामा कुरा गरेको देखिन्छ ।

    प्रहरीका अनुसार ठगीको सञ्जालमा नेपालीहरूको पनि संलग्नता देखिएको छ । ब्रायनको फेसबुक सर्च गरेर प्रहरीले उनी सक्कली हुन् वा नक्कली भनेर अनुसन्धान थालेको छ । अहिले उसको फेसबुक अकाउन्ट निष्क्रिय छ ।

    अनुसन्धानमा संलग्न अधिकारीले कोही नेपालीले नै ब्रायनका नाममा नक्कली अकाउन्ट बनाएर ठगीको पासो थापेको हुन सक्ने अनुमान गरे ।

    विभिन्न विदेशी नाममा नक्कली फेसबुक अकाउन्ट, भाइबर र ह्वाट्स एपमार्फत उपहार वा चिट्ठा परेको लोभ देखाउँदै ठगी गर्नेको गिरोह नै सक्रिय भएको प्रहरीको ठम्याइ छ ।

    यस्तै प्रकृतिको ठगीसम्बन्धी काममा संलग्न नाइजेरियन नागरिक मर्सेलुस सिगोची चिबुजीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत शुक्रबार काठमाडौंबाट पक्राउ गरेको थियो ।

    ब्युरोका प्रमुख डीआईजी पुष्कर कार्कीले भने, ‘आफैं सचेत नभएसम्म यस्ता प्रकृतिकाठगी रोकिँदैनन् ।’ (कान्तिपुर दैनिक)

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकमा पत्रकार बल्ल सम्मानित, सांसद र एआईजी लगायत १४ जनालाई पनि सम्मान

    पत्रकार मोहन बल्ल सम्मानित भएका छन् । आफ्नै वडाले उनलाई सम्मान गरेको छ । सूर्यविनायक...

    प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता

    prachanda modi

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज...

    वाईसिएलको भक्तपुर जिल्लामा नयाँ नेतृत्व : संयोजकमा उप्रेती र सचिवमा सुवाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालले भक्तपुर जिल्लामा नयाँ...

    संसदमा अरुलाई गालीगलौज गरेर आफ्नो उपस्थिति देखाउने दौडमा म छैन : दुर्लभ थापा

    durlav thapa

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले आफू जनताको प्रतिनिधि भएकाले जनताको...

    सीटीइभीटीको जीप सुनकोशीमा खस्दा २ निर्देशक र एक अधिकृत बेपत्ता

    भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) को जीप सुनकोशीमा खस्दा २ निर्देशक...