News Portal

  • कथित भोलेबाबाको पार्वती बन्न नमानेपछि बोक्सी बनाइएको खुलासा

    कैलाली, २८ फागुन
    १०४४ पटक
    कैलाली, २८ फागुन

    साइकलमा गाउँगाउँ डुलेर दुई महिनाअघिसम्म पाउरोटी बेच्ने रामबहादुर चौधरी एकाएक ‘भोलेबाबा’ भएपछि सुरुमा गाउँलेले पत्याएनन् । चौधरीले आफूलाई भोलेबाबा घोषणा गरेको एक साता नबित्दै छिमेकी गाउँ सुखड घुर्साकी स्मारिका चौधरी उनको घरमा आइपुगिन् ।

    आफू बडीकेदार (डोटीमा रहेको तीर्थस्थल) बाट फर्केको र भोलेबाबाकी पार्वती भएको दाबी गर्दै उनकै घरमा सँगै बस्न थालेपछि उनले एकाएक चर्चा पाए । यो चर्चासँगै सुरु भयो रामबहादुर चौधरी भोलेबाबाको ठगी धन्दा ।

    राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्नुअघि भोलेबाबाले अन्य पाँच महिलालाई भूत–प्रेत भगाउने निहुँमा यातना दिइसकेका थिए । एक पुरुषको गालामा उनले ओगोसमेत डामेका थिए । स्थानीय विद्यालयमा कक्षा ११ मा पढ्ने राधालाई भोलेबाबाले शिवरात्रि ताकादेखि नै आफूकहाँ बोलाउन सुरु गरेका थिए ।

    स्थानीयका अनुसार कथित बाबाले राधालाई ‘आफ्नी पार्वती’ बनाउन चाहेका थिए । ‘पटक–पटक राधालाई उनले बोलाउने गरेका थिए, तर राधाले उनीकहाँ जान मानिनन्,’ स्थानीय भलमन्सा राजाराम चौधरीेले भने, ‘त्यसैले घटना हुनु दुई दिनअघि कतारमा मृत्यु भएका स्थानीय कन्सराम चौधरीलाई पीडित राधाले कालो बिरालो बनेर मारेको हल्ला पार्वती (स्मारिका) मार्फत उनले फैलाए ।’

    ‘घटनाको एक दिनअघि पनि उनले राधालाई बोलाउन पठाएका थिए, तर राधा गइनन्,’ उनले भने, ‘अर्को दिन बिहानै नियोजित रूपमा किस्मती चौधरीसहित १८–२० जनाको समूह घरमै पुगी काम गरिरहेकी राधालाई लछारपछार गर्दै झन्डै दुई किलोमिटर टाढा रहेको भोलेबाबाको घरमा पुर्‍याइयो ।’ त्यसपछि सुरु भयो भोलेबाबा र उनकी पार्वतीको ताण्डव लीला ।

    बिहानै ६ बजे कथित बाबाको आँगनमा पुरानो कालिन खोजेर बिछ्याइएको थियो । मानौं कुनै विशेष आयोजना हुन लागेको छ । भोलेकी पार्वतीले त्यो दिन बाबाले अन्य बिरामीलाई हेर्न नसक्ने जनाउ दिएकी थिइन् ।

    भजनीबाट उपचारमा आएका सुखदेव चौधरीले भने, ‘हामी सबैलाई आज पूजा मात्र गर्नु, बाबाले उपचार गर्दैनन् भनेकी थिइन् ।’ एकछिनपछि किस्मतीसहितको एक हूल गाउँको अर्को छेउमा रहेको राधाको घरतिर लागे ।

    चौधरीले भने, ‘एक घण्टापछि राधालाई हात बाँधेर लछारपछार गर्दै ल्याइपुर्‍याए ।’ किस्मतीले लात्ता र मुक्काले हान्दै राधालाई कालिनमा लडाइन् । सुरुमा किस्मतीले कुटिन्, त्यसपछि पटक–पटक मन्त्र पढेजस्तो गर्दै बाबाले कुटे ।’ राधा चिच्याइरहिन्, कराइन्, छाती पिटदै रोइन् । तर त्यहाँ भएका सबै ताली मात्र बजाउने भए, बोल्ने कोही भएनन् ।

    ‘हामी उपचार गराउन बाहिरबाट आएकामध्ये एकजना बोल्न खोज्दै थिए, उनलाई पनि लछारपछार गर्दै यसमा पनि प्रेत आयो भनेर कुट्न थालेपछि अरूको बोल्ने हिम्मत नै भएन,’ उनले भने, ‘व्यक्तिलाई बाबा भन्दै भगवान बनाउन खोज्नुमा गाउँलेको ठूलो हात छ । पटक–पटक यस्ता घटना गाउँमा भइरहेका थिए, तर गाउँलेले रोक्नुको सट्टा रामबहादुरमा भगवान प्रकट भएको प्रचारबाजी गरे ।’

    स्थानीय अगुवा खेम सापकोटाका अनुसार ‘बाबाको वशमा आउन नमानेकै कारण नियोजित रूपमा’ त्यस दिन राधालाई यातना दिइएको हो । घटना भएको थाहा पाएपछि सापकोटा राधाको घरमा पुगेका थिए । ‘मैले नै एम्बुलेन्स बोलाएँ,’ उनले भने, ‘घोडाघोडीस्थित अस्पतालमा पुगेपछि मात्र सञ्चारकर्मीलाई खबर गर्न भ्याएँ ।’ त्यतिबेलासम्म भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो ।

    राधालाई यातना दिँदै बिहान ७ बजेतिर सुरु भएको बाबाको ताण्डव १२ बजेसम्म निरन्तर चल्यो । यो बीचमा कसैले पनि प्रहरीलाई खबर गरेनन् । प्रायस् हरेक दिन कुनै न कुनै बिरामीलाई बाबाले झारफुख गर्थे । होहल्ला भइरहन्थ्यो, त्यसैले पनि धेरैको ध्यान जान सकेन । टोलका बासिन्दाको बोल्ने साहस नै थिएन ।

    बाहिरबाट आएका पनि डरले बोल्न नसकेको प्रत्यक्षदर्शीले बताए । राधा बस्ने टोलका ३र४ जना युवा त्यहाँ पुगेर होहल्ला गर्न थालेपछि मात्र राधालाई छाडिएको थियो । घटना भएको पूर्वी टोलका बासिन्दा कसैले पनि यो विषयमा मुख खोल्न चोहनन् । अधिकांशले बाबालाई बचाउने प्रयास गरे । बाबाले राधालाई नकुटेको दाबी गर्दै झारफुख गर्दा अलिअलि चोट लाग्ने तर्क गरे ।

    अधिकांश गाउँले महिला र पुरुष घटनास्थलमै थिए । भोलेबाबाको घरमा केही हुन्छ भन्ने खबर पहिलेदेखि नै टोलका मान्छेलाई थाहा थियो । स्थानीय सामाजिक अगुवा सापकोटाले भने, ‘भोलेबाबाको घरबाट १८–२० जनाको समूह किस्मतीको नेतृत्वमा राधालाई ल्याउन जाँदा कसैले पनि रोक्ने प्रयास गरेनन् ।’

    ‘कालो बिरालो बनेर कतारमा रहेका कन्सरामलाई मार्ने बोक्सी आज भगाउनुपर्छ भन्दै होहल्ला गर्दै दुई किलोमिटर टाढा रहेको राधाको घरमा पुगेको समूह नजिकै रहेको विद्यालयका विद्यार्थी र शिक्षकले पनि देखेका हुन् तर कसैले पनि वास्ता गरेनन्,’ उनले भने, ‘यो दैनिकजसो हुने रमिता थियो, त्यसैले धेरैले वास्ता गरेनन् ।’

    उनका अनुसार भोलेबाबाकहाँ एक दिन उपचार गर्न जानेले १५ दिन लगातार जानुपथ्र्यो । ‘उपचार गर्न आउने महिलालाई कथित बाबाले सीधै संवेदनशील अंग समातेर यौनहिंसा गरेको गुनासो पनि हुँदै आएको छ,’ उनले भने ।

    ‘भोलेबाबाका कारण गाउँमा चहलपहल बढ्यो । किनमेल बढ्यो, रक्सी बिक्री भयो, खाद्य सामग्री बिक्री भयो, भोलेबाबाको मात्र दैनिक ५ देखि ८ हजारसम्म आम्दानी थियो,’ स्थानीय नरेश कुँवरले भने, ‘सम्भवतः घटना भइरहँदा स्थानीय कसैले प्रतिवाद नगरेको कारण यही हो ।’

    भोलेबाबाकहाँ आउने बिरामी र दर्शनार्थीले ल्याउने चामल मात्रै कयौं किलो हुने गरेको थियो । कथित बाबाको घरको दुई सय मिटर दूरीमा वडाध्यक्ष प्रेम रोकायाको घर छ । स्थानीयको भनाइअनुसार घटना भइरहँदा उनी गाउँमै थिए ।

    ‘भोलेबाबालाई संगठित गिरोहले नै सञ्चालन गरिरहेको केही स्थानीयको भनाइ छ,’ कुँवरले भने, ‘बाहिर हेर्दा ४ जना केटी र भोलेबाबा थिए, पर्दा पछाडि अरू पनि यो गिरोहमा छन् ।’

    राधा चौधरीले भोलेबाबाकी पार्वती बन्न नमानेकै कारण उनीमाथि अमानवीय व्यवहार भएको उनको भनाइ छ । घटना भएको जानकारी पाउनेबित्तिकै राधालाई अस्पताल पुर्‍याउन एम्बुलेन्स मगाउने स्थानीय सापकोटा पनि गाउँका केही मान्छेको मिलेमतोमा बाबाले ठगी धन्दा गरिरहेका कारण विरुद्धमा कसैले बोल्ने साहस नगरेको बताउँछन् । राधा सापकोटाको जग्गा जमिन जोत्ने परिवारकी पूर्वकमलरी पनि हुन् ।

    बोक्सी आरोपमा राधालाई कुटपिट गरेको चार दिन बितिसक्दा पनि बिहानै कथित भोलेबाबासँग उपचार गराउन आउने क्रम जारी छ । कथित बाबासँग उपचारका लागि कैलालीका दुर्गम गाउँबाट आएका ३ परिवार उनकै घरमा डेरा हालेर बसेका छन् ।

    भोलेबाबा पक्राउ परिसके, उनलाई कुटपिटमा सहयोग गर्ने कथित पार्वती पनि पक्राउ परिसकिन् । तर टाढाटाढा बाट उपचारका लागि आउनेहरू देवकलिया पुगिरहेका छन् । स्थानीय गाउँका धेरैले अहिले पनि भोलेबाबाको विरुद्धमा बोल्ने साहस गर्न सकेका छैनन् ।

    देवकलिया गाउँको विद्यालयबाट पूर्वतिर रहेको पूर्वी टोल पुग्नेबित्तिकै कथित भोलेबाबाको घरमा जाने गेट बनाइएको छ । स्वागतद्वारदेखि २ सय मिटर पर कथित बाबाको घर छ, जुन ठाउँमा दैनिक राधाजस्ता धेरैले भोलेबाबाको सिकार हुँदै आएका थिए । भोलेबाबाको मुख्य सिकार महिला हुने गरेका छन् ।

    चौतर्फी विरोध, मिलापत्र गराउने मयेरमाथि एमालेले छानबिन गर्दै

    बोक्सी आरोपमा राधालाई कुटपिट गरिएको घटनाको चौतर्फी विरोध भएको छ । अनेरास्ववियुले आइतबार कैलालीको सुखड बजारमा प्रदर्शन गरेको छ । अनेरास्ववियुका केन्द्रीय सचिव सुदेश पराजुलीले घटनाका दोषीलाई आजीवन कारावास सजाय गर्न माग गरे । प्रदेश ७ का मुख्यमन्त्रीलाई ज्ञापन दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।

    यसैगरी दाङको मुक्त कमलरी विकास मञ्चले समेत घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।

    मुक्त कमलरी विकास मञ्च कैलालीले पनि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सरकारले उचित उपचार र दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ । दोषीमाथि कारबाही नभए पश्चिम नेपालका ६ जिल्ला बन्द गरी आन्दोलनमा उत्रने मञ्चकी अध्यक्ष विष्णा चौधरीले चेतावनी दिएकी छन् ।

    प्रजिअ रिजालले घटनाको गम्भीर ढंगले अनुसन्धान भइरहेको र कारबाही प्रक्रिया पनि अघि बढाइएको जानकारी दिए । उनले घटनामा संलग्नमध्ये दुई जनालाई पक्राउ गरिसकिएको बताए । ‘पक्राउ गरिएका व्यक्तिविरुद्ध बोक्सी आरोप तथा सजाय ऐन, २०७२ अनुसार आइतबार नै मुद्दा दर्ता गरी म्याद थप गर्ने प्रक्रिया प्रहरीले सुरु गरेको छ,’ उनले भने ।

    यसैबीच बोक्सी आरोपमा बर्बर यातनाको घटनालाई मिलापत्र गराउने घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीका विषयमा छानबिन गर्न नेकपा एमाले कैलालीले टोली गठन गरेको छ । (कान्तिपुर दैनिक

    प्रतिकृया दिनुहोस्

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...

    शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने

    नेकपा(माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको भक्तपुर नगर समितिले नि:शुल्क दन्त शिविर...

    पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विष्टलाई पितृशोक

    नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. महेन्द्र विष्टलाई पितृशोक...

    भक्तपुरका जिसस प्रमुखको गुनासो – चार मेयर चार मुख गर्नुहुन्छ

    एचआईभी संक्रमित तथा लागुपदार्थ प्रयोगकर्ताहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा भक्तपुरका चार वटा नगरपालिकाले बेवास्ता गरेको...

    प्रेस सेन्टर काभ्रेमा नयाँ नेतृत्व

    काभ्रे । प्रेस सेन्टर नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । बनेपामा...