News Portal

  • ४९ जनाको ज्यान जाने गरी भएको भयानक जहाज दुर्घटनामा परी बाँच्ने २२ भाग्यमानीहरु

    इभक्तपुर संवाददाता
    १०८६ पटक

    काठमाडौं, २९ फागुन । साेमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा भएकाे भयानक जहाज दुर्घटनामा परी ४९ जनाकाे मृत्यु भयाे । त्यत्राे दुर्घटनामा परेर पनि २२ जना भने बाँच्न सफल भएका छन् । बंगलादेशकाे राजधानी ढाकाबाट काठमाडाै अाएकाे युएस बांग्ला एयरकाे जहाज कसरी दुर्घटना परेकाे हाे भन्ने अहिले जाँच भइरहेकाे छ ।

    धावनमार्गमा ल्याण्ड गरिसकेकाे जहाज चिप्लिएर बाँयातर्फकाे घाँसे मैदानमा पुगेर अागाे लागेकाे थियाे । साेही अागाेले जलेर अधिकांश यात्रुकाे मृत्यु भयाे । अागाेले जल्दाजल्दै उद्धार गरिएका केही यात्रुकाे अस्पतालमा निधन भयाे भने केही भने बाँचेका छन् ।

    दुर्घटनामा परेर ११ नेपालीसहित २२ जना यात्रु बाँच्न सफल भएका हुन् । ६७ यात्रु र ४ चालक दलका सदस्यसहित ७१ जना रहेकोमा ४९ जनाले भने ज्यान गुमाएका छन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले २२ जनाको अहिले काठमाडौँका बिभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको छ । धापासीस्थित ग्रान्डी अस्पतालमा दयाराम ताम्राकार, किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र विनोद पौडेलको उपचार भइरहेको छ ।

    थापाथलीस्थित नर्भिक अस्पतालमा बसन्त बोहरा, आशिष रन्जित, सनम शाक्य, पिंकी धामी र सविना व्यञ्जीनकारको उपचार भइरहेको छ ।

    जहाज दुर्घटनामा घाइते केशव पाण्डेको मेडिसिटी अस्पताल नख्खुमा उपचार भइरहेको छ भने बाँसबारीस्थित न्यूरो अस्पतालमा दिनेश हुमागाईंको उपचार भइरहेको छ ।

    यसैगरी, केएमसी अस्पताल सिनामंगलमा विदेशी नागरिकहरु ईन्द्रना कविर, कबिर हुसेन, रसिद हुसेन, मेहेन्दी हसन, रजिना अब्दुल्लाहा, डा इर्जना, श्रहना, सरिन अहमद र महमद सहिनको उपचार भइरहेको छ ।

    बंगाली नागरिक मोहमद रिजवान हक्युको ओम अस्पताल चावहिल र नाम नखुलेका अर्का एकजना बंगाली नागरिकको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनामा १३ जना नेपालीसहित ४९ जनाको ज्यान गएको छ । ज्यान गुमाएकामध्ये १२ जना एमबीबीएसको परिक्षा दिएर फर्किएका नेपाली विद्यार्थी छन् ।

    यसैबीच विमान दुर्घटनाअघि कन्ट्रोल रुम र पाइलटबीच भएको सम्वाद सावर्जजिक भएको छ । यो सम्वादमा ‘जिरो-२’ र ‘२-जिरो’ मध्ये कुन ठाउँबाट विमान अवतरण गर्ने भन्नेबारे लामै कुराकानी भएको छ । तर, अन्तिममा कन्ट्रोल रुमले रन वे जिरो-२ मा अवतरण गर्नु अनुमति दिन्छ ।

    पाइलटसँग सम्वाद टुट्नु अघि कन्ट्रोल रुमले चेतावनी दिन्छः बंगला स्टार-२११ । म फेरि भन्छु, त्यसो नगर्नुस् । तर, बंगलाका पाइलटले कुनै जवाफ दिँदैन । सम्वाद टुटेको झण्डै १२/१३ मिनेटपछि बल्ल कन्ट्रोलले थाहा पाउँछ- विमान दुर्घटना भइसकेछ ।

    यस्तो छ पाइलट र कन्ट्रोल रुमको सम्वाद

    कन्ट्रोल रुमः वांगला स्टार २११ । म फेरि भन्छु, रन वे २ जिरो तिर नजानुस् । अहिले जुन पोसिजनमा छ, त्यहीँ रहनुस् ।

    पाइटलः ओके । हामी दायाँ फन्को लिँदैछौं । रन वे ० २ तर्फ हेर्दैछौं ।

    कन्ट्रोल रुमः ठीक छ तर, तुरुन्तै अवतरण नगर्नुस् । छोटो रन वे प्रयोग गर्ने ट्राफिक (जहाज) त्यहाँ छ ।

    … बुद्ध एयर ३५२ एकछिन होल्ड गर्नुस् ।

    यसैवीच कन्ट्रोल रुमका कर्मचारीहरुको आन्तरिक सम्वाद सुनिन्छ- यो जिरो टू र टू जिरोमा अलमलिए जस्तो छ । यति एयरलाइन्सका पाइलट रमेश श्रेष्ठले यो सम्वाद सुनिरहेका थिए र विमानलाई पनि नियालिरहेका थिए, त्यहाँ उनले भनेको सुनिन्छ- यो कतातिर जाला जस्तो छ । यसलाई राडर भेक्टर प्रयोग गरेर ठाउँमा ल्याउनुपर्छ जस्तो छ । डाँडाकाँडामा भिजिविलिटी राम्रो छैन । -राडर भेक्टर प्रयोगका लागि पाइलटले माग गर्नुपर्छ र कन्ट्रोलले आवश्यक निर्देशन दिएर अवतरण गराउँछ)

    कन्ट्रोलले जवाफ दिन्छ- हुन्छ सर

    कन्ट्रोल रुमः वांगला स्टार २११ । रनवे ल्याण्डका लागि तयार छ । रन वे जिरो टू र टू जिरो दुबै उपलब्ध छ । कुनमा गर्ने ?

    पाइटलः यस सर । हामी टू जिरोमा अवतरण गर्न चाहन्छौं ।

    कन्ट्रोल रुमः हुन्छ रेन वे टू जिरोमा ल्याण्ड गर्नुस् ।

    पाइटलः हुन्छ । अवतरणको प्रयास गर्छौं ।

    (केहीबेर कुनै सम्वाद हुँदैन । फेरि कन्ट्रोलरुममा सम्वाद हुन्छ- जिरो टू मा गयो जस्तो छ ।)

    कन्ट्रोल रुमः वांगला स्टार २११ । तपाईले रनवेलाई देखिराख्नुभएको छ ? कर्न्फम गर्नुस् ।

    पाइटलः अहँ छैन ।

    कन्ट्रोल रुमः वांगला स्टार २११, दायाँ मोडिनुस् । …. रनवे अझै देख्नुभएको छैन ?

    पाइटलः रन वे देख्यौं । अवतरण गर्ने अनुमति दिनुस् ।

    कन्ट्रोल रुमः वांगला स्टार २११, अवतरण गर्नुस् ।

    पाइटलः रन वे जिरो टू

    कन्ट्रोल रुमः रन वे जिरो टू मा अवतरण गर्नुस् ।

    कन्ट्रोल रुमः आर्मी ५-३ ! बंगला स्टार २११ ले रनवेको फन्को मारिरहेको छ, एकछिन होल्ड गर्नुस् । अहिलेको पोजिसनमा एकछिन होल्ड गर्न सक्नुहुन्छ ?

    आर्मी ५-३- हुन्छ ।

    (कन्ट्रोलले लगत्तै आर्मी ५-३ ले होल्ड गरिरहेको जानकारी दिन्छ ।)

    कन्ट्रोल रुम- ९ लिमा ट्यांगो ! अहिलेकै स्थानमा बसिरहनुस् ।

    पाइटलः सर, हामीलाई अवतरण गर्ने अनुमति छ ?

    (केहीबेर सम्वाद सुनिँदैन, एक्कासी कन्ट्रोलले चेतावनी दिन्छ)

    कन्ट्रोल रुमः वांगला स्टार २११, म फेरि भन्छु, त्यसो नगर्नुस् ।

    कन्ट्रोल रुममा आवाज आउँछ- फायर ! फायर !

    सुन्नुहोस् यस्तो छ पाइलट र कन्ट्रोल रुमको सम्वाद

    त्यसपछि लगातार केही आवाज आउँछ तर कुनै सम्वाद छैन । कन्ट्रोलले सिम्रिक १-० लाई होल्ड गर्न भन्छ । त्यसबीचमा कन्ट्रोलको अरु विमानसँग सम्वाद हुन्छ । कुनै विमानले के छ भनेर सोध्छ, रन वे बन्द छ भन्ने भन्ने जवाफ आउँछ । त्यसैबीचमा विमानस्थल नै बन्द भएको सूचना आउँछ । बंगला विमानका पाइलटसँग कुनै सम्वाद हुँदैन ।

    दक्षिणकाली क्षेत्रमा होल्ड भइरहेको विमानले अवतरणका लागि अनुमति माग्छ । कन्ट्रोलले रन वेको पश्चिमतिर रहन र एक माइल टाढा रहँदा फेरि खबर गर्न भन्छ । केहीबेरमै कन्ट्रोलले लिमा ट्याङ्गो र आर्मी ५-३ लाई रनवे २ जिरोमा अवतरण गर्न अनुमति दिन्छ । कन्ट्रोलले बुद्ध, यति र सौर्य एयरका विमानलाई अहिलेकै अवस्थामा रहन र इन्जिन बन्द गर्न निर्देशन दिन्छ ।

    त्यसबीचमा कन्ट्रोललाई कसैले सोध्छ- यो कुन विमान हो ? जवाफ आउँछ- विमान बंगला । यसबीचमा होल्डमा रहेको विमान आर्मी ५-३ ले २ जिरोमा अवतरण गर्ने अनुमति पाउँछ ।

    कन्ट्रोलले होल्डमा रहेका विमानहरुलाई एयरपोर्ट बन्द रहेको भन्दै लखनउ वा बनारस जान भन्छ । विमान दुर्घटना भएका कारण बन्द भएको जानकारी गराउँछ ।

    बंगला विमानको टावरसँग सम्वाद नभएको झण्डै १२ मिनेटपछि कन्ट्रोलले विमान दुर्घटना भएको जानकारी गराउँछ ।

    यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २४ नेपालसहित ४९ जनाको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...