News Portal

  • न्यायमूर्तिमाथि न्याय की अन्याय , यस्तो भो उनको बहिर्गमन

    पत्रपत्रिका काठमाडौं, २ चैत
    ६९८ पटक
    काठमाडौं, २ चैत

    सर्वोच्च अदालत प्रमुखको असहज बहिर्गमन भएको छ । गोपाल पराजुली पदमुक्त भएसँगै मुलुकको न्यायिक इतिहासमा बाध्यकारी बाटोबाट प्रधानन्यायाधीश परिवर्तनको पहिलो नजिर बनेको छ।

    न्याय परिषद्ले पठाएको पत्रका कारण प्रधानन्यायाधीश नै परिवर्तन भएको घटनालाई आश्चर्य र असहज रूपमा लिइएको छ।

    नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममितिसम्बन्धी विवादमा मुछिएका प्रधानन्याायधीश गोपाल पराजुलीलाई न्याय परिषद्का सचिव नृपध्वज निरौलाले बुधबार पदावधि सकिएको जानकारी गराएपछि उनी पदमुक्त भएका हुन्।

    पराजुलीलाई यो अवस्था आउन सक्ने संकेत केही समयअघि नै उनका धेरै शुभचिन्तकले गरेका थिए । कतिपयले उनलाई राजीनामा दिन र कतिपयले बिदामा बस्न दिएको सुझावलाई बेवास्ता गर्दा उनी असहज रुपमा पदबाट बाहिरिनुपरेको छ ।

    एक साताअघि सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले प्रधानन्यायाधीश पराजुलीलाई न्यायपालिकामा देखिएको विवाद समाधान गर्नका लागि बिदा बस्न सुझाव दिएका थिए । खरेलले आफूले पराजुलीलाई एक साताअघि असहज परिस्थितिको सहज बाटो खोज्न सुझाव दिएको बताए।

    ‘यो घटनाप्रति सरकार चिन्तित छ । म पनि चिन्तित छु । नहुनुपर्ने घटना भयो,’ महान्यायाधिवक्ता खरेलले भने, ‘उहाँले अब राजीनामा दिनु ठीक हो ।’ पराजुलीले सुझाव मानेर बिदामा बसिदिएको भए अहिलेको परिस्थिति आउन नसक्ने महान्यायाधिवक्ता खरेलले बताए । पराजुलीले महान्यायाधिवक्तासँग आफू बिदा हुनुअघि एक महिना कुनै पनि मुद्दा नहेर्ने बताएका थिए।

    पराजुलीको जन्ममितिका सम्बन्धमा विगत एक वर्षदेखि विवाद हुँदै आएको हो । ‘ठूलो पदमा बस्नेले आफ्नो मर्यादाको ख्याल गर्नुपथ्र्यो,’ सर्वोच्चका एक उच्च अधिकारीले भने, ‘उहाँले अरुको सुझाव नसुनी हठ लिएका कारण यस्तो अवस्था भयो । नैतिक संकटमा परे पनि उहाँले कसैको सुझाव मान्नुभएन।’

    न्यायाधीशहरुले पनि पराजुलीलाई बिदामा बस्न सुझाव दिएका थिए । तर, उनले आफ्नो मुद्दा आफ्नै बेन्चमा तोकेर निर्णय गराए । त्यो नै उनका लागि बहिर्गमनको एउटा कारक बन्यो।

    सर्वोच्चका ९ न्यायाधीशले प्रधानन्यायाधीश पराजुलीको पदावधि सात महिनाअगावै सकिएको भन्दै उनले तोकेको पेसी र इजलास बहिष्कार गरेका थिए।

    वरिष्ठताका आधारमा कायममुकायम प्रधानन्यायाधीश बनेका दीपकराज जोशीले बुधबार संवाददातासँग कुरा गर्दै पराजुलीले ‘आफ्नो निर्णय आफैंले गरेको’ बताए । पदमुक्त पराजुलीलाई इंगित गर्दै जोशीले भने, ‘आफ्नो निर्णय आफंैले गर्न हुँदैन।’

    प्रधानन्यायाधीशले पेसी तोक्दा विवाद भएको विषयमा स्पष्ट पार्दै कामु प्रधानन्यायाधीश जोशीले कसैले पनि अरूलाई दोष दिएर उम्कन नहुने बताए । ‘पेसी तोक्दा न्यायाधीशको बेन्च मिलाउने हो । तर, आफ्नो मुद्दा आफैं हेर्न हुन्न,’ उनले भने, ‘त्यसलाई नाघेर जाने हो भने विवाद आउँछ।’

    डाक्टर गोविन्द केसी र कान्तिपुरविरुद्धको अदालतको अवहेलना मुद्दामा पराजुलीले आफैं पेसी तोकी आफ्नै इजलासमा पारेर आदेश दिएका थिए । अवहेलना मुद्दाकै लागि तय गरिएको सातजना न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलास पनि आफ्नै नेतृत्वमा तोकेका थिए।

    त्यही इजलासमा सातमध्ये एक न्यायाधीश चोलेन्द्रशमशेर जबराले दोस्रो दिनको इजलासमा नबस्ने घोषणा गर्दै असहमतिको आदेश दिएका थिए।

    भोलिपल्ट पराजुलीले आफूलाई सुझाव दिने न्यायाधीशको इजलास बाँडफाँट गर्दा असहमति जनाउनेलाई एक ठाउँमा राखी संयुक्त इजलास तोेकेका थिए । उनले तोेकेका चारवटा इजलास न्यायाधीशहरुले बहिष्कार गरेका थिए।

    प्रधानन्यायाधीश पराजुलीले न्याय परिषद्को अवकाश पाएको पत्र सार्वजनिक भएपछि पदमा फर्कन अनेक प्रयास गरेका थिए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीलगायतलाई भेटेका थिए।

    बिहीबार बिहान राष्ट्रपति निवास पुगेका पराजुलीले आफूलाई ‘प्रधानन्यायाधीश’ को पदमा फर्काउन आग्रह गरेका थिए । तर, राष्ट्रपतिका सल्लाहकारले कामु प्रधानन्यायाधीशले पेसी तोेकेर काम सुरु गरिसकेको र पराजुलीको समय अवधि गत साउनमै सकिएकाले केही गर्न नसक्ने भन्दै पठाएका थिए।

    पराजुलीको राजीनामा
    ‘पदमुक्त’ को पत्र प्राप्त भएपछि प्रधानन्यायाधीश गोपाल पराजुलीले बिहीबार पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपतिसमक्ष राजीनामा पेस गरेका हुन्।

    पराजुलीको राजीनामा स्वीकृत भइसकेको छ। कानुन व्यवसायीहरुले पराजुलीको राजीनामा आउनु स्वागतयोग्य भएको टिप्पणी गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...