News Portal

  • बाम गठबन्धनको बैशाख १ मै एकताको आशंका

    ५१९ पटक

     

    एमाले र माओवादी केन्द्रबीच तोकिएको मितिमै पार्टी एकता घोषणा हुनेमा संशय देखिएको छ । कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर आगामी वैशाख ९ गते एकता घोषणा गर्ने अनौपचारिक कुराकानी भए पनि आन्तरिक तयारी सुस्त छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

    पार्टी एकतासम्बन्धी विधान र राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले वैशाख ९ मा पार्टी एकता गर्न सुझाएको थियो । त्यही दिन घोषणा गर्ने गरी दुवै दलले आ–आफ्नो पार्टीमा आन्तरिक तयारी अघि बढाउने भनिएको थियो । तर, वाम एकता संयोजन समिति बैठकले एकताको औपचारिक मिति तय गर्दै दुई दलबीच विवादित विषय निरूपण नगर्दा दुवै दलमा संशय छाएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली भारत भ्रमणमा जानुअघि गत २२ गते समितिको बैठक बसेको थियो ।

    उक्त बैठकले भारत भ्रमणलगत्तै विवादित विषय टुंगो लगाउने समझदारी गरेको थियो । तर, प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि बैठक नै बस्न सकेको छैन । कहिले बैठक बस्ने भन्ने तय नभएको समितिका सदस्यसमेत रहेका एमाले वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । ‘एकता संयोजन समितिको बैठक बसेर टुंगो लगाउने भनिएको हो, नेताहरूको व्यस्तताका कारण बैठक बस्न सकेको छैन,’ उनले भने ।

    एमाले र माओवादीबीच एकताका लागि आन्तरिक तयारी गर्न एउटा व्यवस्थापन समिति बनाउने भनिएको थियो । जनपरिचालनलगायत कामका लागि सहजीकरण गर्न त्यस्तो समिति आवश्यक ठानिएको थियो । तर, त्यो समिति नै बनेको छैन । त्यसैले जनवर्गीय संगठन परिचालन गर्ने भनिए पनि उनीहरूले एकतासम्बन्धी काम अघि बढाएका छैनन् ।

    एमाले र माओवादीबीच तीनवटा विषयमा अझै विवाद छ । जनयुद्ध, चुनाव चिहन र एकीकृत पार्टीको केन्द्रीय समितिमा कुन पार्टीका कति जना रहने भन्ने विषय टुंगो लगाउन बाँकी छ । माओवादीले बराबरी हैसियतमा एकता गर्नुपर्ने धारणा राखेपछि दुई दलबीचको दूरी केही बढेको छ । त्यस्तै प्रधानमन्त्री ओलीले सरकारमा एकलौटी ढंगले निर्णय गर्न थालेको गुनासो पनि माओवादी पक्षले गरेको छ ।

    पछिल्लो ३० सचिव सरुवा प्रकरणलाई लिएर माओवादी मन्त्रीहरू रुष्ट छन् । एकीकृत पार्टी नभएकै अवस्थामा प्रधानमन्त्रीको यो शैलीले एउटै पार्टी भएपछि झन् बढी दबदबा कायम गर्न सक्ने शंका माओवादीले गरेको छ । यो विषयमा कुरा गर्न मन्त्रीहरूले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह पनि गरिसकेका छन् । ‘एउटै पार्टी मात्र हुँदा त छलफल हुन्छ तर अहिले फरक–फरक पार्टी अस्तित्वमा रहँदा पनि सामान्य छलफल गरिएन, छलफल गरेरै उहाँलाई लागेको निर्णय गरेको भए केही बिग्रिने थिएन,’ माओवादीका एक मन्त्रीले भने, ‘त्यसैले आगामी दिनमा पार्टीभित्रको कार्यशैली पनि यही ढंगको हुने हो कि भन्ने लागेर एकपटक कुरा गर्न अध्यक्षलाई आग्रह गरेका छौं ।’

    यो प्रकरणपछि प्रधानमन्त्री ओली र दाहालबीच प्रहरी महानिरीक्षक नियुक्ति सन्दर्भमा औपचारिक कुराकानी भयो । तर, पार्टी एकता र सरकारको कार्यशैलीका विषयमा कुराकानी हुन सकेको छैन । बुधबार एकता संयोजन समितिको बैठक बोलाइएको थियो । तर, माओवादी अध्यक्ष दाहाल बिरामी भएको भन्दै स्थगित गरियो । दाहालको अस्वस्थता शारीरिक हो कि राजनीतिक भन्नेबारे अहिले दुई दल वृत्तमा चर्चा भइरहेको छ । दाहाल बिहीबार चितवन पुगेका छन् । शुक्रबार पनि उनी त्यहीँ रहनेछन् । प्रधानमन्त्री ओली शुक्रबार कर्णाली जाने कार्यक्रम छ । उनी वैशाख १ गते शनिबार रारामा हुने कार्यक्रममा सहभागी हुनेछन् । त्यसैले अझै दुई दिन एकतासम्बन्धी बैठक बस्ने छैन । एकताका लागि अनौपचारिक रूपमा तय गरिएको मिति आउन करिब एक साता बाँकी रहँदा विवादित मुद्दा टुंगो लाग्न नसकेपछि संशय बढेको हो । यद्यपि पार्टी एकताकै विषयमा छलफल गर्न भन्दै एमालेले बोलाएको वैशाख ६ को पोलिटब्युरो र ७ गतेको केन्द्रीय समिति बैठक भने यथावत् छन् ।

     

    प्रतिकृया दिनुहोस्

    पहिलो पटक प्रधानमन्त्रीको बिपक्षमा मतदान गरेको नेमकिपा यसपटक तटस्थ

    एउटै कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईपटक बिश्वासको मत लिएका छन् । पहिलो पटक विश्वासका...

    युट्युब च्यानललाई कारबाही गर्न प्रहरी र युट्युब कम्पनीलाई पत्राचार गर्दै प्रेस काउन्सिल

    प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको...

    शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । बिश्वासको मत पाएपछि...

    शब्द चयन नमिलेको सभामुख घिमिरेको स्वीकारोक्ति, संसद र प्रेसबीच सुमधुर सम्बन्ध हुनुपर्ने जोड

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनु पर्नेमा जोड दिए ।...

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ...