News Portal

  • ३८ क्विन्टल सुन तस्करीका नाइके चुडामणी उप्रेती गोरेलाई आजै जिल्ला अदालत मोरङमा पेश गरिने

    काठमाडौँ, ८ जेठ
    १३४६ पटक
    काठमाडौँ, ८ जेठ

    काठमाडौँ -तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या काण्डका मुख्यअभियुक्त चुडामणि शर्मा ‘गोरे’ लाई प्रहरीले सार्वजनिक गरेको छ।

    गृह मन्त्रालयले बनाएको छानबिन समितिले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर गोरेलाई सार्वजनिक गरेको हो।

    मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा समिति संयोजक सहसचिव ईश्वर पोखरेलले उनलाई आजै जिल्ला अदालत मोरङमा पेश गरिने जानकारी दिए।

    ‘मुख्य अभियुक्त भएकाले उनलाई आजै अदालतमा पेश गर्छौं,’ संयोजक पौडेलले भने, ‘सुन तस्करी जेरीजस्तै जेलिएको छ। हामीले थप सूचना पनि पाएका छौं। त्यसको अनुसन्धान जारी राख्छौं।’

    पौडेलले गोरेलाई काठमाडौंको गौरीघाटबाट मंगलबार बिहान पक्राउ गरिएको बताए।

    को हुन् गोल्ड डन भनिने गोरे

    मोरङको उर्लाबारीका गोरेलाई नेपालमा हुने सुन तस्करीको डन अर्थात् ‘गोल्ड डन’ पनि भनिन्छ। नेता, व्यापारी र प्रहरी उच्च अधिकारीसँगको सम्बन्धका आडमा उनले सुन तस्करी गरिरहेका थिए।

    मध्यम वर्गीय परिवारमा जन्मिएका गोरेका बाबु नेपाल प्रहरीका सहायक निरीक्षक थिए।

    सुन तस्करीमा लाग्नुभन्दा पहिला उनी दुबई प्रहरीमा जागिरे थिए। त्यही क्रममा दुबईका सुन माफियासँग उनको सम्बन्ध गाँसियो।

    केही समयपछि गोरे नेपाल फर्किए।

    उच्च तहका नेतासँग हिमचिम बढाउन थाले। उनले प्रभावमा पार्नकै लागि मान्छे हेरेर महंगा उपहार दिए।

    स्थानीय तह र संसदीय चुनावका बेला राजनीतिक दलका उम्मेदवारहरूलाई सहयोग गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।  स्थानीय चुनावमा उनले केही नेतालाई गाडी पनि किनिदिएको थिए।

    लामो समयदेखि अवैध सुनको कारोबार गर्दै आएका उनी त्यही सम्बन्धका आडमा उम्किँदै  पनि आएका थिए।

    ०७३ पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बरामद गरेको ३३ किलो अवैध सुनका मालिक गोरे नै भएको भरिया र अन्य अभियुक्तले बयान दिएका थिए। उच्च पहुँचकै भरमा त्यतिबेला गोरेको ठाँउमा अन्य केही व्यक्तिलाई कारबाही गरेर उनलाई उम्काइएको स्रोतको दाबी छ।

    सिआइबीले सुन तस्करीमा संलग्न ३३ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा दुई मुद्दा दायर गरेको थियो। मुद्दामा १५ करोड ४० लाख चार हजार आठ सय ८ रुपैंया २६ पैसा र तिर्नुपर्ने भन्सार महसुल र एक करोड ४२ लाख ८३ हजार आठ सय ९२ रुपैंया ४० पैसा गरी कूल १६ करोड ८२ लाख ८८ हजार सात सय रुपैंया ६६ पैसा बराबरको बिगो बमोजिम जरिवाना र बिगो जफतको दाबी माग गरिएको थियो।

    उनी खुलमखुला काठमाडौंमा हिँडिरहेका थिए प्रहरीले भने सो मुद्दामा गोरेलाई फरार भनेको थियो।

    स्रोतका अनुसार त्यतिबेला गोरेकै डिजाइनमा पक्राउ परेका भरियासँग कनेक्सन भएका मानिसलाई पनि मुछियो।

    ‘गोरेले जसको नाम दिए उनैलाई मुख्य अभियुक्त बनाइयो जसको भरियासँगै अन्य कारणले टेलिफोन कनेक्सन थियो, सुनसँग थिएन,’ स्रोतले भन्यो।

    तस्करीको सुनको मालिक भनेर पोलेका गोरे पहुँचकै भरमा सामान्य कारबाहीबाट उम्केपछि उनको मनोबल बढ्यो। अवैध सुन नेपाल भित्र्याउने क्रम झनै बढ्यो।

    फागुन पहिलो साता विमानस्थल हुँदै भित्रिएको ३३ किलो सुन हराएपछि गोरेले सुन लुकाएको आशंकामा आफ्ना मुख्य सहयोगी शाक्यलाई गौरीघाटबाट उठाएर सप्तरी लगेर यातना दिएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    हत्यापछि गोरेले नै प्रहरीलाई फोन गरेर घटना मिलाउन भन्दै मद्दत मागेका थिए। उनको मद्दतलाई स्वीकार गरी महानगरीय प्रहरी महाशाखाको टोली सुनसरी पुगेको थियो।

    सुनसरीमा शव फेला पारे पनि महाशाखाको टोलीले मोरङमा लगेर शवको बरामदी मुचुल्का बनाएको स्रोतले बतायो।

    प्रहरीकै सूचनाका आधारमा गोरे भागेर भारत पुगेका थिए।

    नेपाल प्रहरीका पूर्वडिआइजी निरौलासहित ६३ जना अभियुक्त

    तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा नेपाल प्रहरीका ७ अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर भएको छ।

    जिल्ला  सरकारी वकिलको  कार्यालयले मोरङले वैशाख १९ गते ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको छ।

    जिल्ला सरकारी वकिलको  कार्यालयले  १६३ पेजको अभियोगपत्र  बनाएको छ। मुद्दामा प्रतिवादीसँग १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको बिगो दाबी गरिएको छ।

    प्रहरीले पूर्वडिआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण संजेल र प्रहरी जवान विष्णु खड्कासहित २९ जनालाई पक्राउ गरी अदालत पेस गरेको छ।

    त्यस्तै राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, सुन व्यापारी महावीर गोल्यान, न्युरोडको आरके ज्वेलर्सका सञ्चालक राजेन्द्रमान शाक्य, थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङे, बालकृण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारुलाई मुद्दा चलाइएको छ।

    त्यसैगरी  एसएसपी श्याम खत्री, रमेश उप्रेती, निरु खरेल, मोहनकुमार अग्रवाल, रमेश उप्रेती, दुर्गा खरेल उप्रेती, चेतन भण्डारी, सुनील अग्रवाल, प्रमोद श्रेष्ठ, रोहित आचार्य, दावा शेर्पा, भोजराज भण्डारी, भीमकुमारी खरेल, डोलेन्द्रप्रसाद खरेल, कृष्ण बस्नेत, भविन राई, कमल कार्की, सन्दीप खड्का, प्रयास पराजुली, सुरेन्द्र गौतमलगायतकालाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ।

    गत माघ ९ मा दुबईबाट ल्याइएको तस्करीको ३३ किलो सुन हराएपछि खोजबिन सुरु भएको थियो। उक्त सुन लुकाएको भन्दै मोरङ उर्लाबारीका सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो।

    प्रतिकृया दिनुहोस्

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...

    शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने

    नेकपा(माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको भक्तपुर नगर समितिले नि:शुल्क दन्त शिविर...

    पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विष्टलाई पितृशोक

    नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. महेन्द्र विष्टलाई पितृशोक...

    भक्तपुरका जिसस प्रमुखको गुनासो – चार मेयर चार मुख गर्नुहुन्छ

    एचआईभी संक्रमित तथा लागुपदार्थ प्रयोगकर्ताहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा भक्तपुरका चार वटा नगरपालिकाले बेवास्ता गरेको...

    प्रेस सेन्टर काभ्रेमा नयाँ नेतृत्व

    काभ्रे । प्रेस सेन्टर नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । बनेपामा...