News Portal

  • ऐतिहासिक सम्पदा ५५ झ्याले दरवारका चित्रहरूको एक चित्रण

    निशा कुस्मा भक्तपुर, १५ साउन
    २९८० पटक
    भक्तपुर, १५ साउन

    घना जङ्गल छ । जनावरहरु यताउता भाग्दैछन् । हात्तीमा सवार मानिसहरु जनावरको पछि परेका छन् । उनीहरु सामान्य मानिसहरु थिएनन् । राजाहरु थिए । भक्तपुरका तत्कालिन राजा भूपतिन्द्र मल्ल र मकवानपुरका राजा माणिक सेन ।

    यी दृष्यहरु भक्तपुरको ५५ झ्याले दरवारको भित्तेचित्रमा देख्न सकिन्छ । तर यी भित्तेचित्र अचेल जिर्ण हुँदैछन् । दरवारमा भएका भित्तेचित्रको माथिल्लो भागका चित्रहरुको रङ उडेर पौभा चित्र नै विलिन हुँदैछ । चित्रका साथसाथै त्यहाँ लेखिएका अक्षरहरु पनि हराउँदैछ । भित्तेचित्रहरुका रङ पानीले बगाउने र मुनीतिर दुलो बनाउन थाले पछि संस्कृृतिविद्हरु लगायत सम्पूर्ण नगरबासीहरु चिन्तित छन् ।

    दरवारको पहिलो तलाको भित्ताहरुमा हात्ती खेदाएको, विश्वरुपको र कृष्ण चरित्र नाटकसँग सम्बन्धीत चित्रहरु कोरिएको छ । हात्ती खेदाएको भित्तेचित्रमा भक्तपुरका तत्कालिन राजा भूपतिन्द्र मल्ल र मकवानपुरका राजा माणिक सेनले सँगै हात्ती खेदाएका दृश्यहरु छन् । भित्तेचित्रबाट भक्तपुरका राजा भूपतिन्द्र मल्लले हात्तीको लागि मकवानपुरका राजा माणिक सेनसँगको मित्रताको बयान गरेको छ ।

    ५५ झ्यालेको निर्माण पछि याछेंका एक अज्ञात चित्रकारले ने.स. ८२८ मा विश्वरुपको भित्तेचित्र कोरेका थिए । महाभारतमा भगवान कृष्णले अर्जुनलाई आफ्नो विश्वरुप देखाएसँग सम्बन्धित यो चित्रमा स्वयम् भूपतिन्द्र मल्ल र उनको रानी विश्वलक्ष्मीको मुखाकृत कोरिएकोे इतिहासविद्हरुको भनाई छ । साथै यहाँको भित्तेचित्रमा कृष्णको लिलालाई क्रमबद्ध रुपमा अंकित गरेको छ । त्यसबाहेक राम–रावण युद्ध, गोपिनीहरुसितको रास–लिला, गिता–गोविन्द, भागवत–गीता तथा तत्कालिन दरवारका घटना, परिघटना, भेषभुषा, साजसज्जाहरु अवलोकन गर्न सकिने संस्कृतिविद् डा.पुरुषोतमलोचन श्रेष्ठले बताए ।

    ‘भित्तेचित्र भएको ठाउँमा मुसाले दुलो बनाउन थाले । दुलो ठूलो हँदै गए पछि धेरै समस्याहरु आउँछ’ ५५ झ्याले दरवारमा कार्यरत कर्मचारी श्रीकृष्ण बखुन्छे भन्छन्, ‘त्यसैले तीन महिना अगाडि आवश्यक व्यवस्थापन गर्न भनी नगरपालिकामा निवेदन पठायौँ तर अझै पनि केहि गरेको छैन ।’ विश्व सम्पदा सूचीमा रहेको दरवारलाई मन लागि बिगारेर बनाउन पनि नसकिने उनले भक्तपुर पोस्टलाई बताए ।

    ‘धेरै समयसम्म दरवार प्रयोगमा आएन, खाली भएर मुसा आउन थालेको हो’ भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशी भन्छिन्, अहिले मुसाको दुलो टाली हप्तामा दुई दिन मंगलबार र शुक्रबार सञ्चालन गरी प्रयोगमा आएपछि मुसा आउन कम भएको छ ।’ उनले भनिन्, ‘पौभा पेन्टिङ भएको भित्ता मलिलो छ, रंगना गर्न भन्नु राम्रो सुझाब हो तर विस्तार अध्ययनको प्रतिवेदन नआई हामीले केही गर्न मिल्दैन ।’ यसको प्रतिवेदन तयार गर्न नक्सा तयार पार्न योजनाकार डा.सुदर्शनराज तिवारी, इन्जिनियर डा. प्रेमनाथ मास्के लगायतका विज्ञहरु लागि परेको उनले भक्तपुर पोस्टलाई जानकारी दिइन् ।

    ‘अहिले सम्म संरक्षणको केही पहल भएको छैन’ स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालयका प्रमुख मोहनसिंह लामा भन्छन् ‘ भक्तपुर नगरपालिकाले चलाइरहेको छ, नगरपालिकाले नै केही गर्ला कि ।’ पहिले नगरपालिका र पुरातत्व विभाग मिलेर दरवारको संरचना बनाएको बताउने उनी हाल नगरपालिकाले कब्जा गरी चाबी आफैसंग राखेको बताउँछन् ।

    ‘१८९० को भूकम्पमा केही नभएको दरवार १९९० मा माथिल्लो तला भत्कियो, राणाहरुले जसोतसो ठड्यायो’ संस्कृतिविद् ओम धौवडेल भन्छन्, ‘२०५६ सालमा भक्तपुर नगरपालिका र पुरातत्व विभागको मिलेमत्वमा पुरानै शैलीमा पुनः निर्माण गरियो ।’ दरवारको इतिहास बताउने उनीहरु भित्तेचित्रलाई ताजा बनाउन नसकेको दुखेसो पोख्छन् ।

    ‘रङ भरेर केहि गर्दैन जति बाँकी छ त्यतिलाई मात्र संरक्षण गर्ने हो’ ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के कर्माचार्यले भने, ‘पौभा चित्रहरु ठ्याक्कै १०० प्रतिशत दुरुस्तै पहिले जस्तो बनाउन सकिदैन ।’ इतिहासविद्हरुका अनुसार बजारमा पाईने रङमा भएको रसायनले भित्तेचित्रलाई हानी पु¥याउने भएकाले प्राकृतिक तरिकाको सरसफाई र रङरोगन ग¥यो भने पुन: भित्तेचित्रको जगेर्ना गर्न सकिन्छ ।

    दरवार हेरचाह कार्यालयका प्रमुख मोहनसिंह लामाका अनुसार भित्तेचित्रलाई जोगाउन कटप्रेशको सिद्धान्त अपनाई रसायनिक उपचार गर्न सकिन्छ । उनका अनुसार प्लास्टर उप्किसकेको भित्तालाई कट प्रेशको सिद्धान्त अनुरुप टुक्रा टुक्रा गरी काटी बाहिर निकालिन्छ र व्यवस्थित गरी राखेको हुन्छ । झिकिएका चित्रहरुको होमवर्क छुट्टै गरेको हुन्छ । बिग्रिएका भित्ताहरु बनेपछि पुनः त्यसमाथि रसायनिक उपचार गरेको चित्रलाई रसायन मार्फत मिलाएर भित्तामा टाँसेको खण्डमा भित्तेचित्रको संरक्षण गर्न सकिन्छ, होईन भने जोगाउन मुस्किल हुने उनले बताए ।

    पर्यटकका लागि खुल्ला

    ५५ झ्याले दरवार आन्तरिक तथा बाह्य दुवै पर्यटकहरुका लागि पुनः खुल्ला गरेको छ ।

    ‘२०७० माघ १० गते देखि प्रत्येक मंगलबार निःशुल्क रुपमा खोलेको थियो ।’ कर्मचारी श्री कृष्ण बखुन्छे भन्छन्, भूकम्प पछि २०७५ पुस २ गते नगरपालिकाको स्थापना दिवसको अवसर पारेर पुन सबैका लागि खुल्ला गरेको हो ।’ अहिले मंगलबार र शुत्रबार गरी हप्तामा दुई दिन खोलिन्छ । बाह्य पर्यटकका लागि निःशुल्क, आन्तरिक पर्यटकका लागि बीस रुपैयाँ र विद्यार्थीका लागि दश रुपैयाँ शुल्क तोकेको कार्यकारी सञ्चालक विष्णुभक्त सुवालले जानकारी दिए ।

    ‘बाह्य पर्यटकले प्रवेश शुल्कमै पैसा तिरेकाले यहाँ छुट भएको हो ।’ सुवाल बताउँछन् । आन्तरिक पर्यटक प्रवेश शुल्क नपरेपछि दिनकै ३/४ पटक आउने र लामो समय दरवारमै बिताएकाले सर्वसाधारणलाई २० रुपैयाँ र विद्यार्थीलाई १० रुपैयाँ प्रवेश शुल्क तोकेको सञ्चालकहरुले बताए । भूकम्प पछि धेरै मानिसहरु एकैचोटी पठाउँदा भार धेरै भएर भित्तेचित्रमा असर पर्छ । त्यसैले एकपटकमा १०/१० जना मात्र पठाउने गरेको उनीहरु बताउँछन् ।

    ‘यहाँ आउने पर्यटकहरुले दरवार दैनिक रुपमा सञ्चान गर्न आग्रह गरेका छन् ।’ अर्का सञ्चालक हरिप्रसाद ग्यामरु भन्छन् । उनका अनुसार विद्यार्थीहरुले आफू सम्बन्धित संकायमा रहेर भित्तेचित्रको अध्ययन गर्छन् । उनले बताए अनुसार मंगलबार बाह्य र आन्तरिक गरी ४ सय जना र शुक्रबार १ सय ५० देखि १ सय ६० जना दरवार अवलोकनमा आउँछन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...