News Portal

  • ठग एसपीको भक्तपुरमा घर

    भक्तपुर, २९ साउन
    १२९६ पटक
    भक्तपुर, २९ साउन

    काठमाडौँ- नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) भएको बताउँदै एक व्यक्ति विभिन्न सरकारी कार्यालयमा पुगिरहन्थे । उनी ती कार्यालयहरुमा अनुगमन, छानबिन आदिका लागि भन्दै पुग्ने गर्दथे ।

    ती व्यक्ति थिए, अन्दाजी ५० वर्षका नारायण सिंह बराल । उनी नेपाल प्रहरीको एसपी भएको बताउँदै विभिन्न सरकारी कार्यालयमा गएर कहाँ–कहाँ गडबड भएको छ, त्यो बारेमा पत्ता लगाउन छानबिन गरेको वा जानकारी लिएको जस्तो पनि गर्थे ।

    बरालले आफ्नो दरबन्दी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको भन्दै सरकारी कार्यालयका कर्मचारीलाई धम्क्याइ लाखौँ रुपैयाँ ठगी गर्न थालेपछि उनीविरुद्ध उनी ‘कार्यरत’ भनिएको संस्था अख्तियारमै उजुरी पर्यो ।

    बरालको पछिल्लो गतिविधि देखेर कर्मचारीले उनीमाथि शंका गर्न थालेका थिए । बराल भने निश्चिन्त हुँदै ठगेरै लाखौँ रुपैयाँ उठाइरहेका थिए ।

    आफ्नै ‘एसपी’ले घुस खाएको उजुरी आएपछि अख्तियारको टोली सक्रिय बन्यो । र, ती तथाकथित एसपीको पिछा गर्न थाल्यो ।

    साउन १ गते बराल ललितपुरको लगनखेलस्थित नापी कार्यालयमा ‘बार्गेनिङ’ गरिरहेका थिए । नापी कार्यालयका कर्मचारीसँग घुस रकम माग गरिरहेको अवस्थामा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लियोे ।

    सिन्धुलीको कमलामाई घर भई काठमाडौँको डिल्लीबजार बस्दै आएका बराललाई रकम माग गरिरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको ललितपुर प्रहरीले बताएको छ ।

    अख्तियारको टोलीले उनी सरकारी कर्मचारी नभएर ठग भएको पत्ता लगाएपछि तत्कालै महानगरीय प्रहरी परिसर ललितपुरलाई जिम्मा लगाएको थियो ।

    बरालको ठगी धन्दाको २४ वर्ष

    बराल पक्राउ पर्नुको रोचक कहानी छ । बराल यस्तो व्यक्ति हुन् जोे २४ वर्षसम्म नेपाल प्रहरीको नाम भजाएर कमाउ धन्दामा लागिरहे ।

    बरालको ठगी गर्ने चतुरताले ठगीका विषयमा नागरिक जति सचेत हुँदै जान्छन्, ठग पनि उही रफ्तारमा ठगीको नयाँ नयाँ शैली अपनाउँदै जान्छन् भन्ने यथार्थलाई पुष्टी गर्दछ ।

    बरालले वर्षौँदेखि एउटै शैली प्रयोग गरेर सरकारी कर्मचारीलाई ठगे । ठगी शृंखलाको २४ वर्षमा बरालले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दरबन्दी भएको बताउँथे ।

    असईबाट सुरु गरेका थिए यस्तो धन्दा

    बरालले २०५२ सालदेखि ठगी धन्दा सुरु गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । सुरुमा बराल नक्कली प्रहरी सहायक निरीक्षक (असई) रहेको दाबी गर्थे ।

    ५ वर्षपछि बरालले आफूलाई प्रहरी नायब निरीक्षक (सई) बताउन थाले । फेरि ५ वर्षपछि बरालले आफूलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) बताउन थाले ।

    एक दशकमै बरालले आफ्नो धन्दालाई उपत्यकाबाहिर समेत विस्तार गरेको पाइएको छ । इन्सपेक्टर भएको ९ वर्षपछि बरालले आफूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) बताउन थालेका थिए ।

    डीएसपीमा बढुवा भएपछि बरालले आफूलाई अख्तियारमा कार्यरत रहेको भन्दै विभिन्न सरकारी कार्यालयमा गएर निर्वाध बार्गेनिङ गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

    सुरुमा नक्कली असई बनेका बराल २३ वर्षपछि आफूलाई प्रहरी उपरीक्षक (एसपी) बताउन थाले । २०७५ सालमा एसपीमा बढुवा भएको भन्दै उनले दरबन्दी भने उही अख्तियार बताउँथे ।

    छिट्टै एसएसपीमा बढुवा हुन्छु भन्थे बराल

    बरालले आफ्नो पहुँच माथिल्लो तहसम्म रहेको भन्दै छिट्टै नै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा हुन्छु भन्दै आएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

    बरालले सरकारी कर्मचारीलाई नै ठगिरहे । आफ्नो पोल खुल्ने र पछि अख्तियार धाउनुपर्ने डरले सरकारी कर्मचारीले पनि उनीविरुद्ध केही बोल्न सकेनन् ।

    बरालको आँखा ‘कमाउ अड्डा’मा

    जहाँ बढी कमाइ हुन्छ बरालको आँखा पनि त्यस्तै कमाउ अड्डातिर जाने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

    ललितपुर परिसरका प्रवक्ता डीएसपी नारायण चिमौरियाका अनुसार बरालले मालपोत कार्यालय, नापी कार्यालय जस्ता ‘कमाउ अड्डा’मा गएर कर्मचारीलाई ‘ब्ल्याक मेल’ गर्थे ।

    बरालले कतिपय ठाउँमा सेवाग्राहीसँगै हिँडेर घुस लिने कर्मचारीको रेकी गर्दै सम्बन्धित कर्मचारीसँग भाग माग्ने गरेको पाइएको डीएसपी चिमौरियाले रातोपाटीलाई बताए ।

    पक्राउ परेको दिन ३ वटा कार्यालयमा पुगेका थिए बराल

    साउन १ गते दिउँसो पक्राउ परेका बराल सो दिन ३ वटा सरकारी कार्यालय पुगेर आएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

    पक्राउ परेको दिन बराल चावहिल, डिल्लीबजार र कलंकी पुगेर ललितपुरको नापी कार्यालय आएका थिए ।

    विशेष सूचनाको आधारमा नापी कार्यालयका कर्मचारीसँग ‘बार्गेनिङ’ गर्दागर्दै बराललाई अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

    ठगी गरेरै भक्तपुरमा घर, विभिन्न ठाउँमा जग्गा

    ठगी गरेरै बरालले भक्तपुरमा घर बनाएको पाइएको छ भने विभिन्न ठाउँमा जग्गा जोडेको समेत भेटिएको छ ।

    नेपाल प्रहरीको नक्कली असईदेखि एसपीसम्म बन्न भ्याएका बरालले सरकारी कर्मचारीलाई धम्क्याएरै भक्तपुरमा घर बनाएको पाइएको छ ।

    पोल खुलेपछि यसरी पक्राउ परे

    बरालदेखि सरकारी कर्मचारी आजित भइसकेका थिए । बरालमाथि शंका भएपछि मालपोत कार्यालयमा कार्यरत एक कर्मचारीले बरालको शैलीबारे अख्तियारमा जानकारी गराए ।

    आयोगले पनि बराल सरकारी कर्मचारी नै हुनसक्ने आशंका गरेको थियो । जब अख्तियारले बराललाई पक्राउ गर्यो, तब बराल कुनै सरकारी कर्मचारी नभएको पोल खुल्यो ।

    ठगी उद्योगमा मुद्दा

    पक्राउ परेका बरालमाथि ललितपुर प्रहरीले ५ दिनको म्याद थप गरेर ठगी उद्योगमा मुद्दा चलायो । तर, ठगी गरेको प्रमाण नपुगेको भन्दै अदालतले बराललाई छाड्न आदेश दियो । जिल्ला अदालत ललितपुरको आदेश लगत्तै बराल साउन २३ गते २५ हजार धरौटीमा रिहा भएका छन् ।

    बरालले सजिलै छाड्लान् अब यो पेशा ?

    सानैदेखि लागेको बानी त्यति सजिलै कहाँ छुटाउन सकिन्छ र । त्यसमा झनै आर्थिक लेनदेनको कुरा । धन देखेपछि महादेवको त तीन नेत्र खुल्छ भन्ने उखान छ । लाखौँ रुपैयाँमा खेलिरहेका बराल अदालतको आदेशसँगै रिहा भएसँगै पुनः त्यही धन्दामा फर्किन्छन् या फर्किदैनन् । सबैको चासोको विषय छ ।
    मंगलबार रातोपाटीमा प्रकाशित सुजन पन्तको रिपोर्ट

    प्रतिकृया दिनुहोस्

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...

    शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने

    नेकपा(माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको भक्तपुर नगर समितिले नि:शुल्क दन्त शिविर...

    पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विष्टलाई पितृशोक

    नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. महेन्द्र विष्टलाई पितृशोक...

    भक्तपुरका जिसस प्रमुखको गुनासो – चार मेयर चार मुख गर्नुहुन्छ

    एचआईभी संक्रमित तथा लागुपदार्थ प्रयोगकर्ताहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा भक्तपुरका चार वटा नगरपालिकाले बेवास्ता गरेको...

    प्रेस सेन्टर काभ्रेमा नयाँ नेतृत्व

    काभ्रे । प्रेस सेन्टर नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । बनेपामा...