News Portal

  • क्यान्सर अस्पताल नगरपालिकाको कब्जामा,मेयरको अध्यक्षतामा बन्यो नयाँ व्यवस्थापन समिति

    भक्तपुर, ३१ साउन
    ९९३ पटक
    bhaktapur municipality भक्तपुर, ३१ साउन

    दुधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समिति भंग गरिएको छ । भक्तपुर नगरपालिकाले उक्त अस्पतालमा नयाँ व्यवस्थापन समिति बनाएको हो ।

    उक्त अस्पताल व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरुबाट नै आर्थिक अनियमितता र भ्रष्टाचार भन्दै नगरपालिकामा परेको उजुरी उपर जानकारी लिन खोज्दा पदाधिकारीहरु नगरपालिकाको सम्पर्कमा आउँन नमानेपछि नयाँ व्यवस्थापन समिति बनाउनुपरेको नगरपालिका स्रोतले बताएको छ । विहीवार नयाँ व्यवस्थापन समिति बनाइएको हो ।

    नगर कार्यपालिका बैठकले नगरपालिकाका प्रमुख सुनिल प्रजापतिकै अध्यक्षतामा भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति गठन गरेको भक्तपुर पोस्टलाई जानकारी प्राप्त भएको छ । भक्तपुर जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित संघीय साँसद प्रेम सुवाल र सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित साँसद सुरेन्द्रराज गोसाईलाई सल्लाहकारमा राखिएको बताइएको छ ।

    समितिमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, वडाध्यक्षहरु रविन्द्र ज्याख्व, उकेश कवां र श्यामकृष्ण खत्री सदस्य रहेका छन् ।त्यसैगरी नेपाल अर्वुद रोग निवारण संस्था, भक्तपुर शाखाका अध्यक्ष, भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिका अध्यक्ष र सोही समितिका महिला सदस्य, अस्पतालका मेडिकल डाक्टर प्रतिनिधि र कर्मचारी कल्याणकारी समितिका प्रतिनिधि पनि सदस्य रहेका छन् ।

    अस्पतालका मेडिकल डाइरेक्टर पदेन सदस्य सचिव रहने गरी बनाइएको उक्त समितिमा महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी उपरीक्षकलाई आमन्त्रित सदस्यको रुपमा चयन गरिएको छ ।

    क्यान्सर अस्पताल निर्माणका लागि नगरपालिकाको तर्फबाट ११ रोपनी जग्गा प्रदान गरिएको थियो । अस्पतालमा आर्थिक अनियमितता भइरहेको भन्दै संचारमाध्यममा समाचार आएका थिए ।

    अस्पताललाई व्यवस्थित ढंगबाट संचालन तथा विरामीहरुलाई स्तरीय उपचार सेवा प्रदान गर्न नयाँ समिति गठन गरिएको नगरपालिका प्रमुख सुनिल प्रजापतिले पुष्टि गरे । भक्तपुर क्यान्सर अस्पताल लाई अब नमूना अस्पताल बनाएर संचालन गर्ने उनको दावी छ ।

    कतिपय मानिसले भने यसलाई भ्रष्टाचारको बहाना बनाएर नेपाल मजदूर किसान पार्टीले अस्पताल कब्जा गर्न लागेको बताएका छन् । नगरपालिकामा नेमकिपाको एकाधिकार भएको भन्दै उनीहरुले शक्तिको दुरुपयोग गर्दै अस्पतालमा हात हालिएको आरोप लगाएका छन् ।

    नगर प्रमुख प्रजापतिले भने राम्रो काम गर्न अपजस लिनुपरे पनि आफू तयार रहेको बताए । आफू नेमकिपाको नेता भएपनि भक्तपुरको साझा मेयर भएको भन्दै उनले उक्त अस्पतालको अव्यवस्था र भ्रष्टाचार हटाउन नगरपालिकाले हस्तक्षेप गर्नुपरेको जिकिर गरे ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...