नेपालमै उत्पादन नहुने पाम आयल तथा सोयाबिन आयलको निर्यात ह्वात्तै बढ्दा मुलुकको समग्र निर्यात झन्डै १५ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७६/७७ को पहिलो ३ महीनामा नेपालको कुल निर्यात रू. २७ अर्ब १६ करोड पुग्नुमा मुलुकको आन्तरिक उत्पादनको निर्यातमा वृद्धि नभई आयातित यी दुई वस्तुको निर्यातको प्रमुख भूमिका रहेको छ ।
मुलुकको कुल निर्यातको झन्डै २७ प्रतिशत अंश पाम आयल र सोयाबिन आयलले ओगटेका छन् । समीक्षा अवधिमा रू. ७ अर्ब २६ करोड बराबरको पाम आयल र सोयाबिन आयल निर्यात भएको छ । नेपालको कुल निर्यातमा यी दुई वस्तुको निर्यात घटाउने हो भने रू. २० अर्ब बराबरको निर्यात भएको देखिन्छ, जुन अघिल्लो आवको सोही अवधिमा भएको निर्यातको तुलनामा रू. ३ अर्ब कम हो ।
यसले तेस्रो मुलुकबाट पाम आयल आयात गरी रिप्याकेजिङ गरी भारततर्फ निर्यात गरेकाले समग्र निर्यातमा सुधार आएको तर, आन्तरिक उत्पादन प्रवद्र्धन गरी निर्यात बढाउने सरकारी प्रयास अझै प्रभावकारी हुन नसकेको प्रस्ट्याउँछ । भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा रू. ५ अर्ब ७८ करोडको पाम आयल र रू. १ अर्ब ४८ करोडको सोयाबिन आयल नेपालबाट निर्यात भएको छ । जबकि सोही अवधिमा नेपालमा रू. ५ अर्ब ५४ करोडको पाम आयल र करीब रू. ४ अर्ब बराबरको सोयाबिन तेल आयात भएको छ ।
पाम आयलको आयात तथा भारततर्फ निर्यात आकाशिनुमा नेपालमा यसको आयात महसुल भारतभन्दा सस्तो हुनु र त्यसको फाइदा व्यापारीहरूले उठाउनु नै हो । सुपारी र मरीचमा जस्तै यसमा पनि नेपाली व्यवसायीले भारतको आयात नीतिको छिद्रमा खेल्दै भन्सार दर (ट्यारिफ डिफरेन्स) को फाइदा उठाएको स्पष्ट देखिन्छ ।
भारतले आशियान मुलुकबाट आयात हुने पाम आयलको भन्सार दर बढाएपछि त्यसको प्रत्यक्ष फाइदा नेपालका व्यवसायीहरूले उठाएको व्यवसायी आनन्द बगारियाले बताए । ‘भारतले नेपाललाई कृषिक्षेत्रमा दिँदै आएको छूटको प्रयोग गरेर पाम आयल निर्यात हुँदै आएको छ,’ उनले भने, ‘नेपालसहित बंगलादेश र श्रीलंकाले पनि यस्तै गरिरहेका छन् ।’ गत आवको आरम्भदेखि नै भारततर्फ पाम आयल र सोयाबिन आयलको निर्यात एकाएक बढ्न थालेको थियो । यसअघि भारत निर्यात नै नहुने पाम आयल तथा सोयाबिन आयलको भारत निर्यात गत आवमा क्रमशः रू. १० अर्ब ३३ करोड तथा रू. २ अर्ब ३४ करोड पुगेको थियो ।
नेपालमा पाम आयलको आयातमा भन्सार दर १० प्रतिशत तर भारतमा ४० प्रतिशत रहेको छ । यही, सस्तो भन्सार दरको फाइदा उठाउँदै साफ्टाको अधिकार प्रयोग गरेर भारतमा पाम आयल निर्यात भएको भन्सार विभागका अधिकारीहरूको भनाइ छ । पछिल्लो समय काश्मिरको मुद्दालाई लिएर मलेशिया तथा भारतबीच मतभेद बढ्दा भारतका पाम आयाल आयातकर्ताले मलेशियाबाट पाम आयल आयात नगर्ने वा कम गर्ने बताएका छन् । यदि त्यसो भएमा नेपालबाट भारततर्फ पाम आयलको निर्यात थप बढ्न सक्ने पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाको भनाइ छ । ‘त्यस अर्थमा आयातित पाम आयल र सोयाबिनले थेगेको निर्यातलाई दीर्घकालीन भन्न मिल्दैन,’ उनले भने ।
भन्सार विभागको तथ्यांक अनुसार यस आवमा नेपालमा पाम आयल मुख्यगरी इन्डोनेशिया, मलेशिया, पपुवा न्यूगिनी र सिंगापुरबाट आयात भएको छ । त्यस्तै सोयाबिन आयलको आयात अर्जेन्टिना, ब्राजिल, इन्डोनेशिया, पाराग्वे, मलेशिया, भारत, युक्रेन लगायत देशबाट भएको देखिन्छ ।
सरकारी अधिकारीहरूले निर्यातमा भएको वृद्धिले व्यापारघाटामा आएको सुधारलाई सकारात्मक बताइरहँदा वाणिज्य मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैंजू लामो समयसम्म चलेको व्यापारघाटाको चक्र ३ महीनाको तथ्यांककै आधारमा राम्रो भएको भन्न नसकिने बताउँछन् ।
आयात १०.३४ प्रतिशतले घट्यो
पहिलो ३ महीनामा मुलुकको समग्र आयात १० दशमलव ३४ प्रतिशतले घटी रू. ३ खर्ब ३४ अर्बमा सीमित भएको छ, जबकि अघिल्लो आवको यही अवधिको कुल आयात रू. ३ खर्ब ७३ अर्ब थियो । निर्यातमा भएको वृद्धि तथा आयातमा आएको कमीका कारण नेपालको वैदेशिक व्यापारघाटा १२ दशमलव शून्य २ प्रतिशतले खुम्चिएको छ । सरकारले व्यापारघाटा घटाउन ल्याएको योजना अनुसार आयात घटेको अर्थशास्त्री केशव आचार्यले बताए । उनका अनुसार स्वदेशी उद्योगको संरक्षण गर्ने लक्ष्यसहित अर्थ मन्त्रालयले विभिन्न वस्तुको भन्सार दर बढाउँदा तथा तयारी वस्तुको भन्सार दर बढ्दा त्यसको प्रभाव समग्र आयातमा देखिएको आर्थिक अभियानका निकेश खत्रीले खबर लेखेका छन् ।