News Portal

  • सैनिक मुख्यालय पुगेर प्रमुख प्रजापतिको प्रष्टोक्ति : जनताको सेवा बाहेक अर्को स्वार्थ छैन

    भक्तपुर, १९ मङ्सिर
    ३१०३ पटक
    भक्तपुर, १९ मङ्सिर

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति आफै भद्रकालीस्थित सैनिक मुख्यालय पुगेका छन् । उनी नेपाली सेनालाई नगरपालिकाको तर्फबाट उपहार दिन सैनिक मुख्यालय पुगेका हुन् ।

    बुधवार नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापालाई प्रमुख प्रजापतिले मयुरको झ्याल उपहार दिएका थिए । उक्त अवसरमा भक्तपुर नगरपालिकाका वडा अध्यक्षहरु र कर्मचारीहरु उपस्थित रहेका थिए भने सेनाका तर्फबाट रथीज्यू र उपरथी लगायतका पदाधिकारीहरु उपस्थित रहेका थिए । नगरप्रमुखकी प्रेस संयोजक कीर्तिका प्रजापतिका अनुसार भक्तपुरमा सेनाले गरेको सहयोग र सहकार्यको सम्मान स्वरुप उक्त उपहार प्रदान गरिएको हो ।

    मूक्यत : भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित सैनिक विद्यालय परिसर भित्र लोपोन्मुख अवस्थामा रहेको भक्तपुरको ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको रानी पोखरीको पुनर्जीवनका लागि जीर्णोद्धार कार्यमा नेपाली सेनाबाट भएको सहयोग र समन्वयप्रति आभार प्रकट गर्दै भक्तपुर नगरपालिकाको तर्फबाट ‘मयुर झ्याल’ उपहार प्रदान गरिएको बताइएको छ  ।

    बर्षौदेखि सेनाको कब्जामा रहेको उक्त पोखरी नगरप्रमुख प्रजापतिले सेनासंगको पहलमा नगरपालिका मातहत ल्याउन सफल भएका थिए । त्यसैगरी सेनाले प्रयोग गर्दै आएको सिद्धपोखरी छेउको खेल मैदान पनि सर्वसाधारणका लागि प्रजापतिकै पहलमा सेनाले खुला गरिदिएको हो । त्यतिमात्र होइन, नेपाली सेनाले भुकम्प लगायत प्रकोपका बेला पुर्याएको योगदान र भक्तपुरका युवालाई दिंदै आएको तालिम लगायतको सम्झना स्वरुप उपहार प्रदान गरिएको नगरपालिकाको भनाइ छ ।

    मयुरको झ्याल उपहार पाएपछि नेपाली सेनाका सेनापति दंग देखिए । नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले कलात्मक ‘मयुर झ्याल’ प्रदान गरेकोमा नेपाली सेनाको तर्फबाट धन्यवाद दिंदै भक्तपुरको मौलिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा जगेर्ना गर्न नेपाली सेना, स्थानीय नागरिकसँग सहकार्यका लागि सँधै तयार रहेको प्रतिवद्धता प्रकट गरे ।

    महारथी थापाले नागरिक र सेनाबीचको सम्बन्ध परापूर्वकालदेखि कायम रहेको र त्यो सम्बन्धलाई मजबुत पार्न भक्तपुर नगरपालिकाले खेलेको भूमिकाको प्रसंसा समेत गरेका थिए ।

    ” राष्ट्रिय सार्वभौमिकता र भू–अखण्डता रक्षाको निम्ति पनि युवा पुस्तालाई नेपालको इतिहास, संस्कृति, संस्कार र मौलिकताबारे सचेत बनाउन आवश्यक भएको छ ।” उनले भने । उक्त अवसरमा नेपाली सेनाले समेत भक्तपुर नगरपालिकालाई सैनिक चिन्ह अंकित उपहार प्रदान गरेको थियो ।

    उपहार आदान प्रदान कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशको सार्वभौमिकता रक्षाको मामिलामा आफूहरु अत्यन्त सचेत रहेको स्पष्ट पारे ।”हामी जनप्रतिनिधिहरुमा जनताको सेवाबाहेक अर्को कुनै स्वार्थ छैन ।” उनले भने ।

    प्रस्तुत छ नगर प्रमुख प्रजापतिको मन्तब्यको पूर्णपाठ

    नेपाली सेनाका प्रधान सेनापति, महारथी पूर्णचन्द्र थापाज्यू, रथीज्यू र उपरथी तथा सम्पूर्ण उपस्थित अधिकृतज्यूहरु,
    भक्तपुरबासी जनता र नेपाली सेनाबीच सुमधुर सम्बन्ध स्थापित गर्दै जाने उद्देश्यले नगरपालिकाको तर्फबाट मायाको चिनोस्वरुप प्रसिद्ध मयुर झ्याल उपहार प्रदान गर्न पाउँदा हामी ज्यादै खुशी छौं । यो उपहार २०७६ कार्तिक १७ गते नगरपालिकाद्वारा सञ्चालित विद्यालयस्तरीय खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममै प्रदान गर्ने योजना थियो ।

    भक्तपुर कला र संस्कृतिले भरिपूर्ण ऐतिहासिक र सांस्कृतिक नगर हो । १२ औंदेखि १५ औं शताब्दीसम्म नेपाल मण्डलको राजधानीसमेत रहेको भक्तपुरमा वास्तुकला, प्रस्तरकला र धातुकलाका उत्कृष्ट नमुनाहरु प्रशस्त पाइन्छ । समयक्रमसँगै कयौं मूर्त र अमूर्त कलाहरु लोप भएर गए भने कयौं लोपोन्मुख अवस्थामा छन् । हाम्रो कला र संस्कृति हाम्रो साझा सम्पत्ति हुन् । भक्तपुर नगरपालिकाले कला र संस्कृति संरक्षणमा उत्कृष्टता हासिल गर्दै आएको छ ।

    २०७२ सालको भूकम्पले भक्तपुरमा ठूलो धनजनको क्षति भयो । त्यतिबेला नेपाली सेनाले गरेको उद्धार कार्य अत्यन्त प्रशंसनीय छ । संकटको बेला सहयोग गर्ने नेपाली सेनालाई भक्तपुरका जनताले बिर्सने छैनन् ।

    विपद्को बेला कसरी नागरिकहरुलाई जोगाउन सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान गयो । नेपाली सेनासँगको समन्वयमा हामीले ३ वटा समूहमा १२२ जना युवाहरुलाई विपद् व्यवस्थापन तथा उद्धारको तालिम सम्पन्न गरिसकेका छौं । प्रत्येक महिनाको १ र १५ गते हुने नियमित सफाइ कार्यक्रममा पनि समय समयमा नेपाली सेनाका जवानहरुको सहभागिताले सफाइमा नमुना नगर बनाउने हाम्रो योजनामा थप मनोबल बढाएको छ ।

    भूकम्पले करिब ८ हजार घर र ११५ भन्दा बढी सम्पदाहरु बिग्रेकोमा निजी घरहरु र सम्पदाहरुको पुनःनिर्माण तीव्र गतिमा भइरहेको छ । भक्तपुर नगरपालिकाले हालसम्म ९१ वटा सम्पदाहरु पुनःनिर्माण सम्पन्न गरिसकेको छ भने डेढ दर्जनभन्दा बढी सम्पदा निर्माणाधीन अवस्थामा छन् ।

    भक्तपुरको रानीपोखरी निर्माणाधीन सम्पदाहरु मध्ये एक हो । नेपाल संवत् ७५० (बि.सं. १६८७) मा राजा जगज्योति मल्लको पालामा बनेको उक्त पोखरी काठमाडौंको रानी पोखरीभन्दा ४० वर्ष पुरानो इतिहास छ । लामो समयदेखि जीर्ण अवस्थामा रहेको उक्त पोखरीले सांस्कृतिक र धार्मिक महत्व पनि बोकेको छ । वरिपरि कुल देवता र देवाली पूजा गर्ने महत्वपूर्ण थलो पनि हो – रानीपोखरी ।

    आजभन्दा ठीक ८ महिनाअघि २०७६ मंसिर १८ गते हामीले प्रधान श्री सेनापति पूर्णचन्द्र थापाज्युसँग भेट्ने अवसर पायौं । त्यतिबेला हामीले उक्त ऐतिहासिक पोखरी जीर्णोद्धारबारे छलफल ग¥यौं । उहाँले सकारात्मक सन्देश दिनुभयो । २०७६ जेठ १ गते लिखित रुपमै उक्त ऐतिहासिक रानी पोखरी जीर्णोद्धार र संरक्षणको साथै सर्वसाधारण जनताको लागि खुला गर्ने पत्र प्राप्त भयो । यसलाई जनता र सेनाबीचको सम्बन्धको एउटा महत्वपूर्ण पाइलाको रुपमा लियौं ।

    भक्तपुर नगरपालिकाले रानी पोखरीको नापजाँच, नक्सा तयार गरी ल.इ. पास गरी जीर्णोद्धार कार्य थालनी ग¥यो । हाल रानी पोखरीले मौलिक स्वरुप ग्रहण गर्दैछ । आजभन्दा झण्डै चार सय वर्षअघिको स्वरुपमा निर्माण गर्न भक्तपुर नगरपालिका लाग्दैछ । त्यहाँकोबारे अध्ययन अनुसन्धानको लागि संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा समिति गठन गरी कार्य भइरहेको छ । उत्खनन्को क्रममा प्राप्त हुने पुरातात्विक महत्वका वस्तुहरुको रेकर्ड राख्दै छिटै नै त्यसबारे प्रतिवेदन बुझाउने तयारी भइरहेको छ ।

    सिद्धपोखरी उत्तरतर्फको खेलमैदानमा सर्वसाधारण जनताले खेल्न पाएका छन् । मैदानको वरिपरि तारजाली राखी मैदान निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ । च्वङा गणेश मन्दिर परिसर ऐतिहािसक, सांस्कृतिक र धार्मिक महत्वको भएकोले उक्त स्थानमा स्थानीय जनताले सेनासँगको समन्वयमा भौतिक संरचना निर्माण र सरसफाइ तथा संरक्षण गर्दै आएका छन् । पुनःनिर्माण कार्यको सिलसिलामा सेनाबाट कहिलेकाहीं अवरोध सिर्जना गरेको गुनासो आउने गरेको छ । जनताको आस्थाको केन्द्रको रुपमा रहेको त्यस्ता ठाउँहरुमा कहींकतैबाट बाधा अवरोध नपु¥याई दिन हाम्रो अनुरोध छ ।

    प्रधान सेनापतिज्यूलगायन रथी उपरथीज्यूहरु,
    भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा पनि उत्कृष्टता हासल गर्दै आएको छ । ६ वटा शिशु स्याहार केन्द्र, २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थाहरु सञ्चालन गरेर देशभरका जनताको सेवा गर्दै आएको छ । घरदैलो नर्सिङ सेवा प्रदान गर्ने देशको एक मात्र नगरपालिका भक्तपुरले सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
    देशको सार्वभौमिकता रक्षाको मामिलामा हामी अत्यन्त सचेत छौं । संसद, प्रदेश सभा, स्थानीय तह र सेना सबैको उद्देश्य देश र जनताको सेवा हो । हामी जनप्रतिनिधिहरुमा जनताको सेवाबाहेक अर्को कुनै स्वार्थ छैन ।

    भक्तपुरको प्रख्यात मयुर झ्यालले जनता र सेनाबीचको सुमधुर सम्बन्धलाई निरन्तरता दिइरहने हाम्रो विश्वास छ । यो अवसरमा प्रधानसेनापति र रथी तथा उपरथीहरुमा खुशी व्यक्त गर्दै यसको अवसर जुटाइ दिने मेजर जर्नेल अनन्त कार्की र कर्णेल शिवप्रसाद पौडेललगायतका पदाधिकारीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।

     

    प्रतिकृया दिनुहोस्

    घिमिरे गाउँमा भेटिएको शवको पहिचान, हत्या आरोपमा सुडालका एकसहित २ जना सार्वजनिक

    भक्तपुरको सीमाना संगै जोडिएको काभ्रेको बनेपा १ स्थित घिमिरे गाउँमा आइतवार बिहान मृत अवस्थामा भेटिएका...

    आज बर्षाको सम्भावना

    नेपाल र भारतको बिहार त्था पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले सोमबार देशभर...

    बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक छैन : विप्लव

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक नरहेको बताएका छन् ।...

    शिक्षकले राजनीति गर्न पाउनुपर्छ र एसईई पनि हटाउनु हुँदैन : प्रेम सुवाल

    prem suwal

    भक्तपुर १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शिक्षा बिधेयकमा उल्लेख शिक्षकले राजनीति गर्न नपाउने...

    प्रधानमन्त्रीको चीन भ्रमणले समृद्धिका लागि सम्भावनाको नयाँ ढोका खोल्यो : माओवादी केन्द्र

    नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले विश्वासको वातावरण बनाउँदै...