News Portal

  • नयाँ भवन पाएपछि विद्यार्थी भन्छन्– अब त ठूलो हावा चल्दापनि स्कूल विदा हुँदैन !

    भक्तपुर, २२ मङ्सिर
    ११४३ पटक
    भक्तपुर, २२ मङ्सिर

    जीवनज्योति मावि पालुङटार–८ च्याङ्ली गोरखामा कक्षा १० मा अध्ययनरत् छात्रा विवेचना देवकोटाको आज खुसीले भूँईमा खुट्टा छैन । उनी फुरुङ्ग छिन् । उनको खुसीको कारण परीक्षामा नम्बर बढी आउनु होइन । नत शिक्षकको स्याब्बासी नै हो । उनी खुसी हुनुको कारण हो– उनको विद्यालयको भवन नयाँ बन्नु ।

    २०७२ मा गएको भूकम्पले विद्यालयको भवन ध्वस्त बनाएपछि जस्ताको टहरामा पढ्दै आएकी उनलाई अब नयाँ भवनमा पढ्न पाउने भएपछि खुसी बनाएको हो । अब पानी पर्दा जस्ताको छाना बज्दैन र भूँइमा हिलो पनि हुँदैन– उनले खुसी हुनुको कारण खोल्दै भनिन्, अब ठूलो हावा चल्दा स्कूल विदा हुँदैन ।

    कक्षा ८ का छात्र आशिष कुमाल पनि विद्यालयमा नयाँ भवन बनेकामा औधी खुसी देखिन्छन् ।’ जस्ताको टहरामा पढ्दा घाम पानीमा त समस्या हुन्थ्यो नै एउटा कक्षामा पढाएको आवाजले अन्य कक्षामा पनि डिस्टर्व हुन्थ्यो । अब त नयाँ भवनमा राम्रा डेस्कबेञ्चमा पढ्न पाइने भयो ।’ कुमालले भने ।

    कक्षा ५ का छात्र अजय थापा मगर पनि विद्यालयमा नयाँ भवन बनेपछि आफूले भूकम्प नै बिर्सिएको बताउँछन् । ‘चर्केकै भवन अगाडि जस्ताको टहरोमा पढ्दा सधैँ भूकम्पले झस्काइरहन्थ्यो’– मगरले भने, ‘अब त भूकम्पको डर छैन’ । कक्षा ३ की छात्रा विनिसा माझी पनि नयाँ भवनमा पढ्न पाउने भएकामा खुसी देखिन्थिन् । उनले नयाँ कक्षामा आफूले बस्ने डेस्कसमेत रोजिसकेको बताइन् ।

    अभिभावक पम्फा विकले पनि जस्ताको टहरामा पढ्दा विद्यार्थीहरुले किलामा अड्काएर ड्रेस च्यात्ने, पानी पर्दा हिलोमा लड्ने गरेकामा अब नयाँ भवन बनेपछि खुसी लागेको बताइन् ।

    यी सबैको खुसीको कारण बनेको विद्यालयको नयाँ अत्याधुनिक भवन शुक्रवार निर्माणपश्चात् भव्य कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको छ । ४ वर्ष देखि जस्ताको अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयलाई जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) गोरखाले नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको हो ।

    जापान सरकारको ऋण सहयोगमा केन्द्रिय आयोजना कार्यान्वयन इकाई(शिक्षा)ले करिब ७ करोड ५० लाख लागतको ३ तलाका ३ ब्लक सहितको २४ कोठे नयाँ भवन भव्य समारोहका बीच विद्यालयलाई हस्तान्तरण गरेको हो । नयाँ भवन बालमैत्री, अपाङ्गमैत्री हुनका साथै भवनमा इसिडि कक्षा, कम्प्युटर ल्याव, लाइब्रेरी, किचेन र सोलार प्रणाली जडान गरिएको छ । साथै, अत्याधुनिक शौचालयसमेत निर्माण गरिएको छ । निर्माण कम्पनी एमबि, गौरी पार्वती जेभिले १८ महिनामा भवन निर्माण सम्पन्न गरेको हो ।

    २०७२ सालको विनासकारी भूकम्पको केन्द्रबिन्दु गोरखामा अवस्थित विद्यालयको भवन भूकम्पले पूर्ण ध्वस्त बनाएपछि विद्यार्थीहरु जस्ताले छाएको र बारेको अस्थायी टहरामा पढ्दै आएका थिए । जसले गर्दा घाम र पानीले पठन–पाठनमा समस्या पार्दै आएको थियो । पटक–पटक हुरी बतासले छाना उडाउँदा पढाइ नियमित हुन समेत समस्या थियो ।

    नवनिर्मित भवनको साँचो निर्माण कम्पनीका इञ्जिनियर निशान अधिकारीले पालुङटार नगरपालिकाका नगर प्रमुख दिपकबाबु कँडेललाई र कँडेलले वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

    विव्यस अध्यक्ष श्रेष्ठले भवनको साँचो विद्यालयका प्रधानाध्यापक बद्री पाण्डेलाई हस्तान्तरण गरेका थिए । लगत्तै नवनिर्मित भवनको समुद्घाटन प्रमुख अतिथि एवं नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेका थिए ।

    नवनिर्मित विद्यालय भवन समुदघाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले सार्वजनिक शिक्षाको सुदृढीकरण नै मुलुकसमृद्धिको आधार रहेको बताए । भूकम्पले भत्केका विद्यालयहरु जर्याकजुरुक उठ्न थालेका भन्दै जीवन ज्योती माविले अब जीवनउपयोगी शिक्षाको ज्योती छर्नुपर्ने बताए ।

    विद्यालयलाई अझै ४–५ कोठा र शौचालय अपुग रहेकाले त्यसको निर्माणका लागि पहल गर्ने भन्दै प्रवक्ता श्रेष्ठले विद्यालयमा सूचनाप्रविधियुक्त सिकाइका लागि सहयोग गर्न सूचना प्रविधि मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता जनाए । अब विद्यालयलाई जीवनपयोगी शिक्षा र प्रविधियुक्त सिकाइ केन्द्र बनाउन आफू जुट्ने उनको भनाइ थियो ।

    पालुङटार नगरपालिकाका नगरप्रमुख दिपकबाबु कँडेलले सार्वजनिक विद्यालयको गुणस्तर सुधार गरी अभिभावकको पहिलो रोजाइको बनाउनुपर्नेमा जोड दिँदै सिकाइलाई विज्ञान प्रविधि, सीप र रोजगारीसँग जोड्नुपर्ने बताए । सूचना प्रविधियुक्त सिकाइको विकल्प नभएको भन्दै उनले विद्यालयमा विज्ञान प्रयोगशाला र सूचना प्रविधिको विकासका लागि सहयोग गर्ने आश्वासन दिए ।

    पालुङटार नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष गोबिन्द बराकोटीले इकाईले बनाइदिएको नयाँ भवनको संरक्षण गर्दै यसमा विद्यार्थी भर्ने र उनीहरुलाई गुणस्तरीय शिक्षा दिने जिम्मा नगरपालिकाले लिने बताए । भौतिक पूर्वाधारको समस्या समाधान पछि अब विद्यालयलाई नमूना बनाउने दिशामा आफूहरुको ध्यान केन्द्रित रहेको उनको भनाइ थियो । नगरपालिकाबाट विद्यालयलाई सबैखाले सहयोग गर्न आफू तयार रहेको भन्दै उनले स्थानीय अभिभावकहरुलाई सामुदायिक विद्यालयमै छोराछोरी पढ्न पठाउन आग्रह गरे ।

    यस्तै, विद्यालयलाई नयाँ भन हस्तान्तरण गर्दै आयोजना इकाई प्रमुख विष्णुप्रसाद मिश्रले भूकम्पले भवनसँगै भत्काएका विद्यार्थी, शिक्षक र अभिभावकका मनहरु भवनको पुनर्निर्माणसँगै पुनर्निर्माण हुने आशा व्यक्त गरे । अब नयाँ बनेको भवनको संरक्षण गर्ने र यसमा विद्यार्थी भर्ने र गुणस्तरीय शिक्षा दिने काम स्थानीय सरकार र विद्यालय परिवारको भएको उनको भनाइ थियो । गोरखामा विद्यालय पुनर्निर्माण पछिल्लो दिनमा दु्रत गतिमा अगाडि बढीरहेको भन्दै मिश्रले सार्वजनिक शिक्षाको सवलीकरणमा सबैपक्ष एक भएर लाग्नुपर्ने औंल्याए । ‘अब केही समयपछि कोही पनि बालबालिका अस्थायी टहरामा पढ्नु पर्दैन ।’ उनले भने ।

    वडानम्बर ७ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तकुमार श्रेष्ठले नवनिर्मित विद्यालय भवनको रेखदेख गर्ने र त्यसमा विद्यार्थी भराउने जिम्मा आफुहरुको भएको बताए ।

    विद्यालयका प्रधानाध्यापक बद्री पाण्डेले नयाँ भवनले आफूहरुको भूकम्पको पीडा भुलाएको बताए । ‘ठूलो हावा चल्नसाथ र ठूलो पानी पर्न साथ विद्यालयमा पठनपाठनमै समस्या हुन्थ्योे’, प्रअ पाण्डेले भने– अब विद्यालय नियमित सञ्चालन गर्न कुनैसमस्या नहुने भो ।

    प्रअ पाण्डेले हाल विद्यालयमा इलाइब्रेरी र अडियो भिजिवल कक्षा रहेको भन्दै आगामी दिनमा अझै सूचनाप्रविधियुक्त सिकाइ गर्ने योजना सुनाए । भौतिक पूर्वाधारको विकास सँगै अब विद्यालयको सम्पूर्णध्यान शैक्षिक सुधारमा केन्द्रित रहेको भन्दै प्रअ पाण्डेले अझै ४–५ वटा कक्षाकोठा, स्टाफ शौचालय, कम्प्टर र स्मार्टबोर्ड आवश्यक रहेको बताए । भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले आगामी दिनमा समेत सहयोगको अपेक्षा व्यक्त गरे ।

    कार्यक्रममा वडानम्बर ८ को छिमेकी विद्यालय अकला माविका प्रअ राजेन्द्र अमगाईले पनि नयाँ भवन पाएकामा बधाइ दिँदै भवनमा भवनजस्तै सुन्दर शिक्षण सिकाइ गर्न शुभकामना दिएका थिए ।

    विद्यालयमा हाल इसिडि देखि कक्षा १२ सम्म ८८० विद्यार्थी अध्ययनरत छन् । नयाँ भवन हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरुसमेत प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...