News Portal

  • साइबर अपराध पीडित : महिला र किशोरी बढी

    भक्तपुर, २६ मङ्सिर
    १२७३ पटक
    भक्तपुर, २६ मङ्सिर

    करिब एक महिनाअघिको कुरा हो। अछामका २१ बर्से पुरन तिमल्सिना साइबर अपराधमा समातिए। भारतमा बस्ने उनले आफ्नै गाउँकी एक युवतीको ‘फेक’ फेसबुक अकाउन्ट खोले। युवती र उनका बुवाको फोटोमा अश्लील फोटो जोडेर म्यासेन्जरमा युवतीका आफन्तलाई पठाउन थाले। काठमाडौंमा पढ्दै गरेकी युवतीलाई उनीमाथि शंका लागेपछि प्रहरीमा उजुरी गरिन् र तिमल्सिना समातिए।

    सामाजिक सञ्जाल दुरुपयोग गर्दा समातिनेमा काठमाडौंमै बस्दै आएका ३८ बर्से शिवहरि थापा पनि पर्छन्। फेसबुकमार्फत् उनको २० वर्षीया युवतीसँग चिनजान भयो। सम्बन्ध अघि बढ्दै गएपछि उनले युवतीसँग बिहेको प्रस्ताव राखे र भेट्न बोलाए। युवती संखुवासभादेखि काठमाडौं आइन्। बौद्धको होटलमा भेट भयो। सँगै बसेका केही तस्बिर मोबाइलमा खिचे। आफूभन्दा थापा १८ वर्ष जेठा भएको थाहा पाएपछि युवतीले सम्बन्ध अघि बढाउन चाहिनन्। थापा त्यसको प्रतिशोध लिन चाहन्थे। उनले युवतीको फेक फेसबुक आईडी बनाएर युवती सँगै बसेका तस्बिर पठाउन थाले। यस्तो गरेकोमा उनी अहिले कारागारमा छन्।

    कपिलवस्तुका २६ बर्से अकबर अलि मियाँले अपत्यारिलो साइबर अपराध गरे। सामान्य मजदुरी गर्ने उनले आमाको नामबाट सिमकार्ड किनेर एक महिलालाई राति १२ बजे फोन गरे। महिलाले चिन्न अस्विकार गरेपछि उक्त महिलाको टाउको अश्लील फोटोमा जोडेर म्यासेजमा पठाउँदा उनी समातिए।

    सामाजिक सञ्जाल दुरुपयोग गरेर समातिनेमा बर्दिया घर भएका १७ वर्षीय भैरव विष्ट पनि हुन्। छानबिनमा विष्टसँग ५ वटा फेसबुक आईडी भएको पाइयो। उनले गृहजिल्लाकी १४ वर्षीया किशोरीको नाममा फेसबुक आईडी बनाएका थिए। त्यसपछि ती किशोरीको टाउको पोर्न फोटोमा जोडेर फेसबुक प्रोफाइलमा पोस्ट गरेका थिए। उनी बालिग भएकाले उनलाई सुधारगृहमा राखिएको छ।

    महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार सम्बन्ध राम्रो रहेसम्म शारीरिक सम्बन्ध बनाउने र बिग्रिएपछि त्यही सम्बन्ध सामाजिक सञ्जालबाट सार्वजनिक गरी चरित्र हत्या गर्ने प्रवृत्ति बढेको छ। यस्ता अपराधमा प्रायः किशोरकिशोरी संलग्न भएको पाइन्छ। तर साइबर अपराधमा सबै उमेर समूहका व्यक्तिले गरेको तथ्यले औंल्याउँछ। डीएसपी बोगटी भन्छन्, ‘सम्बन्ध बिग्रिएपछि प्रतिशोध लिन पीडकले वैवाहिक सम्बन्धसमेत टुटाइदिने गरेका छन्।’

    काठमाडौं प्रहरी कार्यालय टेकुमा ०७५/७६ मा १ सय ५२ साइबर क्राइमका उजुरी दर्ता छन्। ०७६ साउनमा १६ र भदौमा १७ उजुरी दर्ता भए। यीमध्ये अधिकांश सामाजिक सञ्जालसम्बन्धी अपराध छन्। प्रहरीमा दर्ता उजुरीका आधारमा सामाजिक सञ्जालको दुरुपयोग गरि भएका अपराधमा महिला र युवतीको चरित्र हत्या बढी छन्। अपराध गर्नेमा महिलासमेत छन्। तर महिलाले यस्तो अपराध प्रायः महिलामाथि नै गरेको देखिन्छ।

    भदौमा यस्तै साइबर अपराध भयो। ओखलढुंगाकी १४ वर्षीया निशा राई आफ्ना दिदीहरूसँग काठमाडौंमा बस्दै आएकी थिइन्। विदेशमा भएको केटा साथीले अन्य युवतीसँग कुरा गर्ने थाहा पाएपछि उनले उक्त युवतीको फोटो फेसबुकबाट तानिन्। फोटोसँगै उनले ती युवती यौनकर्मी भएको र रातको ५ सय मात्र लिने भन्दै फेसबुकमा विज्ञापन हालिदिइन्। यसको उजुरी परेपछि उनलाई प्रहरीले समातेर सुधारगृह पठाएको छ।

    डीएसपी बोगटीका अनुसार सामाजिक सञ्जाल प्रयोग गरी पैसामा बार्गेनिङसमेत हुँदै आएको छ। महिलाले महिलाकै चरित्र हत्या गरे पनि पछिल्ला ९ महिनामा सामाजिक सञ्जाल प्रयोग गरेर कुनै पुरुषको चरित्र हत्या भएको उजुरी परेको छैन। साइबर अपराधमा धेरैजसो पीडक पुरुष नै देखिन्छन् भने महिला र किशोरी पीडित छन्।

    प्रायः शिक्षित युवावर्ग नै सामाजिक सञ्जालको गलत प्रयोग गर्छन्। मापसे गरेको बेला र लागुऔषधको प्रयोगबाट पनि यस्ता अपराध भएको डीएसपी बोगटी बताउँछन्। मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी कुनै पनि अवस्थामा कसैको चरित्र हत्या गर्दा कानुनी दण्डको भागिदार बन्ने बताउँछिन्। ‘प्रविधिको नाममा कसैको जीवन नै समाप्त पारिदिनु ठीक होइन,’ उनी भन्छिन्।

    साइबर अपराध बढ्दो छ। नेपाल प्रहरी साइबर ब्युरोको सर्वेक्षणअनुसार नेपालमा हुने यस्ता अपराध विकसित देशको जस्तै छ। त्यसमाथि सामाजिक सञ्जालबाट हुने अपराधको संख्या प्रतिदिन बढ्दो छ। यसबाट महिला नै धेरै पीडित देखिन्छन्।

    राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिमल्सिना सूचनामा पहुँच नहुनुलाई साइबर अपराधको प्रमुख कारण मान्छिन्। ‘नेपाली महिलालाई प्रविधिको उचित प्रयोगबारे जानकारी छैन,’ उनले भनिन्, ‘शिक्षा नीति समयसापेक्ष नहुनु पनि एउटा मुख्य कारण हो।’ सचेत नहुँदा महिला पीडित हुनु परेको उनको भनाइ छ।

    साइबर क्राइम, देशभरिको तथ्यांक, प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीको तथ्यांकअनुसार वेभसाइट ह्याक, फेक फेसबुक आईडी, यूट्युब अपलोड र इमोबाट साइबर अपराध बढी भएका छन्। यीमध्ये फेक आईडी बनाएर गरेका अपराध धेरै छन्।

    प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ५, गण्डकीको पोखरा, कर्णालीको सुर्खेत, सुदूरमश्चिमको कैलाली, हेलो सरकार र साइबर ब्युरो भोटाहिटी गरी देशभरिका प्रमुख ९ प्रहरी कार्यालयबाट प्राप्त तथ्यांकका आधारमा ०७५/७६ मा ३ सय ५७ साइबर अपराधका उजुरी परेको छ। यसमध्ये फेक आईडी बनाएका ३ सय ४३ उजुरी छन्।

    प्रदेश १ को विराटनगर प्रहरी कार्यालयमा सबैभन्दा बढी ५२ वटा फेक आईडी अपराधका उजुरी दर्ता छन्। साइबर ब्युरो भोटाहिटीमा यस किसिमका १ सय १६ उजुरी दर्ता छन्। साइबर अपराधमा १८ वर्षभन्दा मुनिका १३ र त्यसभन्दा माथिका ३ सय ४४ जना छन्।

    यस वर्ष साउनमा मात्र देशैभरिबाट १ सय ४० वटा साइबर अपराधका उजुरी परे। जसमध्ये १ सय २७ मा पीडित महिला छन्। तीमध्ये अधिकांश सामाजिक सञ्जाल दुरुपयोग गरी चरित्र हत्याका घटना धेरै छन्।

    यो संख्या बढेर भदौमा २ सय १५ पुग्यो। विवरणअनुसार साउन र भदौ दुई महिनामा नै साइबर क्राइमका ३ सय ५५ उजुरी परेको देखिन्छ। यो ०७५÷७६ को १२ महिनामा परेका उजुरी बराबर हो। महिनैपिच्छे यसै गरी उजुरी परे यस वर्षको अन्त्यसम्म साइबर क्राइमका उजुरी २ हजारभन्दा बढी पर्ने देखिन्छ। अन्नपुर्णपोस्ट

    प्रतिकृया दिनुहोस्

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...

    सिडिओ छोडेर भक्तपुरको प्रमुख प्रशासकीय अधिकृतमा भट्टराई

    निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन्...

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...