भक्तपुर प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ । भक्तपुर नगरपालिका ९ च्याम्हासिंह बस्ने ४८ वर्षीय गंगा प्रसाद प्रजापतिलाई चक्कु प्रहार गर्ने ३ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका वडा नम्बर ३ बंशगोपाल बस्ने बर्ष १९ को राम शेखर शिलाकार र सोही ठाउँ बस्ने बर्ष १९ कै समिर मंक र सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका वडा नं ६ घर भई हाल बोडे बस्ने बर्ष १९ कै प्रबिण बस्नेत रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी इन्स्पेक्टर पन्चलाल गोलेले जानकारी गराए ।
इन्स्पेक्टर गोलेका अनुसार विवाहको जन्त गई फर्कन लागेका प्रजापतिलाई गत २५ गते राती अन्दाजी ९ बजेको समयमा भक्तपुर नगरपालिका १० स्थित कमलबिनायक बसपार्क नजिक शेखर र समिरसहितले चक्कु प्रहार गरी गम्भिर घाईते बनाई फरार भएका थिए । विशेष सूचनाको आधारमा प्रहरीले २८ गते च्याम्हासिंह स्थित सडकखण्डबाट उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।
”उनीहरु उपर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी ५ दिन म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको छ ।” इन्स्पेक्टर गोलेले भने । उनका अनुसार चक्कु प्रहारमा परेका प्रजापतिको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।