News Portal

  • लक्ष्यअनुरुपको आदर्श नगर बन्दै भक्तपुर

    इभक्तपुर संवाददाताभक्तपुर, १४ पुस
    १३८० पटक
    भक्तपुर, १४ पुस

    भक्तपुर नगर आदर्श नगरको रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्यअनुरुप अगाडि बढिरहेको बताइएको छ ।

    भक्तपुर नगरपालिकाको सभाकक्षमा सोमबार सम्पन्न भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भनपा प्रमुख सुनिल प्रजापतिले नेपाल भ्रमण वर्ष २०२० बारे भनपाका महत्वपूर्ण कार्यक्रमहरुबारे अवगत गराए । सोहि कार्यक्रममा भक्तपुर नगरलाई आदर्श नगरको रुपमा विकास गर्ने लक्ष्यअनुरुप नगरपालिका अगाडि बढिरहेको बताए ।

    मौलिक बस्तु र सँस्कृति संरक्षण गर्न भनपाले नगरबासीहरुलाई उत्साहित गरिरहेको बताउदै उनले भक्तपुर नगरलाई सफा र सुन्दर बनाउने परिकल्पना गरेको बताए । प्रमुख प्रजापतिले नगरपालिकाले ख्वप अस्पताल, छात्ती पुनःस्थापना केन्द्र स्थापना गरेको, पर्यटकहरुलाई सामान किन्न सहज गराउनको लागि कोसेली घर निर्माणको लागि नक्सा डिजाइन गरेको, नगरको मुख्य मुख्य क्षेत्रमा गाडी निषेध गरी ढुड्डा छपाई गरेको, साँस्कृतिक नगरको मौलिक सँस्कृतिलाई जीवन्तता प्रदान गर्ने लगायत साँस्कृतिक गुरुहरुको सम्मान र नयाँ पुस्तालाई साँस्कृतिक सीप हस्तान्तरण गर्न प्रशिक्षणहरुको आयोजना गरिरहेको जानकारी दिए ।

    पत्रकारहरुको जिज्ञासा माथि प्रष्ट पार्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले सार्वजनिक शौचालयहरु आन्तरिक पर्यटकका साथसाथै स्थानीयवासीको प्रयोगका लागि बनाएको तर विदेशीहरुलाई पनि सहज होस् भन्ने हिसाबले स्तरीय शौचालय निर्माण गरिएको बताउदै स्तरीय पुस्तकालयको व्यवस्थान गर्न जनज्योती पुस्तकालयलाई ई–लाइब्रेरीको रुपमा स्तरोन्नति गर्ने सोच रहेको उले बताए ।

    उहाँले नेपाल भ्रमण वर्ष २०२० भित्र २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य चुनौतीपूर्ण भएको बताउँदै भक्तपुर नपाले वर्षौदेखि जीर्ण अवस्थामा रहेको पोखरीहरुको पुनःनिर्माण कार्य गरिरहेको बताए । कार्यक्रममा उपप्रमुख रजनी जोशीले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आयोजित कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्दै पुष १५ गते हुने सन्ध्याकालीन पदयात्रा र पुष १६ गते प्रभातफेरी कार्यक्रममा सहभागिताको लागि आव्हान गर्दै नयाँ वर्ष जनवरी १ का दिन नगर प्रवेश गर्ने पहिलो पर्यटक टोलीलाई स्वागत गर्ने कार्यक्रम रहेको जानकारी गराइन। कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष एवं वातावरण तथा पर्यटन समितिका संयोजक रबिन्द्र ज्याख्वले पनि बोलेका थिए ।

     

    भक्तपुर नगर प्रमुखले पत्रकार बोलाएर दिए यस्तो बिज्ञप्ती

    पत्रकार मित्रहरु,
    नेपाल पर्यटकीय दृष्टिले संसारको उत्कृष्ट गन्तव्यस्थलमध्ये एक हो । विश्व सम्पदा सूचीमा सूचिकृत अद्वितीय र अनुपम सम्पदाहरु नै पर्यटकीय आकर्षण हुन् । काठमाडौं उपत्यकाभित्र थोरै दुरीमा सातवटा विश्व सम्पदाहरु छन् । त्यसमध्येको एक हो भक्तपुर दरबार क्षेत्र ।
    भक्तपुर कला र संस्कृतिले सम्पन्न नगर हो । दरबार क्षेत्र, टौमढी क्षेत्र र दत्तात्रय क्षेत्र भक्तपुरका विशेष आकर्षणका केन्द्रहरु हुन् । हाम्रा थुप्रै सम्पदाहरु लोप भइसके भने कयौं लोपोन्मुख अवस्थामा छन् । कुनै पनि सम्पदा लोप हुनु देशकै लागि अपुरणीय क्षति हो ।
    ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ नारा दिएर भक्तपुर नगरपालिकाले कला र संस्कृतिको संरक्षणमा जोड दिइआएको छ । हाम्रा पूर्खाहरुले सयौं वर्ष अगाडि निर्माण गरेका ५५ झ्याले दरबार, ङातापोल मन्दिर, सुनढोका, भैरवनाथको मन्दिरलगायत पाटी–पौवा, ढुंगेधारा, पोखरी, सत्तल, बिहारजस्ता थुप्रै सम्पदाहरु अझै पनि जीवन्त छन् । हाम्रा पूर्खाले सिर्जेका ती सम्पदाहरुको दृश्यावलोकन गर्न वार्षिक संसारभरका लाखौं पर्यटकहरुले भक्तपुर भ्रमण गर्ने गर्छन् ।

    भक्तपुर नगरपालिका भक्तपुरलाई शिक्षा, स्वास्थ्यमा उत्कृष्ट, सरसफाइमा नमुना, कला संस्कृति संरक्षित एक आदर्श नगर र पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न जोड दिंदैछ । २०७२ सालको विनासकारी भूकम्पले भक्तपुरका ८ हजार घर र ११५ भन्दा बढी सम्पदाहरुमा क्षति पु¥यायो । ती सम्पदाहरु विदेशीको सहयोगविना भक्तपुर नगरपालिकाले पुनःनिर्माण वा जीर्णोद्धार गर्दैछ । सम्पदाहरुको पुनःनिर्माण वा जीर्णोद्धार गर्दा प्राचीन प्रविधिबाट जनताको सहयोगमा मौलिक स्वरुपमा निर्माण गर्नु भक्तपुर नगरपालिका उत्तम विकल्प ठान्छ । हालसम्म नगरपालिकाले क्षतिग्रस्त सम्पदाहरुमध्ये ९१ वटा पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरी सक्यो भने डेढ दर्जन निर्माणाधीन अवस्थामा छन् । हामी छिटै नै क्षतिग्रस्त सम्पदाहरु पुनःनिर्माण वा जीर्णोद्धार गर्न चाहन्छौं तर आर्थिक र प्राविधिक कारणले अत्यन्तै महत्वपूर्ण सम्पदाहरु दरबार क्षेत्रस्थित कला संग्रहालय रहेको भवन, पहिले नगरपालिका रहेको थन्थु दरबार, दत्तात्रयस्थित पुजारी मठलगायतका सम्पदाहरु पुनःनिर्माण गर्न सकिरहेका छैनौं । यसबारे केन्द्र सरकारको ध्यानाकर्षण गर्दैछौं ।

    पत्रकार मित्रहरु,
    आर्थिक वर्ष २०७६÷७७ साउनदेखि मंसिरसम्मको ५ महिनाको अवधिमा गैरसार्क पर्यटक ६६,८६० जना र चिनिया“ तथा सार्क मुलुकका ४७,२८० जना गरी जम्मा १,१४,१४० जना पर्यटकहरुले भक्तपुर भ्रमण गरे । २०७५÷७६ सालको सोही अवधिमा गैरसार्क पर्यटक ६९,२७८ जना, चिनियाँ र सार्क मुलुकका ४५,८६७ जना पर्यटक गरी जम्मा १,१५,१४५ जनाले भक्तपुर भ्रमण गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष भक्तपुर भ्रमण गर्ने पर्यटकहरुको संख्या १००५ जनाले घटेको देखिन्छ । आर्थिक वर्षको प्रारम्भमै देंगु रोगको महामारी फैलिनु, भारत र पाकिस्तानबीच काश्मिर विवाद चर्किनु, कोटेश्वरमा घण्टौं जामको बाध्यता आदि भक्तपुरमा गत वर्षको तुलनामा पर्यटकहरु घट्नुका मुख्य कारणहरु भएको हाम्रो मूल्यांकन छ ।

    नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने योजनासहित नेपाल भ्रमण वर्ष घोषणा गर्‍यो । यो निकै चुनौतीपूर्ण छ । सबैको प्रयास भयो भने त्यो असम्भव छैन । नेपाल भ्रमण वर्षलाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले भ्रमण वर्षलाई लक्षित गरी पर्यटन केन्द्रित विभिन्न गतिविधिहरु गर्दैछ ।

    भक्तपुर भ्रमणमा आउने पर्यटकहरुको बसाइ लम्ब्याउन नगरपालिकाले सम्पदा क्षेत्रहरुमा सन्ध्याकालीन बत्तीको व्यवस्था गर्दैछ । भक्तपुरमा बास बस्ने पर्यटकहरुलाई मनोरञ्जन प्रदान गर्न सन्ध्याकालीन समयमा पाटी–पौवाहरुमा भजन गाउने, चोक–चोकमा सांस्कृतिक प्रदर्शन गर्ने तयारी पनि गरिरहेको छ ।

    पर्यटकहरुले कुनै किसिमको असहजता महसुस गर्न नपरुन् भन्ने उद्देश्यले ठाउँ–ठाउँमा पर्यटक सूचना केन्द्रको व्यवस्था, स्तरीय शौचालय निर्माण तथा महत्वपूर्ण सम्पदास्थलहरुमा गाडी निषेध गर्ने कार्य पनि गर्दैछ । स्थानीय पथप्रदर्शकहरुलाई तालिम दिएर अझ बढी व्यवस्थित, मर्यादित र आधिकारिक सूचना प्रदान गर्न सक्ने गरी क्षमता अभिवृद्धि तालिम सञ्चालन, चिनिया“ र जापानी भाषाको कक्षा सञ्चालन गर्दै आएको छ ।

    नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम विषयको पठनपाठन तथा नगरभित्रका सबै विद्यालयहमा स्थानीय पाठ्यक्रमको व्यवस्था गरी पर्यटन विषय अध्यापन गर्दै आएको छ ।

    आन्तरिक र बाह्य पर्यटकहरुको लागि विश्व प्रसिद्ध ५५ झ्याले दरबार हरेक मंगलबार र शुक्रबार कार्यालय समयमा खुला गर्ने व्यवस्था मिलाइएको छ भने पर्यटकहरुको सुविधा होस् भनी हकर्ष व्यवस्थापनतर्फ पनि नगरपालिकाले ध्यान दिएको छ ।

    पर्यटकहरुको लागि सुरक्षित भक्तपुर भन्ने सन्देश दिन आपराधिक घटनाहरु हुन नदिन प्रमुख पर्यटकीय स्थानहरुमा सीसी क्यामेराको बन्दोबस्त, प्रहरीसँग समन्वय गरी स्थानीय प्रहरी साझेदारी कार्यक्रमअनुसार अपराधको न्युनीकरण गर्ने काम गरिरहेको छ ।

    भक्तपुर महोत्सवको आयोजना हुने
    नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी भक्तपुर नगरपालिकाले २०७६ चैत ४ गतेदेखि ८ गतेसम्म ४ दिनसम्म भक्तपुर महोत्सव गर्ने निर्णय गरेको छ । महोत्सव व्यवस्थित गर्न नगर प्रमुखको संयोजकत्वमा १६१ सदस्यीय महोत्सव मूल समारोह समिति गठन गरिसकेको छ । सन् २०२० पुरै वर्ष भक्तपुरलाई महोत्सवमय बनाउने सोचका साथ कार्यक्रम तयारी गर्दैछौं । माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भक्तपुरमा मूल समारोह हुनेछ भने फागुन महिनामा जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता हुनेछ ।
    भक्तपुर महोत्सवमा हस्तकलाको जीवन्त प्रदर्शनी, दही उत्सव, व्यापार मेला, नौका बिहार, शैक्षिक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, परम्परागत वाद्यवादन प्रतियोगितालगायतका कार्यक्रमहरु गर्ने तयारी गर्दैछौं ।

    त्यसैगरी नेवारी पम्परागत जीवनशैली प्रदर्शनी, कृषि उत्पादन प्रदर्शनी, माटाका भाँडा बनाउने सीप प्रदर्शनीलगायतका गतिविधिहरु गरी महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्ने योजना तयारी गर्दैछौं ।

    सन् २०२० मा वर्षैंभरि कुनै न कुनै पर्यटक केन्द्रित गतिविधि गरिरहने योजना बनाउँदैछौं । नयाँ वर्षको पूर्वसन्ध्यामा पुस १५ गते निम्न बमोजिम कार्यक्रमहरु गर्ने जानकारी गराउन चाहन्छौं –

    नेपाल भ्रमण वर्ष २०७६ शुभारम्भ (Visit Nepal 2020)
    सन्ध्याकालीन साँस्कृतिक सम्पदा पद यात्रा

    Evening Walk with Cultural Heritages

    २०७६ पुष १५ गते मंगलबार (31st DEC 2019)

    कार्यक्रम स्थलः भक्तपुर दरबार क्षेत्र
    ३ः३० – ४ः०० बजे – अतिथिहरुको आगमन – दरबार क्षेत्रको मूलढोका
    बा“सुरी बाजा र लाखे प्याखंबाट स्वागत
    ४ः०० – ४ः१० बजे – कार्यक्रमको समुद्‍घाटन प्रमुख अतिथि ज्यूबाट
    (पानसमा दिप प्रज्वलित गर्ने, ३२९ बर्ष पुरानो ऐतिहासिक नगरा बजाउने र ठूलो घण्टा बजाउने)
    ४ः१० – ४ः२५ बजे – साँस्कृतिक झाँकी माक प्याखं प्रदर्शन र दिपावली भक्तपुर दरबार क्षेत्र
    ४ः२५ – ५ः०० बजे – अतिथिहरुबाट शुभकामना मन्तव्य व्यक्त
    ५ः०० बजे – साँस्कृतिक झाँकी सहितको सम्पदा पदयात्रा शुरु
    तालाक्व (माटोको भाँडा बनाउने बनाउने क्षेत्र)
    टौमढी क्षेत्र – (साँस्कृतिक झाँकी (भैल प्याखं) प्रदर्शन)/ दिपावली / नौ बाजा
    सुकुलढोका
    गोल्मढी – नौ बाजा
    दत्तात्रय क्षेत्र – (साँस्कृतिक झाँकी (देवी प्याखं) प्रदर्शन / दिपावली / नौ बाजा
    ६ः०० बजे – वाकुपति नारायण हुँदै सूर्यमढीमा साँस्कृतिक झाँकी (बाँसुरी बाजा र लाखे प्याखं) प्रदर्शन सहित नेपाल भ्रमण वर्ष २०७६ शुभारम्भ सन्ध्याकालीन साँस्कृतिक सम्पदा पदयात्रा समापन कार्यक्रम
    सहभागिता – जन प्रतिनिधिहरु, कार्यालय प्रमुखहरु, भक्तपुर पर्यटन बिकास समिति, पर्यटन व्यवसायीहरु, होटल व्यवसायीहरु, पथ प्रदर्शकहरु, पर्यटन सदभाव संघ, कर्मचारीहरु ।

    सन् २०२० को पहिलो दिन जनवरी १ पुस १६ गते निम्नबमोजिमको कार्यक्रम गरी भ्रमण वर्षको स्वागत गर्ने योजना छ ।
    नेपाल भ्रमण वर्ष २०७६ शुभारम्भ (1st January 2020)
    स्वागत, प्रभातफेरी तथा साँस्कृतिक कार्यक्रम

    Welcome, Procession and Cultural Programme

    २०७६ पुष १६ गते बुधवार (1st January 2020)

    प्रभातफेरी कार्यक्रम स्थलः दत्तात्रय क्षेत्र
    ७ः०० – ७ः३० बजे – अतिथिहरुको आगमन – दत्तात्रय क्षेत्र
    बा“सुरी बाजा र लाखे प्याखं सहित नेपाल भ्रमण बर्ष २०२० को प्रभातफेरी
    (दत्तात्रय – ईनाचो – गोल्मढी – सुकुलढोका – टौमढी – नासमना – बंशगोपाल – भार्वाचो – नःपुखु – ईताछें – खौमा – दरवार क्षेत्र)
    ८ः४५ बजे – भक्तपुर दरवार क्षेत्रको मुल ढोकामा भक्तपुर नगर प्रवेश गर्ने पर्यटकहरुको
    पहिलो समूहलाई प्रमुख अतिथि ज्यूबाट स्वागत तथा निःशुल्क पास प्रदान
    ३२९ बर्ष पुरानो ऐतिहासिक नगरा बाजाबाट नेपाल भ्रमण बर्ष २०२० र अतिथिहरुलाई स्वागत
    ९ः०० बजे – मञ्च आसन ग्रहण
    साँस्कृतिक झाँकी माक प्याखं प्रदर्शन
    अतिथिहरुबाट शुभकामना मन्तव्य
    साँस्कृतिक झाँकी लाखे प्याखं प्रदर्शन
    प्रमुख अतिथिबाट शुभकामना मन्तव्य
    साँस्कृतिक झाँकी (देवी प्याखं) प्रदर्शन
    १०ः३० बजे – तःपुखु (सिद्ध पोखरी) र नःपुखु (गुह्य पोखरी) मा नेपाल भ्रमण बर्ष २०२० को अवसरमा नौका बिहार उद्घाटन
    वर्षभरिकै कार्यक्रमहरुमा यहाँहरुको सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं ।

    सुनिल प्रजापति
    प्रमुख, भक्तपुर नगरपालिका
    २०७६ पुस १४ गते, सोमबार

    प्रतिकृया दिनुहोस्

    प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति

    प्रेस सेन्टर नेपालको चाँगुनारायण नगरपालिका शाखाले दोश्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका...

    ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको...

    प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार

    प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने...

    सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन्...

    माओवादी केन्द्रको विद्यार्थी नेता बन्न ३२ वर्ष उमेर ननाघेको हुनुपर्ने

    peris dada maoist party office

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा अन्ततः उमेर हद लागू हुने भएको...