News Portal

  • ३ हजार बढी मजदुरले बनाए भक्तपुरको भैरवनाथ मन्दिर : नेता बिजुक्छेद्वारा दस्तावेज सार्वजनिक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,२९ पुस
    २२४८ पटक
    भक्तपुर,२९ पुस

    विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक महत्व बोकेको धार्मिक सास्कृतिक धरोहर भैरवनाथ मन्दिरको जिर्णोद्वार सम्पन्न गरिएको छ । मंगलबार भक्तपुरको टौमढीस्थित मन्दिर प्रांगणमा जिर्णोद्वारको आय–व्यय लगायत गतिबिधि समेटिएको पुस्तक समेत विमोचन गर्दै  जिर्णोद्वारको औपचारिक विवरण सार्वजनिक गरिएको हो ।

    भक्तपुर नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नगरपालिकाले प्रकाशन गरेको ‘ऐतिहासिक भैरवनाथ मन्दिर जीर्णोद्धार २०७६’ र ‘भैरवनाथ मन्दिर जीर्णोद्धारसम्बन्धी प्राविधिक नक्सा डिजाइन संग्रह’ पुस्तक सार्वजनिक गरेका थिए ।

    उक्त अवसरमा अध्यक्ष बिजुक्छेँले आफ्नै प्रयासमा जनसहयोग समेत प्राप्त गर्दै मन्दिर जिर्णोद्वार सम्पन्न गरेकोमा नगरपालिकालाई धन्यवाद दिएका थिए भने सम्पदा निर्माण कार्यको व्यवस्थित दस्ताबेजीकरण गरेर भावी पुस्तालाई त्यसको जानकारी गराउने कार्य समेत प्रशंसनीय रहेको बताएका थिए ।

    त्यसैगरी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव समेत रहेका संघीय सांसद प्रेम सुवालले २०७२ सालको भूकम्पले भत्काएका घरहरु पुन:निर्माण गर्न भूकम्प पीडितलाई सरकारले दिदै आएको रु. ३ लाख अनुदान अपुग भएको भनेका थिए ।३ लाखमा शहरमा मात्र होइन, गाउँमा समेत घर बन्न नसक्ने भन्दै उनले घर नभई गाइ बाध्ने गोठ बनाउन जनताहरु बाध्य बनेको बताए ।

    कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य रहेका भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले बिदेशी दाताको सर्तहरु अस्वीकार गरेर भक्तपुर नगरपालिका आफैले मन्दिर पुन: निर्माण गरेको जानकारी गराएका थिए भने अर्का केन्द्रीय सदस्य एवं प्रदेश नं. ३ का प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले भक्तपुर नगरपालिका देशभरमै एक उदाहरणीय नगरपालिका भएको भन्दै यसबाट सिक्नुपर्ने आवश्यकता औल्याए ।

    उक्त अवसरमा भक्तपुरकी उपप्रमुख रजनी जोशी, सिडिओ हुमकला पाण्डे,संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग,इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ,दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरका प्रमुख मोहनसिं लामा लगायतले मन्तब्य राखेका थिए । वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले संचालन गरेको उक्त कार्यक्रममा भैरवनाथ मन्दिर उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेलेले मन्दिर पुनःनिर्माणको आय–व्यय र प्रगति विवरण प्रस्तुत गरेका थिए ।

    करिब ३ हजार मजदुर सहभागी
    भैरवनाथ मन्दिर उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेलेले भक्तपुर पोस्टलाई भने अनुसार उक्त मन्दिर पुन:निर्माणमा करिब ३ हजार मजदुर सहभागी भएका थिए । १ सय पाँच जना ताम्राकार, ९ सय १३ जना सिकर्मी, २२ जना डकर्मी ८३ जना छाना छाउने डकर्मी तथा १ सय ८ जना पेन्टर र १ हजार ७ सय २० जना ज्यामीले मन्दिर पुन: निर्माणको काम सम्पन्न गरेका भेलेले जानकारी गराए । उनका अनुसार मजदुरहरुलाई ज्याला वापत ३८ लाख ३ हजार ४० रुपैया वितरण गरिएको छ । उक्त मन्दिर बनाउन बजेट पैसठी लाख प्राप्त भएकोमा करिब छपन्न लाखमै पुन:निर्माण सम्पन्न गरि ८ लाख साठ्ठी हजार रुपिया नगरपालिकालाई नै हस्तान्तरण गरिएको उनले जानकारी गराए ।

    विदेशी दाताको सर्त अस्वीकार गरी पुन: निर्माण

    भूकम्पले क्षती भएको भैरवनाथ मन्दिरको पुनःनिर्माणमा विदेशीदाताले चासो राखेका भएपनि उनीहरुको सर्त नगरपालिकाको लागि स्वीकार्य नहुँदा विदेशी सहयोग नलिएको नगर प्रमुख सुनिल प्रजापतिले प्रष्ट पारेका छन् । प्रमुख प्रजापतिका अनुसार जर्मन सरकार र नेपाल सरकारको सम्झौता बमोजिम पुन:निर्माण गर्दा जर्मन सरकारले राखेको सर्त भक्तपुरले मान्न नसक्ने भएपछी सहयोग अस्वीकार गरिदिएको जानकारी गराए । ”ठेक्का गर्नुपर्ने, उस्कै प्राविधिक रहने, सिमेन्ट रड प्रयोग गर्नुपर्ने, उस्को हिसाबकिताबको अभिलेख हेर्न समेत हामीले नपाउने लगायात सर्त राखेपछि हामीले सहयोग अस्वीकार गरेका हौ ।” नगर प्रमुख प्रजापतिले भक्तपुर पोस्ट संग भने ।

    पुन:निर्माणमा जनसहयोग
    भैरवनाथ मन्दिरको पुन: निर्माण गर्ने जर्मनी सर्त अस्वीकार गरेपछि भक्तपुर नगरपालिका आफैले पुन:निर्माणको पहल लियो । नगरपालिकाले बजेट नै छुट्याएर काम शुरु गरेपनि स्थानीय समेत जनश्रमदान गरेका थिए । त्यतिमात्र होइन, स्थानीयले आफ्नो गच्छे र इच्छानुसार आर्थीक सहयोग समेत उपलब्ध गराए । निर्माण समितिले जनाए अनुसार पचास रुपिया देखि शुरु भएको सहयोग २ सय ८३ व्यक्ति/संस्था बाट गरी पाँच लाख बढी प्राप्त भएको छ । उक्त सहयोग मंगलवार समितिका अध्यक्ष भेलेले नगर प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण समेत गरे । त्यतिमात्र होइन, मन्दिर निर्माणमा आवश्यक बास देखि , मुछेको माटो, झिंगटी, गजुर लगायत जिन्सी सामान समेत पाँच लाख रुपिया भन्दा बढीको प्राप्त भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...

    सिडिओ छोडेर भक्तपुरको प्रमुख प्रशासकीय अधिकृतमा भट्टराई

    निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन्...

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...