News Portal

  • मजवुत पूर्वाधार र नागरिकको सुरक्षाबाट मात्रै मुलुक समृद्ध बन्छ– गृहमन्त्री बादल

    भक्तपुरपोष्ट संवाददाता२ माघ
    १०९२ पटक
    २ माघ

    भक्तपुर । गृहमन्त्री रामबहादुर थापा बादलले मजवुत पूर्वाधार र नागरिकको सुरक्षा नै समृद्ध नेपालको आधार भएको बताएका छन् । पूर्वाधार र संरचना मजवुत नबनाई नागरिकलाई सुरक्षित बनाउन नसकिने र नागरिकलाई सुरक्षित नबनाई मुलुक समृद्ध नबन्ने उनको भनाइ थियो ।

    ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दीगो सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ बिहीबार भक्तपुर दरवारक्षेत्रमा आयोजित २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रमको उद्घाटन गर्दै गृहमन्त्री थापाले विपत् जोखिम न्यूनिकरणका लागि सरकारले काम गरिरहेको स्पष्ट पारे ।

    भूकम्पीय सुरक्षाका लागि नेपाल सरकारले आवश्यक ऐन, नीति नियम निर्माण गरेको बताउँदै थापाले २०७२ सालको भूकम्पपछिको पूनर्निर्माणलाई तीब्र बनाउन पूनर्निर्माण प्राधिकरण गठन गरी काम अघि बढाइरहेको उल्लेख गरे । ‘प्राधिकरणमार्फत् भूकम्प पछिको पूनर्निर्माणको करिब दुई तिहाई काम सम्पन्न भएका छन्, त्यसलाई अझ तीब्र बनाउनका लागि स्थानीय पालिकाहरुले सहयोग गनुपर्छ ।’ गृहमन्त्री थापाले भने ।


    भूकम्पका कारण मात्रै नभएर असुरक्षित रुपमा बनेका संरचनाको कारण मानवीय क्षति र ठूलो आर्थिक रुपमा क्षति पुग्ने गरेको भन्दै गृहमन्त्री थापाले २०७२ सालको भूकम्पको कारण करिब ७ खर्ब बराबरको आर्थिक क्षति पुगेको जानकारी दिए । भूकम्प दिवस मनाउनुलाई इतिहासबाट पाठ सिक्ने दिनका रुपमा बुझ्न उनको आग्रह थियो ।

    गृहमन्त्री थापाले भूकम्प सुरक्षा दिवसलाई सरकारले २०५५ सालदेखि मनाउँदै आएको चर्चा गर्दै भूकम्प सुरक्षा दिवसका दिनमा भूकम्पबाट भएका क्षतिहरुको आत्म समीक्षा गर्न सके व्यक्ति, समाज हुँदै सिंगो राष्ट्रलाई नै सुरक्षित बनाउन सक्ने धारणा व्यक्त गरे । उनले मुलुकलाई समृद्ध बनाउनका लागि सुरक्षित र मजवुत पूर्वाधारको आवश्यकता रहेको औंल्याए । ‘मजबुत र बलियो पूर्वाधारविना नागरिकको सुरक्षा सम्भव छैन ।’ गृहमन्त्री थापाले भने ।

    गृहमन्त्री थापाले भूकम्पबाट बच्नका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने स्पष्ट पार्दै स्थानीय तहले भवन निर्माण संहिता पूर्ण रुपमा लागू गर्न सुझाब दिए । उनले भने, ‘भूकम्पीय सुरक्षाका लागि भवन संहितालाई अनिवार्य लागू गराउन जरुरी छ, त्यसका लागि स्थानीय तहले नेतृत्व लिनुपर्छ ।’

    कार्यक्रममा राष्ट्रिय पूननिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले पूननिर्माणमा भइरहेको प्रगति विवरण प्रस्तुत गर्दै पूनर्निर्माणलाई अझ सहज बनाउनका लागि सबै पक्ष र तहबाट सहयोगको जरुरी रहेको उल्लेख गरे । भूकम्पले भौतिक संरचना मात्रै नभएर नागरिकको मन पनि भत्काएको भन्दै ज्ञवालीले पुनर्निर्माणले भत्केका मनहरु जेड्ने काम गरेको उल्लेख गरे ।

    कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ का सांसद प्रेम सुवालले भूकम्प पछिको पूननिर्माणमा सोचेजस्तो प्रगति नहुनुमा सरकारमा गएका दलहरु र तिनीहरुको सोच जिम्मेवार रहेको बताउँदै विदेशी सहयोगीको भरमा पूनर्निर्माणलाई अघि बढाउने सोच नै गलत रहेको उल्लेख गरे । पूनर्निर्माणको लागि नागरिकलाई हौसला दिनुपर्नेमा सरकारले अनुदान रकमको उपयोग सम्बन्धमा तोकेको पटकपटकको समय सीमाले भूकम्प पीडितहरुको घाउमा नुन छर्कने काम गरेको उनले स्पष्ट पारे ।

    कार्यक्रममा एनसेटका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले भूकम्पको जोखिम न्यूनिकरणको एकमात्रै उपाय सुरक्षित निर्माण भएको भन्दै भौतिक संरचना निर्माण भवन संहिता अनुसार गर्न आग्रह गरे ।

    कार्यक्रममा एनसेटका प्रतिनिधि विजयकेष्ण उपाध्यायले प्रमुख अतिथिलगायतलाई भूकम्पबाट सुरक्षित हुने उपाय घुँडा टेकी गुँडुल्की ओतलागि समातको अभ्यास गराएका थिए ।


    कार्यक्रममा सहभागी सबैले भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्व तयारीमा सामुहिक प्रतिवद्धता जनाउन हातेमालो गरेका थिए ।

    सोही अवसरमा भूकम्प सुरक्षा दिवस प्रचारप्रसार उपसमितिका संयोजक, शहरी विकास तथा भवन निर्माण विभागमा महानिर्देशक मणिराम गेलाल, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकणका कार्यकारी प्रमुख अनिल पोखरेल, संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनीधि भ्यालेरी जुलियण्डलगायतले भूकम्पीय सुरक्षाको विषयमा चर्चा गरेका थिए ।

    राष्ट्रिय कार्यक्रमलाई भक्तपुरमा आयोजनाको अवसर दिएकोमा खुशी व्यक्त गर्दै कार्यक्रमका अध्यक्षता गरेका भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले आभार प्रकट गर्नुकासाथै नगरपालिकाले नगरबासीको सुरक्षा र पुन: निर्माणमा गरेका असल अभ्यासहरू बारे अवगत गराएका थिए ।

    सोही अवसरमा भक्तपुरको ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङका विद्यार्थीहरुले भूकम्पीय सुरक्षासम्बन्धी विभिन्न शैक्षिक प्रदर्शनी गरेका थिए । सो प्रदर्शनी गृहमन्त्री थापालगायतको टोलीले अवलोकन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...

    सिडिओ छोडेर भक्तपुरको प्रमुख प्रशासकीय अधिकृतमा भट्टराई

    निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन्...

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...