News Portal

  • जथाभावी हिड्नेलाई समाजले नै कारवाही गर्ने स्थिति बन्दैछ : प्रजिअ हुमकला पाण्डे (अन्तरवार्ता)

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ चैत
    ६२६९ पटक
    भक्तपुर, १६ चैत

    (कोरोना भाइरसको सन्त्रास र त्यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी (लकडाउन) पछि भक्तपुरमा परेको प्रभाव र रोगबाट बच्न जिल्लाले गरेको तयारीमा केन्द्रीत रहेर भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसंग भक्तपुर पोस्टका लागि संजीप शुभचिन्तकले टेलिफोनमा गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । )

    कोरोनो भाइरस (कोभिड१९) को रोकथाम र नियन्त्रणको लागि आदेश गरिएको बन्दाबन्दी (लकडाउन) को अवस्था भक्तपुरमा कस्तो रहेको छ ? अवज्ञा गर्नेलाई कस्ता कारवाही भएका छन् ?

    सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन गरेको आह्वानलाई भक्तपुरवासीले आत्मसाथ गर्नुभएको छ । पाचौं दिनसम्म आइपुग्दा यो अझ प्रभावकारी पाइएको छ । समग्रमा भक्तपुरका ९० प्रतिसत बढी मानिसहरुले सरकारी आदेशको पालना गर्नुभएको छ । पूर्व जाने बाटो परेकाले राजमार्गमा मोबिलिटी देखिए पनि उहाँहरु पास लिएरै जानुभएको देखिन्छ । आफूलाई स्थानीय भन्दै बिनाकाममा हिड्नेहरुलाई हामीले सचेत गराउने, सवारी साधन नियन्त्रणमा लिने जस्ता कारवाही गर्दै आएका छौं । मूख्यत: हाम्रो कारवाही भन्दा ठूलो सामाजिक कारवाही हो । जथाभावी हिड्नेलाई समाजले नै कारवाही गर्ने स्थिति बन्दैछ ।

    लकडाउनको अवस्था हेर्न घर बाहिर निस्कने प्रवृत्ती देखिएको छ । यसलाई कसरी निरुत्साहित गर्नुहुन्छ ?

    यस्तो प्रवृत्तीलाई निरुत्साहित गर्न मैले प्रहरीलाई कठोर हुन आदेश दिएको छु । सम्झाउदा नबुझ्नेलाई कानुनी कारवाही गर्न हामी पछि हट्दैनौ । तर, मूख्य कुरा सामाजिक चेतना नै हो । अहिले हामी स्थानीय जनप्रतिनिधि र समाजका अगुवा व्यक्तित्वहरु मार्फत प्रत्येक व्यक्तिलाई जिम्मेवार बनाउन लागिपरेका छौं । प्रहरी प्रशासनको आखाँ छल्नेलाई समाजले पनि पाठ पढाउँन आवस्यक छ । हामी सिंगो समाजलाई नै कोरोनो भाइरस बिरुद्को लडाइमा संगसंगै लिएर लड्न चाहन्छौं ।

    खाद्यान्न र तरकारीका पसलहरु साँझ मात्र खुलेका छन् । पसलमा किनमेल गर्नेको भिडभाड हुन्छ । यसले लकडाउनको के अर्थ भयो र ?

    बिक्रेताहरूले नबुझ्दा यो समस्या भएको हो । खासमा यी पसलहरु बन्द गर्ने होइन । तर, बिक्रेताहरू पनि रोगको त्रासले साँझ मात्र खोल्नुहुन्छ । यसले क्रेताबिक्रेता दुबैलाई झन् जोखिम बढाएको छ । लकडाउनको पाचौं दिनसम्म आइपुग्दा हामीले स्थानीय सरकारसंग समन्वय गरी कम्तिमा १ मिटरको दुरी कायम गरी सामान खरिदबिक्री गर्ने व्यवस्था मिलाएका छौं । केहि स्थानीय तहले सो काम गरिसकेको र केहिले गरिहाल्ने भन्ने हामीले खबर पाएका छौं ।

    बजारमा ग्यास नपाइएको गुनासो छ । कालोबजारी त हुँदैछैन ?

    हामीले उद्योग वाणिज्य संघ र संघका प्रतिनिधिहरुसंग कुरा गरिरहेका छौं । संकटको बेलामा कालोबजारी हुनुहुँदैन भनेर उहाँहरु आफैं पनि लागि राख्नु भएको छ र हामीले हाम्रो संयन्त्र पनि परिचालित गरिरहेका छौं । हामी लाई अहिलेसम्म त्यस्तो उजुरी परेको छैन र हामीले भक्तपुरमा कालोबजारी गरेको पाएका पनि छैनौ । जहाँसम्म खाना पकाउने एलपी ग्यासको कुरा छ, त्यो उपभोक्ताले चाहिने भन्दा बढी खरिद गर्दा कतिपयले पाइरहनु भएको छैन । विशेषगरी कोठा लिएर बस्नुहुने विद्यार्थीहरु र चाहिएको बेलामा मात्र खरीद गर्ने उपभोक्ता त्यसका मारमा पर्नु भएको छ । सरकारले उहाँहरुलाई ग्यास उपलब्ध गराँउछ। उहाँहरुको लागि हामी छौं ।

    मास्क, सेनिटाइजर जस्ता रोगको संक्रमणबाट जोगाउने सामान चै भक्तपुरमा किन अझै नपाइएको हो ?

    अहिलेको समयमा त्यसको उत्पादनको तुलनामा माग बढी हुनु स्वाभाविक नै हो । भक्तपुरमा नपाइकै पनि होइन तर माग बढी हुँदा धान्न नसकेको अवस्य हो । बिक्रेताहरू एउटालाई बेच्दा अर्को रिसाउने अवस्था भएको गुनासो गर्नुहुन्छ । उहाँहरुसंग माग भन्दा ज्यादै न्यून सामान छ । हामीले उद्योगी ब्यापारीहरुसंग यो बारे कुरा गरिरहेका छौं ।

    अहिलेसम्मको अवस्था हेर्द भक्तपुरमा कोभिड १९ को जोखिम कति हो ?

    अहिलेसम्मको केस र हिस्ट्रीको अवस्था अध्ययन गर्दा विदेशबाट आएकाहरुलाई रोगको संक्रमण पुष्टि भएको देखिन्छ । यसरी हेर्दा भक्तपुरमा पनि यो पछिल्लो २ हप्तामा विदेशबाट आएकाहरु प्रसस्त देखिएका छन् । यसर्थ, भक्तपुर जोखिममा छैन भन्ने अवस्था छैन । उहाँहरुले सेल्फ क्वारेन्टाइन र आइसोलेसनमा रहेर कत्तिको नियम पालन गर्नु भएको छ त्यसको आधारमा जोखिमको मात्रा घटीबढी भन्ने मात्र हो ।

    त्यसो भए विदेशबाट नेपाल आएकाको अनुगमन संयन्त्र कसरी बनाइएको छ ?

    विदेशबाट आएका उच्च जोखिममा रहेकाको विवरण केन्द्रबाटै आउँछ भने अन्यको स्थानीय सरकार मार्फत रेकर्ड राखिएको छ । अहिले छिमेकीले नै खबर गर्ने हुँदा कोही लुकिछिपी रहने स्थिति छैन र हुनुपनि हुँदैन । उहाँहरुलाई सेल्फ क्वारेन्टाइनमा र आइसोलेसनमा रहन भनिएको छ र त्यसको स्थानीय सरकारका वडा अध्यक्षकै संलग्नतामा अनुगमन भैरहेको छ । सेल्फ क्वारेन्टाइनमा रहन नमान्नेलाई हामीले सरकारी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छौं ।

    खरीपाटी क्वारेन्टाइनको अवस्था के छ ? भक्तपुरमा क्वारेन्टाइन र आइसोलेसन अवस्था कस्तो रहेको छ ?

    खरीपाटीमा शुरुमा ७३ जना हुनुहुन्थ्यो विहीवार २३ जना थपिएर अहिले ९६ जनालाई राखिएको छ । चीनबाट उद्धार गरिएकाकै जस्तोगरी उहाँहरुलाई राखिएको छ । शुरुमा बस्न नमान्नु भएकाहरु अहिले त्यहाँको व्यवस्थापन देखेर खुशी हुनुहुन्छ । हाम्रा प्रत्येक नगरपालिकाले क्वारेन्टाइन स्थल यकिन गरेका छन् । हामीसंग भक्तपुरमा पच्चीस आइसोलेसन वार्ड र १७ भेन्टिलेटर उपलब्ध छन् । केन्द्रको अधिनमा रहनेगरी दुवाकोटस्थित काठमाडौ मेडिकल कलेज र नगरकोटका होटलहरुलाई पनि सयौं आइसोलेसन वार्ड बनाउने तयारी छ । जिल्लामै भएकोले हामीले त्यो प्रयोग गर्न नपाउने भन्ने भएन । तर, त्यो स्थिति नआओस भन्ने कामना गरौँ ।

    निजी अस्पातालले सेवा नदिएको समाचार आइरहका छन् । भक्तपुरको अवस्था के छ ?

    अहिलेसम्म भक्तपुर अस्पतालले बिरामी धानिरहेको छ । भक्तपुर अस्पतालले १२ आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको छ । ८ शंकास्पद विरामीलाई यसले सेवा पुर्याइसकेको छ । ७ जना उपचारपछि डिस्चार्ज हुनुभएको र १ जना अझै आइसोलेसन वार्डमै रहेर उपचार भैरहेको भक्तपुर अस्पतालले जानकारी गराएको छ । जहाँसम्म अन्यत्र समाचारमा आएका कुरा छन्, हाम्रोमा त्यो अवस्था होइन । निजी अस्पतालले उपचार नगरेको गुनासो भक्तपुरमा हामीले पाएका छैनौ । डाक्टरको धर्म नै उपचार गर्नु हो । त्यसैले मलाइ उहाँहरु आफ्नो धर्म छोडेर भाग्नुहुन्छ जस्तो पनि लाग्दैन ।

    भक्तपुरमा कोभिड १९ रोकथामका सम्बन्धमा देखिएका चुनौती के हुन् ?

    हाम्रो मूख्य चुनौती भन्ने नै सेल्फ क्वारेन्टाइनमा रहनुभएकाहरुलाई हामीले कत्ति जिम्मेवार बनाउन सक्यौं भन्ने हो । यदि सेल्फ क्वारेन्टाइन र आइसोलेसनलाई गम्भीरताका साथ् नलिनुभएको भए अथवा रोग लुकाइरहनु भएको भए त्यो खतरा हुनसक्छ ।

    अहिलेको यस संकटको घडीमा प्रत्येक नागरीकले सरकार खोजीरहेका छन् । तपाइँ सरकारको प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । तपाइसंग जनताले कसरी सम्पर्क गर्न सक्छन ?

    म प्रमुख जिल्ला अधिकारी हुनुको नाताले यस संकटको घडीमा सम्पूर्ण भक्तपुरवासीको साथ मै रहेको विश्वास दिलाउन चाहन्छु । कोभिड १९ बारे प्रत्येक नगरपालिकाले सम्पर्क व्यक्ति तोकिदिएका छन् । स्थानीय सरकारहरु छन् । स्थानीय प्रहरीकर्मचारी हुनुहुन्छ । उहाँहरु मार्फत पनि हामी स्थानीयसंग जोडिएका छौं । यतिबेला यहाँहरुलाई कुनै संकट आइपर्यो भने सिधै मेरो मोबाइल नम्बर ९८५१२१७७७७ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

    कतिपय दैनिक ज्यालादारी गरी खाने मजदुरहरुले यतिबेला भोकै सुत्नुपरेको भन्ने छ नि ?
    हामीले उहाँहरुलाई हेरेका छौं । कतिपय मनकारी स्थानीयहरुले पनि उहाँहरुलाई खानेकुरा दिइरहनु भएको छ । हामीले नगरपालिकालाई उहाँहरुलाई खानाको व्यवस्था गर्न अनुरोध गरेका छौं । नगरपालिकाले वडा अध्यक्षलाई उक्त कार्य गर्न भनेको हामीलाई जानकारी प्राप्त भएको छ । भक्तपुरमा कोहि भोकै सुत्नुपर्दैन । यदि त्यस्तो अवस्था देखियो भने हामीलाई खबर गर्दा हामी आभारी हुनेछौं ।

    भक्तपुरवासीको लागि तपाईको के संदेश छ ?

    अहिलेको हाम्रो मूख्य उदेश्य भनेको कोभिड १९ को रोकथाम नै हो । यसका लागि सरकारको आदेश मानेर घरमै बस्नुभएकोमा आभारी छु । तापाईको टोल छिमेकमा कोही विदेश बाट आउनुभएको छ र सेल्फ क्वारेन्टाइनमा नरहनु भएको भए उहाँहरुलाई सचेत गराऔं । मान्छे आफ्नो भए पनि रोग आफ्नो हुँदैन । त्यसैले सबैले सामाजिक दुरी कायम गरौँ । रोग लाग्न नदिऔ, लागि हाले नआत्तिऔं र फैलन नदिऔं । सबै सतर्क रहौं र सुरक्षित बनौ । यो सरकारको मात्र होइन, हामी सबैको साझा लडाई हो । घरमै बसेर कोभिड१९ विरुद्धको लडाई लडौं ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गरी सूचनामा पहुँच बढाउनुस् ! भक्तपुर पोस्ट : सूचना तपाईको औंलामा 

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...