News Portal

  • राष्ट्रिय गौरवका यति धेरै योजना भक्तपुरमा परेको यो पहिलोपटक हो : सांसद बस्नेत (अन्तर्वार्ता)

    भक्तपुर, १६ जेठ
    ६७१५ पटक
    भक्तपुर, १६ जेठ

    (सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को आयव्यय विवरण (बजेट) सार्वजनिक गरेको छ । बिहीबार संघीय संसदमा अर्थमन्त्री डा युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । बजेटमा भक्तपुरका लागि करिब १ दर्जन कार्यक्रमहरु समेटिएका छन् । प्रस्तुत बजेट र भक्तपुरमा त्यसको प्रभावमा केन्द्रित रहेर सत्तारुढ नेकपाका केन्द्रीय सदस्य समेत रहेका भक्तपुरका निर्वाचित संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतसंग भक्तपुर पोस्टका लागि संजीप शुभचिन्तकले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । )

    सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि बिहीवार सार्वजनिक गरेको बजेटको कस्तो मूल्यांकन गर्नुभएको छ ?

    जनताको आवश्यकता र चाहनालाई बजेटले सम्वाेधन गरेको छ । सुखी नेपाली र समृद्ध नेपालको अभियानमा सहयोग पुर्याउने महत्वपूर्ण कार्यभार यसले पुरा गरेको छ । युवा लक्षित बजेट आएकोले यसले आम युवामा उत्साह ल्याएको देखिन्छ । स्वदेशमै रोजगार सिर्जना गर्नेदेखि स्वरोजगारका लागि सहुलियत ऋणको व्यवस्था बजेटमै गरिएकोले बेरोजगार युवाले राहत महशुस गरेका छन् । कृषिलाई महत्वका साथ् अगाडि सारिएको छ । जलविद्युत्मा साना उपभोक्तालाई मिनाह र ठूलालाई सहुलियत दिनुका साथै विद्युत निर्यात गर्ने लक्षका साथ् बजेट प्रस्तुत भएको छ । बजेटले निजी क्षेत्रका उद्योग व्यवसायलाई समेत उत्साहित गरेको उद्योगी व्यवसायीले नै प्रतिक्रिया दिइरहनु भएको छ । बजेटले सरकारी खर्चमा कटौती गर्दै मितव्ययिता अपनाएको छ भने ऋणात्मक सूचकांकलाई सुधार गर्दै प्रगतिशील र जनतासंग जोडिएका योजनामा जोड दिइएको छ । समग्रमा यो बजेट निकै लोकप्रिय बजेट बनेको छ ।

    कोरोना महामारीसंग लड्न सक्ने सामर्थ्य बजेटमा छैन भन्ने प्रतिक्रियाहरु पनि आइरहेका छन् नि ?

    कोरोनाले देशको अर्थ व्यवस्था चौपट पार्ने होइन कि यसको हैसियत देखाउने अर्थशास्त्रीहरुको मान्यता छ । कोरोनाको सन्त्रास छ भन्दैमा खुट्टा तानेर बस्ने भन्ने हुँदैन । सरकारले महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारी सहितको राष्ट्रिय रोग नियन्त्रण केन्द्र र स्वायत्त खाद्य तथा औषधि प्राधिकरण (एफडिए) निर्माणका लागि बजेट छुट्याएको छ।

    मूख्य कुरा कोरोनाका कारण नेपालभित्र मात्र नभई विदेशमा समेत लाखौँ नेपाली बेरोजगार हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै बजेटले नेपालमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्नुको साथै नेपाललाई आत्मनिर्भरताको बाटोमा लैजाने मार्गचित्र काेरेकाे छ  । यद्यपी कोरोना कहरका बीच यी घोषित कार्यक्रमलाई कसरी कार्यान्वयन गर्ने भन्ने चुनौती त हुने नै भयाे ।

    बजेटले भक्तपुरलाई कसरी समेटेको छ ? यसको पहलकर्ता पनि हुनुका हैसियतले तपाइँ यसबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

    बजेटमा भक्तपुरका १०/१२ वटा योजनाहरु समेटिएका छन् । हाम्रो दुई वर्ष देखिको मिहिनेतको प्रतिफल पनि हो यो । बजेटले २ वटा स्मार्ट सिटी भक्तपुरमा बन्ने सुनिश्चित गरेको छ । गठ्ठाघरमा पाँच हजार क्षमताको सभा हल बन्ने भएको छ । भक्तपुरमा केन्द्रीय स्तरका २ ठूला अस्पताल बन्ने योजना बजेटमा समेटिएको छ । दुवाकोटमा वीर अस्पतालको भवन र सूर्यविनायकमा मानव अंग प्रत्यारोपण केन्द्र निर्माण गरिने भएको छ । साँगा धुलिखेल सडक खण्डलाई छ लेनको बनाउन बजेट व्यवस्था गरिएको छ । जडिबुटि र कोटेश्वरमा फ्लाई ओभर तथा सुरुङ्ग मार्ग निर्माणको लागि बजेट छुट्याइएको छ । मनोहरा र हनुमन्ते करिडोरलाई बजेट छुट्याइएको छ । प्राणि उद्यानका लागि बजेटमा व्यवस्था छ । तारलाई भूमिगत गर्न १ अर्व रुपियाँ व्यवस्था गरिनुका साथै रात्रिकालीन सम्पदा पर्यटनलाई पनि भक्तपुरबाट शुरु गरी अन्य शहरहरुमा बिस्तार गर्ने कुरा बजेटले समेटेको छ । रास्ट्रिय गौरवका यतिधेरै योजना भक्तपुरमा परेको मलाइ लाग्छ, यो पहिलो पटक हुनुपर्छ । यसपटक पहिलोचोटी बजेट र कार्यक्रममा भक्तपुरको नाम सम्बोधन भएर आयो । यो मेरा लागि मात्र नभई हामी आम भक्तपुरवासीका लागि निकै खुशी र सन्तुष्टिको कुरा हो ।

    भक्तपुरमा २ वटा स्मार्ट सिटी बनाउने महत्वकांक्षी योजना बजेटमा व्यवस्था गरिएको छ । यो कसरी सम्भव छ ? स्पष्ट पारिदिनुस् न ।

    २ खर्बको लागत लाग्ने अनुमान सहित १ लाख रोपनी जग्गामा बन्ने स्मार्ट सिटीका लागि चाँगुनारायण नगरपालिकाको साठी प्रतिसत जग्गा सहित डीपीआर तयार भएको छ भने अर्को सूर्यविनायक नगरपालिकाको गुन्डु बालकोटको १८ हजार रोपनी जग्गा सहितको क्षेत्रमा ४० अर्व लागत अनुमान सहित स्मार्ट सिटी बन्ने कुरा हाम्रो लागि खुशीको कुरा हो । स्मार्ट सिटीको लागि अन्तराष्ट्रिय लगानीकर्ता समेत उत्साहित देखिएका छन् । नेपाल सरकार र विदेशी लगानीकर्ताहरुको संयुक्त लगानीमा यो योजना अघि बढ्ने देखिएको छ । हाम्रो नागरिक लगानी कोष, संचय कोष र राष्ट्रिय वाणिज्य बैंकहरु लगायतले लगानी जुटाउने प्रतिवद्धता प्रकट गरेका छन् । उपत्यकामा बन्ने पाँच शहर मध्ये शुरु २ वर्षमा भक्तपुरका २ शहर बनाउने भन्ने आएको छ । सरकारको उच्च प्राथमिकतामा परेको राष्ट्रिय गौरवको आयोजना भएकोले यो सम्भव हुने कुरामा हामी विस्वस्त छौं ।

    कोटेश्वर जडिबुटीको ट्राफिक जामले भक्तपुरवासी लगायत यो बाटो प्रयोग गर्ने यात्रुहरु आक्रान्त छन् । तपाईले यहाँ फ्लाई ओभर र सुरुङ्ग मार्ग बनाउने कुरा गर्नुभएको धेरै भयो । के अव आगामी आर्थिक वर्ष भित्र निर्माण सम्पन्न भएको देख्न सकिन्छ ?

    हो, त्यसैको लागि बजेट व्यवस्था भएको हो । फ्लाई ओभर र सुरुङ्ग मार्गको डिजाइन सम्पन्न भैसकेको छ । अब आगामी वर्ष भित्र यसको निर्माण कार्य पनि सम्पन्न हुनेछ । यसमा नेपाल सरकार र जाइकाको पनि अभिरुची रहेको छ । कोटेश्वरको जाम हटाउन महत्वपूर्ण मार्ग हुने अपेक्षा गरिएको हनुमन्ते करिडोरमा पनि २ अर्व बजेट बिनियोजन भएको छ । अब जामबाट आक्रान्त हुनुपर्ने दिनको अन्त्य हुँदैछ ।

    भक्तपुरमा अन्तरास्ट्रिय रंगशाला निर्माणको विषयलाई बजेटले सम्वोधन गरेन नि ?
    नेमकिपाका साथीहरुको विरोधका कारण रंगशालामा बजेट नपरेको हो । उहाँहरु रंगशालाको विरोधमा हदैसम्म लाग्नुभएको सर्वविधितै छ । उहाँहरुको विरोध नभएको भए भक्तपुरमा अन्तरास्ट्रिय रंगशालाका लागि पनि बजेटमा व्यवस्था हुने निश्चित थियो ।

    यस पटक बजेटमा भक्तपुरका लागि धेरै कार्यक्रमहरु तय गरिएका छन् । यस अघि पनि बजेटमा सल्लाघारीस्थित ९९ सय रोपनीमा कलेजो रोग अनुसन्धान केन्द्रका लागि ब्यवस्था गरिएको थियो तर त्यो कार्यान्वयन नभएको अनुभव हुँदाहुदै कसरी बजेट बाट उत्साहित हुन सकिन्छ ?  

    तपाईले सल्लाघारीस्थित ९९ रोपनी जग्गामा निर्माण हुन नसकेको संरचनाको जुन कुरा गर्नुभयो, त्यो सहि हो । त्यो जग्गामा भक्तपुर नगरपालिका ख्वप: विश्वविद्यालय बनाउन चाहन्छ । त्यसैले, अन्य कार्यका लागि जग्गा उपभोग गर्न नदिने उसको अडानका कारण बजेटमा ब्यवस्था भएपनि काम हुन नसकेको हो । न उ विश्वविद्यालय बनाउन सक्षम छ नत त्यसमा अरु संरचनाका लागि नै सहयोग गर्छ । यसर्थ , त्यो परियोजनाको विषयलाई लिएर आगामी आर्थिक वर्षका लागि समेटिएका योजनाहरुमाथि आशंका गर्नुपर्ने अवस्था छैन ।

    यो पटक भक्तपुरका लागि बजेटमा ब्यवस्था गरिएका कार्यक्रमहरु कार्यान्वयन हुन्छ भन्ने आधार के छ ?

    भक्तपुरमा बिबाद रहेका कुरामा यसपटक बजेट परेको छैन। अहिले वीर अस्पतालको समस्या समेत हल भैसकेको छ । दुवाकोटमा बनाइने वीर अस्पतालको नयाँ भवनमा चाइनिजहरुले लगानी गर्न प्रस्ताव गरेका पूर्वाधार निर्माणका काम शुरु गरिएको छ।

    जग्गाको उपलब्धताको लागि सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकामा कुनै बिबाद छैन । लगानीका लागि बजेटमार्फत सरकारले तत्परता प्रदर्शन गरिसकेको छ । यसर्थ,यसपाली चाँगुनारायणमा वीर अस्पताल र सूर्यविनायकमा मानव अंग प्रत्यारोपण अस्पताल बन्न शुरु हुने पक्का छ । त्यति मात्र होइन, यी दुई नगरपालिकामा गरि ५५ वटा दुई लेनका सडक बिस्तारका लागि पनि बजेटमा ब्यवस्था गरिएको छ ।

    स्मार्ट सिटी सरकारको ड्रिम प्रोजेक्ट हो, यसमा पनि भक्तपुरमा कुनै बिबाद छैन । सभा हलको लागि पनि हामीसंग गठ्ठाघरमा पर्याप्त जग्गा छ । यसर्थ, यस पटकका योजनाहरु कार्यान्वयन हुने कुरामा निश्चिन्त रहन प्रसस्त आधार छन् ।

     

     

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...