News Portal

  • भक्तपुरको मात्र १ हजार ४ सय योजना टिपेको रहेछु : डिपी ढकाल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ असार २०८०
    १२४० पटक
    भक्तपुर, २४ असार २०८०

    डिपी ढकालको नामले चिनिएका देवीप्रसाद ढकाल बागमती प्रदेश सरकारको मुख्यमन्त्री शालिकराम जमरकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार हुन् । अर्थ राजनीतिबारे जानकार उनले अर्थशास्त्र र राजनीति शास्त्रका बिभिन्न पुस्तकहरु पनि लेखका छन् । नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत रहेका ढकाल भक्तपुरको बिकाश र राजनीतिमा प्राय: चर्चामा नै रहने गरेका छन् । बौद्धिक नेताको पहिचान बनाएका उनै ढकालसंग भक्तपुरपोष्टका लागि सम्पादक संजीप घिमिरे ‘शुभचिन्तक’ले बजेटको विषयमा केन्द्रीत रहेर गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

    तपाइँ बागमती प्रदेशमा मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार हुनुहुन्छ । यस अघि संघीय सरकारमा अर्थमन्त्रीको प्रमुख स्वकीय सचिव रहेर काम गरेको अनुभव पनि तपाइँसंग छ । संघ र प्रदेशको बजेट निर्माण प्रक्रियामा के फरक पाउनुभयो ?

    राजस्वको श्रोत बाडफाड र आफ्नै श्रोत व्यवस्थापनका हिसावले पनि संघभन्दा प्रदेशको बजेट सानो हुने नै भयो । संघले नै कतिपय श्रोत सुनिश्चित गरिदिएकाले संघ भन्दा प्रदेशको बजेट निर्माण प्रक्रिया केहि सरल पनि देखिन्छ । तर, संघले अनुदान दिने क्षेत्रमा प्रदेशले राजश्व उठाउनुपर्ने भएकाले बजेट निर्माण चुनौतीपूर्ण छ । कृषिमा संघले अनुदान दिने भएपनि प्रदेशले भने राजस्व असुली गर्नुपर्ने विरोधाभाष देखिन्छ । प्रदेशको मूख्य आम्दानीको श्रोत यातायात र भूमी कर हो । सीमित आम्दानी समेटेर प्रदेशले बनाउने बजेटमा सीमितता रहनु स्वाभाविकै लाग्यो । करको दायरा फराकिलो हुने भएकाले संघीय बजेटमा यस्तो सीमितता हुँदैन ।

    प्रदेश सरकारसंग कुनै भिजन नभएको र संघीय सरकारकै बजेटको सिको गरेर बजेट बनाइने गरेको आरोप लाग्ने गर्छ नि ?

    हाम्रो संघीयता सहकार्यमूलक भएकाले कतिपय अवस्थामा संघ र प्रदेशको बजेट उस्तै देखिन सक्छ ।तर, प्रदेश संग भिजन नभएको भने होइन । प्रदेश सरकारकै बजेटका कारण हिजो पछाडी पारिएका वर्ग र क्षेत्रको बिकास सम्भव भैरहेको छ । बागमती प्रदेश सरकारको बजेटले उत्पादन र रोजगारीमा जोड दिएको छ । प्रदेश सरकारले बजेटमा १ सय वटा क्षेत्रलाई पहिचान गरी उत्पादनको विशेष पकेट क्षेत्र बनाउन १४ करोड बजेट बिनियोजन गरेको छ । गृहिणी महिलालाई आयआर्जन संग जोड्न पांच करोड बिनियोजन गरिएको छ । त्यसैगरी युवालाई रोजगारी संग जोड्न पन्ध्र करोड बिनियोजन गरिएको छ । भौतिक पूर्वाधार मात्र बिकास होइन भन्ने मान्यताबाट प्रदेशले सामाजिक क्षेत्रमा लगानी बढाएको छ । त्यसका अलावा भाषा,कला,सस्कृती र मौलिकता जोगाउन र प्रवर्द्धन गर्न तर्फ पनि प्रदेशको बजेट बिनियोजन भएको छ । प्रदेशको बजेटले सामाजिक न्याय र सामानुपातिक वितरणमा जोड दिएको छ ।

    हामीले बजेट मार्फत संघीय सरकारलाई नै विकासको बागमती मोडेल दिन सफल भएका छौं ।

    त्यसोभए प्रदेश सरकारले बजेटमा  जनताको पक्षमा देखिने गरी गरेका प्रमुख कामहरु के के छन् ?
    बागमती प्रदेश सरकारले यो वर्ष छपन्न प्रतिसत बजेट बिकाश निर्माणमा लगाएको मैले भनिनै सकेको छु । यो बाहेक अति बिपन्न परिवारको खरको छानो फेरेर खरको छानो मुक्त घर बनाउने हाम्रो कार्यक्रम छ । उपत्यका लगायत शहरहरुलाई व्यवस्थित शहरीकरण र सौन्दर्यकरण गर्न प्रदेश लागिपरेको छ । प्रदेश निर्वाचन क्षेत्रमा अर्ग्यानिक खेतीका लागि आवश्यक प्राङ्गारिक मल उत्पादनका लागि आवश्यक बजेट व्यवस्था गरिएछ ।

    प्रदेश सरकार बनेपछि गाउँगाउँमा बाटो बनेका छन् । बागमतीमा यो वर्ष पनि २० अर्वको बाटो बन्दैछ । काकाकुल बनेका जनतालाई पानी खुवाउन सरकारले पाँच अर्व बजेट बिनियोजन गरेको छ । स्वास्थ्यको क्षेत्रमा प्रदेश अस्पातालको स्तरउन्नती र सेवा बिस्तार गरिएको छ । जेष्ठ नागरिक, असाहाय, महिला र बालबालिकाका, बिपत र सवारी दुर्घटनामा परेकाको लागि मुख्य मन्त्री जनता कार्यक्रम मार्फत उपचार नपाएर मर्न नपर्ने ग्यारेन्टी गरिएको छ । सार्वजनिक शिक्षाको उन्नतीका लागि विद्यालयलाई सुविधासम्पन्न र सिकाइको गुरस्तर वृद्धि गर्दै लगिएको छ । रोजगारीका लागि आवश्यक ज्ञान र बिउ पूजीको व्यवस्था गरिएको छ । कृषीलाई मुख्य प्राथमिकतामा राखी किसान केन्द्रित बजेट बनाइएको छ ।

    शिक्षामा ब्यापक सुधारको नीति लिइएको र यसका लागि कार्यदल नै बनाइएको छ । त्यस्तै प्रदेशमा आफ्नै विश्वविद्यालय खोल्ने बजेट छ । बागमती प्रदेश सरकारले स्थापना गर्ने विश्वविद्यालय कृषी, प्रविधि र प्राविधिक विषयमा मात्र केन्द्रीत रहने छ ।

    उद्योगको विविधिकरण गरिने र प्रदेशभित्र उद्योग खोल्न चाहने उद्योगीलाई खानेपानी, ढल,बाटो र बिजुली उपलब्धताको लागि सरकारले सहजीकरण गर्ने गरी बजेट बिनियोजन गरिएको छ । त्यस्तै नयाँ उद्यमसीलता प्रवर्द्धन अन्तर्गत कृषी प्रशोधन उद्योग खोल्न चाहने उद्योगीसंग लागत साझेदारी गर्ने कार्यक्रम पनि प्रदेश सरकारले अघि सारेको छ ।

    तर, प्रदेश सरकार नै चाहिदैन खारेज गर्नुपर्छ भन्ने माग पनि सुनिएकै छ नि ?
    यो त नबुझ्ने र बुझ्न नचाहनेहरुले गरेको भ्रमपूर्ण माग मात्र हो । नेपालमा रहेका तीन तहका सरकार सबैले आ आफ्नो बजेट बनाउछन । आफ्नो बजेटको सबैभन्दा बढी बिकासनिर्माणमा खर्च गर्ने प्रदेश सरकार मात्र हो । तथ्यांक हेरे हुन्छ बजेटको छपन्न प्रतिसत बजेट प्रदेशले बिकासमा लगाएको छ ।

    बागमतीको मात्र होइन, सातै प्रदेशको चालु खर्च भन्दा पूजीगत खर्च बढी हुनेगरेको छ । बिकास खर्च बढी गर्ने सरकार खारेजीको माग गर्ने मानिस कस्ता हुन् हामी सहजै भन्न सक्छौं । उनीहरु बिकास र व्यवस्था बिरोधी हुन् ।

    तपाइँ त भक्तपुरको नेता पनि हुनुहुन्छ । जिल्लाको विकासको लागि यो वर्ष केकस्ता कार्यक्रमको पहल लिन सफल हुनुभयो ?
    भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसिन खरिद र संचालनका लागि प्रदेश सरकारको बजेटमै ८ करोड बिनियोजन गराउनु प्रमुख सफलताको रुपमा लिएको छु । मध्यपुर थिमीको नगर अस्पताल नेपाल कोरिया मैत्री नगर अस्पतालमा योजना आयोगबाट वितरण हुने १ करोड २० लाख ३ वर्ष सम्म निरन्तर आउने व्यवस्था गर्न सफल भईएको छ भने ख्वप: अस्पताललाई पनि साढे २ करोड रुपैया प्रदेश सरकारको मन्त्रीपरिषद निर्णय गरी व्यवस्था गरिएको जानकारी गराउछु ।

    प्रदेश सरकारको नगरकोटको दीर्घकालीन बिकाशमा टेवा पुग्ने गरी यहाँका स्थानीय र व्यवसायीको माग बमोजिम नगरकोटलाई विशेष पर्यटकीय क्षेत्र घोषणा गरी पर्यटन बिकासमा जोड दिईएको छ । यहाँको काठमाडौं, काभ्रे र सिन्धुपाल्चोक जोड्ने मुख्य बाटो स्तरउन्नती गर्न ४ करोड बजेट व्यवस्था गरिएको छ । नगरकोट भ्रमण वर्ष २०२३ मनाउन पनि आवश्यक बजेट व्यवस्था गरिएको छ । चाँगुनारायणका वडाहरु जोड्नेगरी द्रुतमार्ग निर्माणमा ४ करोड बजेट बिनियोजन गरिएको छ । यो बजेट अरु वर्षहरुमा पनि थपिदै जाने सुनिश्चितता गरिएको छ । त्यतिमात्र होइन, जिल्लालाई नै फन्को मार्नेगरी भक्तपुर चक्रपथको लागि पनि ४० लाख व्यवस्था गरिएको छ ।

    भक्तपुरको परम्परागत शीप संरक्षण गर्न सास्कृतिक औद्योगिक ग्राम निर्माणका लागि डीपीआरको लागि बजेट बिनियोजन गरिएको छ ।  मुहानपोखरीलाई खानेपानीको लागि बजेट बिनियोजन गरिएको छ । निलबाराहीको पहिरो नियन्त्रणमा १ करोड माथिको बजेट व्यवस्था गरिएको छ । जिल्लाका बिभिन्न विद्यालयलाई भौतिक पूर्वाधार बिकासमा सहयोग पुग्नेगरी बजेट राखिएको छ । लायकु दरवार संरक्षणका लागि १ करोड बजेट बिनियोजन गरिएको छ । अरनिको सभा भवन बनाउन प्रदेश सरकारले ३ करोड ३० लाख छुट्याइएको छ ।

    देकोचा साँखु सडकलाई ३९ करोड श्रोत सुनिश्चित गरिएको छ । सिरुटार सडकलाई पन्ध्र करोड श्रोत सुनिश्चित गरिएको छ । भक्तपुरको सभ्यता र नदी अतिक्रमण नियन्त्रण गर्न तथा बस्तीलाई सुगम बनाउन नदीमा करिडोर निर्माणका लागि बजेट बिनियोजन भएको छ । बागमती प्रदेश सरकारले बजेटमा सम्बोधन गरेको ४ करिडोर मध्ये ३ भक्तपुरकै पर्नु हाम्रो लागि सुखद पक्ष मान्नुपर्छ । हनुमन्ते खोला, खस्यांग खुसुंगखोला र महादेव खोलामा करिडोर निर्माणका लागि अरु वर्षहरुमा पनि थपिदै जाने गरि शुरुवाती बजेट पन्ध्र करोड बिनियोजन भएको छ । आदर्श चोक बाट वडा कार्यालय जोड्ने सडक त्यसैगरी खरिपाटी देखि कुन्ता र साँगा पाँचखाल सुरुङ्ग मार्गको सम्भाव्यता अध्ययन गर्न बजेट व्यवस्था गरिएको छ ।

    भक्तपुरको लागि प्रदेश सरकारले बजेटमा पर्याप्त व्यवस्था गरेको छ । लाखको योजना पनि धेरै छन् । बजेट कार्यान्वयन भएपछि स्थानीयले प्रदेश सरकारलाई धन्यवाद नभनी रहन सक्नुहुन्न ।

    कतिपय तपाईकै पार्टीका मानिसहरु पनि आफूले भनेको ठाउँमा बजेट नपरेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका देखिन्छन नि ?

    म मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार भएपछि हाम्रो पार्टीका मात्र नभई आम भक्तपुरबासीले म प्रति अपेक्षा राख्नु स्वभाविकै हो । मलाई पार्टीका र पार्टी बाहिर रहेपनि म प्रति भरोषा राख्ने साथीहरुले बजेटका लागि योजना टिपाउनु भएको थियो ।

    सबैगरी करिब १ हजार ४ सय योजना मैले डायरीमा टिपेको रहेछु । सबै योजना म आफै मुख्यमन्त्री भए पनि समेट्न सकिने थिएनन ।

    बजेटको मापदण्ड र प्राथमिकताका आधारमा भक्तपुरका योजनाहरु परेका छन् । म योजना नपरेका सबै साथीहरुलाई बिनम्रतापूर्वक अनुरोध गर्छु कि आगामी दिनहरुमा पालो तपाइँहरुकै योजनाको हो । बिकासको समानुपातिक वितरणमा म व्यक्तिगत रुपमा दृढ छु र बागमती प्रदेश सरकार पनि दृढ नै छ ।

    यहाँ बजेट परेपछि मैले पारिदिए भन्ने नेता, सांसद र मन्त्रीहरु प्रसस्त छन् तर यति धेरै जिल्लाबासीले पत्याएको तपाइँ मौन रहनुको कारण के होला ?

    बजेट आवश्यकताको आधारमा निर्धारण गर्नुपर्छ । लोकप्रिय हुन पूरा हुन नसक्ने ठुला योजनामा बजेट लगानी गर्दा पूजीगत खर्च घट्ने र अर्थतन्त्रमा नकारात्मक असर गर्ने हुन्छ । कनिका छरे झैँ बजेट बाढ्ने कामले पनि दिगो बिकास हुन सक्दैन । त्यसैले बजेट कार्यकर्ता वा नेतामुखी नभई बिकासमुखी हुन पर्छ ।

    नेता, सांसद र मन्त्रीहरु जनताको प्रतिनिधि भएकाले उहाँहरुले बजेटको पहल लिन खोज्नु नकारात्मक होइन । भक्तपुरमा हाम्रा सांसद र नेताज्यूहरुले आआफ्नो पहल बाट योजना पार्नु भएकै छ । कसैले दुख गरेर ल्याएको योजनामा धन्यवाद भन्न नसक्ने र आफैले गरेजस्तो गर्ने  प्रवित्ति राम्रो होइन । यसले पहलकर्तालाई हतोत्सायी बनाउछ भने गलत सस्कार समेत मौलाउछ । कुन योजना कसले पार्यो भन्ने बजेट माग गर्दै हिड्ने सबैलाई थाहा हुन्छ । अतिरन्जना क्षणिक भ्रम मात्र  हो । बजेट माग गर्ने कुरामै सबै राजनीतिक दलको एउटै मत र कार्यान्वयनमा सहकार्य अहिलेको आवश्यकता हो ।कसैलाई उचोनिचो बनाएर हामी कहिँपनि पुग्दैनौ ।

    मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने बिगतमा चाँगुनारायणमा मेरो एकल प्रयासमा आएका बजेट हिजोका दिनमा पूर्व मन्त्री र सांसदज्युले नै आफूले जस दिंदै शिलान्यास र उद्घाटन गर्दै हिड्नु भएको पनि हामीले देख्यौं । त्यसो गर्दैगर्दा कम्तिमा फलानोलाई धन्यवाद भने भन्न सक्नैपर्छ । म अर्थमन्त्रीको प्रमुख स्वकीय सचिव रहंदा पायलट बाबाको आश्रम लगायत धेरै ठाउँमा जाने बाटो बनाइएको हो ।

    भत्केको पाटी नगरकोट सडक समयमै बनेको भए हामीले गर्यौं भनेर उहिल्यै अरु कसैले जस लिइ सक्नुहुन्थ्यो । म आफू राजनीतिक सस्कार र कर्ममा बिश्वास गर्ने सामाजिक प्राणी हु । बजेट पारेको जस लिने दौडमा डिपी ढकाल छैन । बजेट जनताको नासो हो र जनताकै आवश्यकतालाई विशेष पूर्ण रुपले सम्बोधन गर्दै बिनियोजन हुनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । जोसुकैले जस लिएपनि बजेट सदुपयोग होस् र बजेटको दुरुपयोग नहोस भन्नेमा सचेत रहन अनुरोध गर्दछु ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...