(भक्तपुरमा १ सय ३० सामुदायिक र ३ सय ३० सस्थागत(निजी) विद्यालय छन् जो करिब पचहत्तर हजार विद्यार्थीहरुको सिकाइ केन्द्र पनि हुन् । चैत ११ देखि जारी लकडाउनका कारण सिकाइमा परेको प्रभाव र सरकारी गतिविधिका बारेमा शिक्षा विकाश तथा समन्वय इकाई, भक्तपुरका प्रमुख खेमनाथ पोखरेलसंग भक्तपुरपोस्टका लागि संजीप शुभचिन्तकले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।)
असार १ गतेबाट विद्यालयहरु पनि खुलेका हुन् ?
विद्यालय नै खुलेको भन्ने कुरा होइन । विद्यालयको प्रशासन शाखा मात्र खुलेको हो ।
विद्यालय प्रशासन चै किन खुलेका हुन् नि ?
असार १ देखि बैकल्पिक विधिबाट शिक्षण सिकाइ शुरु भएको छ । शैक्षिक संस्थाहरूमा प्रत्यक्ष पठनपाठन सम्भव नभएको कारणले असार १ गतेदेखि सिकाइ सहजीकरणका कार्यक्रमहरू कार्यान्वयन गरिएको हाे । लकडाउनका कारण विद्यालय बन्द भएपछि कुन बिकल्प बाट आफ्ना विद्यालयका विद्यार्थीहरुसंग शिक्षण सिकाइलाई जोड्न सकिन्छ भन्ने मूख्य जिम्मेवारी विद्यालयकै हुन्छ । संघ,प्रदेश र स्थानीय सरकारलाई आफ्ना विद्यार्थीको संचार माध्यममा पहुँचको अवस्था बताउन र त्यहाँबाट उनीहरुलाई लक्षित गरी उत्पादन भैरहेका शिक्षण सामाग्री विद्यार्थीसम्म पुर्याउन विद्यालय प्रशासन खुलेका हुन् ।
बैकल्पिक शिक्षण बिधि भनेको के हो ?
विद्यालय बन्द भएपछि अवरुद्ध भएको शिक्षण सिकाइलाई बिभिन्न विकल्पको प्रयोग गरी विद्यार्थीसंग जोड्ने विधि बैकल्पिक शिक्षण विधि हो । अनलाइन, रेडियो, टिभी, पत्रपत्रिका लगायतका माध्यम प्रयोग गरी बैकल्पिक शिक्षण बिधिबाट विद्यार्थीहरुलाई शिक्षण सिकाइ संग जोडिएको छ । शिक्षा तथा मानव श्रोत विकाश केन्द्रले यस्ता कार्यक्रम उत्पादन गरी प्रशारण गरिरहेको छ भने स्थानीय तहले समेत आफ्नो विद्यालय र विद्यार्थीको आवस्यकता अनुसार बैकल्पिक शिक्षण बिधि प्रयोग गर्दै शिक्षण सिकाइलाइ जोड दिएका छन् ।
त्यसोभए सबै शिक्षक कर्मचारीहरु विद्यालय आउँन अनिवार्य छैन त ?
विद्यालयले आवश्यक ठानेका शिक्षक कर्मचारी उपस्थित हुनुपर्दछ । भक्तपुर शहरी क्षेत्र भएकोले इन्टरनेट पहुँचमा विद्यार्थीहरु छन् । कतिपय विद्यालयले अनलाइन शिक्षा शुरु गरेका छन् । त्यसैले शिक्षक कर्मचारीलाई आउँन अनिवार्य गरेका पनि हुनसक्छन । असार १ अघि लकडाउनमा जसरी शिक्षक घर बस्थे, त्यसरी नै घर बस्ने छुट अब छैन । तर यसो भन्दैमा अव्यवहारिक बन्न पनि मिल्दैन । जिल्ला बाहिर रहेका शिक्षक कर्मचारी लकडाउन उल्लङ्घन गरेर अनिवार्य विद्यालयमा उपस्थित हुनुपर्ने अवस्था छैन ।
भक्तपुरका कतिपय विद्यालयले शिक्षक कर्मचारीलाई अनिवार्य उपस्थित हुन उर्दी जारी गरेका र उपस्थित नभए बिदा काट्ने चेतावनी दिएका गुनासा पनि सुनिएका छन् नि ?
हामीलाई कसैले त्यस्तो गुनासो गर्नुभएको छैन । कोही कसैले नबुझेर त्यसो भनेको हुनसक्छ । अहिलेको अवस्थामा शिक्षक कोरोना जोखिम मुक्त प्राणि होइनन् । जिल्ला बाहिर रहेका शिक्षक लकडाउन उल्लङ्घन गर्दै विद्यालय आउनुपर्ने अवस्था छैन । उहाँहरु जुन ठाउँमा हुनुहुन्छ । त्यहीं नजिकको विद्यालयसंग जोडिएर काम गर्न सक्नुहुन्छ । त्यहींको स्थानीय तहले आवश्यकता अनुसार अर्हाएको खटाएको काम भने गर्नुपर्दछ ।र, उहाँहरु यथास्थानबाट आउँदा त्यहाँको विद्यालय वा स्थानीय तहसँग जोडिएको प्रमाण भने पेश गर्नुपर्दछ । अन्यथा हाजिर जोडिदैन ।
विद्यालयले अनलाइन शिक्षा शुरु गरेका भन्नुभयो । के सबै शिक्षक त्यसका लागि योग्य छन् त ? के सबै विद्यार्थी विशेषगरी सामुदायिक विद्यालयका विद्यार्थी इन्टरनेट पहुँचमा छन् त ?
अनलाइनबाट कक्षा संचालन गर्न हाम्रो लागि चुनौती छ । सबैसंग इन्टरनेट पहुँच छैन र हाम्रा शिक्षक अनलाइ कक्षा संचालनमा अभ्यस्त छैनन् भन्ने कुरा साँचो हो । तर, चुनौती छ भन्दैमा चुप लागेर बस्ने भन्ने पनि उपयुक्त समाधान होइन । यो असहज अवस्थामा जति विद्यार्थीलाई सकिन्छ, त्यतिलाई सिकाइसंग जोडौं भन्ने हो । विद्यालयले आफूखुशी बैकल्पिक विधिबाट पठनपाठन संचालन गर्नु अघि त्यसको प्रभावकारीतामा ध्यान पुर्याउनैपर्छ । सम्बन्धित नगरपालिकाको निर्देशन बमोजिम नै विद्यालयहरुले सिकाइमा जोड दिनुपर्दछ ।
नयाँ कक्षामा गएका विद्यार्थीले पाठ्यपुस्तक नै नपाएका अवस्थामा अनलाइन शिक्षाका नाममा बालबालिकामाथि बोझ थपिएको त होइन ?
बालबालिकाको सिकाइ सम्बन्धमा ति बालबालिका बसेको स्थानबाट सबैभन्दा पायक पर्ने सामुदायिक विद्यालयले निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था रहेको छ भने नयाँ कक्षामा गएका आफ्ना विद्यार्थीलाई विद्यालयले पाठ्यपुस्तक उपलब्ध गराई वैकल्पिक सिकाइ प्रणालीमा जोड्न सकिने प्रबन्ध रहेको छ । सिकाइ सहजीकरण कार्यक्रम कार्यान्वयनमा कुनै व्यवहारिक समस्याहरू भए शिक्षण संस्थाहरूले सम्बन्धित स्थानीय तहसँग परामर्श गरी प्राप्त निर्देशानुसार गर्नसक्ने अवस्था छ । अनलाइन शिक्षा भनेको सिकाइ सहजीकरणका लागि हो । यसबाट बालबालिकामाथि बोझ थपिएको तर्क स्वीकार्न सकिन्न । यद्यपी यो हाम्रा लागि चुनौती भने हो ।
भक्तपुरमा बिद्यालय र विद्यार्थीको कूल संख्या कति हो ? के सबै विद्यार्थीलाई बैकल्पिक सिकाइ संग जोडिएको छ ?
भक्तपुर जिल्लामा १ सय ३० सामुदायिक र ३ सय ३० सस्थागत(निजी) विद्यालय छन् जसमा करिब पचहत्तर हजार विद्यार्थीहरु अध्ययनरत रहेका छन् । सबै विद्यार्थीलाई बैकल्पिक सिकाइसंग जोड्ने हाम्रो प्रयत्न हो । हाम्रा सामुदायिकका मात्र होइन, निजी विद्यालयका विद्यार्थीहरु पनि ठूलो संख्यामा गाउँ गएको अवस्था छ । उनीहरु आफ्नै घरबाट उपलब्ध बैकल्पिक विधिको सिकाई कार्यक्रमसँग जोडिएको हुनुपर्ने हाम्रो विश्वास छ ।
ठूलो संख्यामा विदयार्थीहरु जिल्ला बाहिर गएको भन्नुभयो । सामुदायिक र सस्थागत मध्ये कुन विद्यालयका विद्यार्थी बढी बाहिरिएका छन् र यसबाट शैक्षिक सत्रमा विद्यार्थी घट्ने सम्भावना कत्तिको देखिन्छ ?
सस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयका बढी विद्यार्थी जिल्ला बाहिर गएको सूचनाहरु प्राप्त भएका छन् । सस्थागत विद्यालयमा स्थानीय विद्यार्थीको संख्या बढी र सामुदायिकमा कम रहेकाले यस्तो भएको हो । कोरोनाको कहरको विषम परिस्थितिका कारण अभिभावक रोजगारबिहिन हुन पुगेको र गाउँतिरै बस्ने, भक्तपुर नफर्कने मनस्थिति बनाएका कुरा पनि साथीहरुले सुनाइरहनु भएको छ । यसबाट विद्यार्थी घट्ने सम्भावना रहन्छ ।
निजी विद्यालयहरुले विद्यार्थी भर्ना गर्ने र पढाइ शुरु गर्ने भन्दै आएका छन् नि ?
त्यो भन्ने कुरा मात्र हो । देश नै लकडाउनमा रहेको अवस्थामा उहाँहरुलाई लकडाउन तोड्ने छुट छैन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा शैक्षिक क्षेत्रले थप जिम्मेवार र सचेत भएर निर्णयहरु गर्नुपर्ने हुन्छ । यथावस्थामा विद्यालय खुलेपनि अभिभावकले आफ्ना छोराछोरी विद्यालय पठाउने कुरा कल्पना गर्न सकिदैन । निजी विद्यालयले विद्यालय खोल्ने कुरा त पर जाओस सोच्नुसमेत हुँदैन ।
निजी विद्यालय संचालकका छाता संगठन प्याब्सन र एनप्याब्सनले लकडाउन अवधीको पनि शुल्क तिर्न अपिल गरेका छन् । के अभिभावकले शुल्क तिर्नुपर्ने हो ?
निजी विद्यालयको आर्थिक श्रोत विद्यार्थीहरुबाट प्राप्त हुने शुल्क भएकोले विद्यालयका शिक्षक कर्मचारीलाई तलब दिन शुल्क उठाउन पाउनुपर्ने उहाँहरुको माग हो । यस सम्बन्धमा शिक्षा मन्त्रालयले शुल्क अशुल नगर्न निर्देशन जारी गरिसकेको अवस्था छ । अहिलेको विषम परिस्थितमा निजी लगानीका विद्यालयहरूले भोग्नु परिरहेका समस्याहरूको विधिसम्मत निरूपणका लागि मन्त्रालयले सबै सरोकारवालाहरूसँग आवश्यक परामर्श तथा छलफल गर्ने बताएको छ । त्यसपछि मात्र शुल्कको बारेमा टुङ्गो लाग्ने हो । अहिलेको विषम परिस्थितिमा शुल्क लिन हतार गर्नु बुद्धिमानी होइन । यसले निजी विद्यालयकै साख गिराउँछ ।
अहिले जुनरुपमा कोरोनागूजी फ़ैलाइएको छ, यसले बालबालिकामा कस्तो मनोबैज्ञानिक असर पुगेको छ ?
अहिले बालबालिकालाई डर देखाउने नयाँ हाउँगूजीको रुपमा कोरोनागूजी फ़ैलाइएको छ । यो राम्रो होइन । सचेत गराउनु ठिकै हो तर त्रसित बनाउनु हुँदैन । यसले बालमनोविज्ञानमा नराम्रो असर गर्छ । सकारात्मक भाव पैदा गराउदै बालबालिकालाई सहज अनुभूति गराउनुपर्छ । घरपरिवार र समाजमा पनि बालबालिकाले सिक्ने कुरा धेरै हुन्छ । उनीहरुलाई यो बेला खाना बनाउने, करेसाबारीमा काम गर्ने लगायतका धेरै कुरामा व्यस्त राख्न सकिन्छ । राम्रा बाल साहित्य र ज्ञान विज्ञानका पुस्तक र इन्टरनेट खोजी बाट पढ्न लायक सामाग्री खोजेर आफ्ना बालबालिकालाई उपलब्ध गराउनुपर्छ । सरकारले उपलब्ध गराएको बैकल्पिक सिकाइसंग जोडिएर सिकाइ अघि बढाउँनसमेत प्रेरित गर्नुपर्छ ।
बैकल्पिक सिकाई संग जोडिन असमर्थ विद्यार्थीलाई आफ्ना पाठ छुटेकोमा चिन्ता देखिन्छ । उनीहरुको चिन्ता कत्तिको जायज हो ?
बैकल्पिक सिकाई संग जोडिन असमर्थ विद्यार्थीहरु चिन्तित हुनुपर्दैन । सरकारले विकल्पको रुपमा सिकाइलाई जोड्न खोजेको मात्र हो । नयाँ शैक्षिक सत्र शुरु भएको होइन । विद्यालयमा नियमित पढाइ शुरु भएपछि पाठ्यपुस्तक शुरु पाठबाटै पढाइ हुन्छन् ।
विद्यालय क्वारेन्टाइन भएको भन्दै अभिभावक चिन्तित भएका छन् ? भक्तपुरमा विद्यालयको अवस्था कस्तो छ ?
भक्तपुरमा कुनै पनि विद्यालयमा क्वारेन्टाइन बनाइएको छैन । यहाँ पर्याप्त पार्टी प्यालेस र होटल भएकाले त्यो आवस्यक पर्ला जस्तो पनि लाग्दैन । अर्को कुरा क्वारेन्टाइन बनाउने बित्तिकै विद्यालय असुरक्षित हुने होइन । अभिभावकको पनि अभिभावक सरकार भएकाले सरकार विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील छ । यस विषयमा चिन्ता नलिन हाम्राे अनुरोध छ ।