News Portal

  • दुवाकोटमा १सय कोभिड बेड छ, हाम्रो १० तले भवनमा धेरै बेड बिस्तार गर्न सकिन्छ : प्रा.डा. कार्की

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ चैत
    ३८७५ पटक
    भक्तपुर, २१ चैत

    (बिश्वब्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९) का कारण देश बन्दाबन्दी(लकडाउन)को अवस्थामा रहँदा यसको रोकथाम र नियन्त्रणका प्रयासहरु भैराखेका छन् । यसैक्रममा कोरोनासंग सरकारी अस्पताल र स्वास्थ्यकर्मीहरु जुधिरहँदा निजी अस्पताल र स्वास्थ्यकर्मीहरु भने भागिरहेको भन्ने खबरको बास्तविकता र भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजले कोरोना रोकथाम र नियन्त्रणका लागि गरेका कार्यहरु प्रति केन्द्रीत रहेर कलेजकी कार्यकारी प्रमुख प्राध्यापक डाक्टर चन्दा कार्कीसंग भक्तपुर पोस्टका लागि संजीप शुभचिन्तकले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौँ ।)

    कोरोनासंग सरकारी अस्पताल र स्वास्थ्यकर्मीहरु जुधिरहँदा निजी अस्पताल र स्वास्थ्यकर्मीहरु भने भागिरहेको भन्ने खबर कत्तिको सत्य हो ?

    बिश्वब्यापी महामारीको रुप लिएको कोभिड १९ बिरुद्ध साधन श्रोत नभएका अस्पताल र स्वास्थ्यकर्मी भिड्न सक्दैनन् । यदि जवर्जस्ती गरियो भने त्यो आत्मघाती हुन्छ र झन् रोग फैलिने डर हुन्छ । हामीले के बुझ्नु जरुरी छ भने पीपीई बिना चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित बिरामीको सम्पर्कमा आएमा रोग सर्छ र त्यो अझ दुर्भाग्यपूर्ण हुन्छ । सबै अस्पताल सरुवा रोग अस्पताल हुँदैनन् र उनीहरुसंग पीपीई पनि नहुन सक्छ । यसर्थ, समाचारमा आएका कुरालाई हामीले एकतर्फी बुझेर आलोचना गर्नु भन्दा अस्पताल र स्वास्थ्यकर्मीको पिडा पनि बुझ्नुपर्छ तर यदि साधन स्रोत भएर पनि उपचार गरिएको छैन भने त्यो गलत हो ।

    काठमाडौ मेडिकल कलेज (केएमसी)को कुरा गर्नुहुन्छ भने यो निजी होइन, पब्लिक लिमिटेडको रुपमा रहेको छ । केएमसी अस्पतालले कुनै सेवा रोकेको छैन । बरु अत्यावस्यक बाहेक अस्पताल नआउँन अनुरोध भने गरेका छौं । किनभने यो समय घरमै सुरक्षित रहने समय हो ।हामीले हाम्रा चिकित्सकहरु संग घरमै बसेर परामर्श लिने व्यवस्था सहित उहाँहरुको मोबाइल नम्बर नै सार्वजनिक गरेका छौं ।यद्यपी,रेगुलर सेवाका अतिरिक्त हामीले कोभिड १९ काे आशंकामा आउने बिरामीहरुको पनि उपचार गरिरहेको अवस्था छ ।

    कोभिड १९ को आशंकाको विरामी पनि उपचार गरिरहेको भन्नुभयो, त्यस्ता कति बिरामी अस्पताल आएका छन् ?

    जब यो कोभिड १९ को कुरा आयो । हामीले शुरु देखि नै हाम्रो भक्तपुरको दुवाकोट र काठमाडौंको सिनामंगलमा रहेका अस्पताल मार्फत सेवा दिंदै आएका छौं । हामीले कोरोना स्क्रिनिङ् कक्ष स्थापना गरेका छौं । त्यहाँ शंकास्पद व्यक्तिको ज्वरो लगायत विश्व स्वास्थ्य संगठनले भनेका लक्षणका आधारमा स्क्रिनिङ् गर्ने कार्य हुन्छ । हालसम्म ९२ जना शंकास्पद बिरामीलाई लिएर हामीले उपचार गरिसकेका छौं । यसका लागि हामीसंग भेन्टिलेटर सहित आइसोलेसन वार्डको पनि व्यवस्था रहेको छ । ती मध्ये ४ जनालाई मात्र हामीले लक्षणका आधारमा रिपोर्टका लागि टेकु अस्पताल पठाएका थियौं । उहाँहरु चारै जनाको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ ।

    त्यसोभए कोरोना आशंका भएमा केएमसी आउँदा हुन्छ ?
    मैले अघि नै भनिसके हामीले कोरोनाको स्क्रिनिङ् गर्छौं । फेरि, यसको मतलव यो होइन कि हामीले कोरोनाकै उपचार शुरु गरिसक्यौं । यसको उपचारका लागि राज्यले निश्चित अस्पतालहरु तोकिदिएको छ । जुन दिन ती अस्पतालले धान्दैनन् अथवा राज्यले हामीलाई उपचार गर्न भन्छ , त्यस दिनदेखि हामी औपचारिकरुपमा उपचार पनि शुरु गर्छौं । त्यसका लागि हामी तयारी गर्दैछौं ।

    कोरोना संक्रमित बिरामी उपचार गर्न तपाइँहरुको तयारी बारे बताइदिनुस्, तपाइँहरुको बेड क्यापासिटी कति हो ?

    कोरोना भाइरसलाई बिश्वब्यापी महामारी घोषणा गरिएको भोलीपल्टै देखि हामीले कलेजमा स्पेसल टास्क फोर्स बनाएर काम गरिरहेका छौं । हाम्रो दुवाकोटस्थित अस्पतालमा २२ वटा क्याबिन तयारी अवस्थामा रहेको छ । त्यसैगरी हामीले दुवाकोटको दुईतलामा प्रत्येक तलामा ५० बेड राखेर कोभिड वार्ड नै बनाएका छौं । जसमा डब्लुएचओको मापदण्ड अनुरुप २ मिटर को दुरीमा बेड राखिएका छन् । यसमा ५० आईसोलेसन बेड र ५० वटा कोभिड बेड गरी १ सय बेड बन्दोबस्त गरेका छौं । दुवाकोटमा २ वटा भेन्टिलेटर सहित १० वटा आईसियू संचालन गर्ने हाम्रो तयारी छ । दुवाकोटको तुलनामा सिनामंगलमा हामीसंग भेन्टिलेटर र आईसियू धेरै छ । जम्मा १९ भेन्टिलेटर र ५८ आइसीयु बेड क्षमता हो हाम्रो । त्यो बाहेक थप ५० बेड हामीसंग आइसीयू बनाउन मिल्ने गरी हाईकेयर बेडहरु छन् । त्यतिमात्र होइन, केएमसी अस्पतालका सम्पूर्ण छ सय १० वेडहरुलाई नै कोभिड १९ का बिरामी उपचारमा प्रयोग गर्न परेमा पनि हामी तयार छौं ।

    तपाइँहरुको मेनपावरको अवस्था कस्तो छ ? उहाँहरु उपचार गर्न तयार हुनुहुन्छ त ?
    हामीसंग २ सय पाँच जना डाक्टर हुनुहुन्छ । त्यसैगरी ३ सय १० बढी नर्सिङ्ग स्टाफ हुनुहुन्छ । हामीले उहाँहरुलाई रेगुलर एक हप्ताको ड्युटी र दुई हप्ताको क्वारेन्टाइन राख्ने योजना बनाएका छौं । हाम्रो स्टाफ हाम्रो शेयर होल्डर पनि हुनुहुन्छ । अस्पतालमा काम गरेपछि रोगदेखि डराउन मिल्दैन । हामी सबै नै ड्युटीका लागि प्रतिवद्ध छौं । तर, त्यसका लागि सरकारबाट पनि हामीले केहि अपेक्षा गरेका छौं । मलाई जहाँ सम्म लाग्छ, हामीलाई बलियो बनाएर नै सरकार रोग बिरुद्ध लड्न सक्छ । त्यसैले हामीलाई सरकारको साथ् रहने हाम्रो बिश्वास रहेको छ ।

    सरकारप्रति तपाइँहरुको अपेक्षा के हो ?
    हामीले उपचार सेवा सुरु गरेपछि प्रत्येक सिफ्टमा कम्तिमा १० जना स्टाफ इङ्गेज हुनुपर्छ । हामीले उहाँहरुलाई ७ दिनको ड्युटी र १४ दिनको क्वारेन्टाइन राख्नुपर्छ । त्यसका लागि हामीले कलेज होस्टललाई क्वारेन्टाइन तोकेका छौं । त्यस अवधीमा उहाँहरुलाई आवश्यक पर्ने रसदपानी बजारमा नपाइने वा असुरक्षित हुने स्थिति भएमा सरकारले सुरक्षित किसिमले उपलब्ध गराउनुपर्छ । उपचारमा संलग्न स्टाफको सुरक्षाको लागि लगाइने पीपीई हामीले बजारमा किन्न पाउदैनौ, त्यो सरकारले व्यवस्था गरिदिनुपर्छ । यो बेला विशेष प्रकारको एम्बुलेन्स आवस्यक पर्छ । त्यसको व्यवस्थापनमा सरकारी सहयोग आवस्यक पर्छ । मैले अघि नै भने कि हामीसंग भेन्टिलेटर राख्नासाथ आईसीयू हुनसक्ने ५० हाई केयर बेड छन् । त्यसकारण भेन्टिलेटर जडानमा सरकारले साथ् दिनुपर्छ । सरकारले किनिदिओस् भन्ने कुरा पनि होइन, हामीले नै किन्ने हो तर, सरकारले सहजीकरण गरिदिनुपर्छ ।

    सरकारले यति गरेपछि तपाईहरु उपचारको लागि तयार हुनुहुन्छ ?
    होइन,तपाईले यसलाई हाम्रो सर्तको रुपमा बुझ्नु भएन । यो सरकारलाई हाम्रो अनुरोध हो । भोलि महामारी नेपालमा फैलियो भने कुनै पनि अस्पताल साधनस्रोत छैन भनेर हात बाधेर बस्ने स्थिति हुँदैन । त्यसैले समयमै साधनश्रोत सम्पन्न बनौँ र सुरक्षित किसिमले उपचार गरौँ भन्ने कुरा हो ।
    हामीले हाम्रो तर्फबाट सरकारलाई सपोर्ट गर्न तयारी गरेका छौं ।अहिलेकै तयारी अनुरुपका बेड संचालन गर्न हाम्रो मासिक २ करोड पचास लाख खर्च हुने देखिन्छ । हामीले यो बेला पैसा हेरेका छैनौं । यस्तै बेला हो राज्यलाई हामीले सहयोग गर्ने । अब सरकारले हामीसंग कति बढी सेवा लिने उसको इच्छा र क्षमताको कुरा हो । महामारी नियन्त्रण गर्ने कार्य निकै ठूलो कुरा हो र यो राज्यकै कर्तब्य हो । हामीले त्यसमा होस्टेमा हैसे मात्र गर्ने हो । जो हामी गर्न तयार छौं । सरकार अझ सशक्त किसिमले अघि बढोस् भन्ने हाम्रो चाहना हो । सरकारले ‘गर’ भनेपछि हामी उपचार शुरु गर्न तयार छौं । त्यतिबेला हाम्रो स्वास्थ्यकाे जिम्मेवारी पनि सरकारकै रहन्छ ।

    सरकारले केएमसीसंग कत्तिको समन्वय गरेको छ ?
    सरकारका जिल्ला प्रतिनिधि भक्तपुरको सीडीओ हुमकला पाण्डे म्यामले हामीसंग समन्वय गरिराख्नु भएको छ । त्यसैगरी स्थानीय सरकारको रुपमा रहेको चाँगुनारायण नगरपालिकाका मेयर साेम मिश्रले पनि सहकार्य गरेर अघि बढ्ने बताउनु भएको छ । आजै मात्र पनि भेन्टिलेटर सिनामंगलबाट दुवाकोट सार्न उहाँहरुले गाडी उपलब्ध गराइदिनुभएको छ । दुवाकोटमा हामीसंग १० तले अस्पताल भवन छ । सरकारले चाहेमा हामी यहाँ धेरै बिरामी अट्नेगरी व्यवस्थापन गर्न सक्छौं ।

    कोभिड १९ बारे तपाईको संदेश के छ  ?

    कोभिड १९ बाट चीन, अमेरिका, इटाली जस्ता शक्तिराष्ट्रहरुले ठूलो क्षती व्यहोर्नु परेको छ । त्यसैले पनि हामीले यसलाई हल्का ढंगमा लिनुहुँदैन । रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु राम्रो हो । यसको रोकथामको मूख्य उपाय भनेकै घरमा बस्ने र सरकारको निर्देशन पालना गर्ने हो । यसको संक्रमण नेपालमा फैलियो भने महामारी आउँन कुनै समय लाग्दैन । भक्तपुर पोस्ट मार्फत म सम्पूर्ण महानुभावहरुमा यसलाई गम्भीरताका साथ् लिई घरमै बसेर कोभिड १९ लाई महामारीको रुपमा नेपालमा फैलनबाट रोक्न हार्दिक अनुरोध गर्दछु । साथै, संकटको यो समयमा केएमसी तपाईहरुको साथमै रहेकाे विश्वास दिलाउन चाहन्छु  । हामीले सार्वजनिक गरेका चिकित्सकबाट यहाँहरुले घरमै बसी विशेषज्ञ सेवा लिन सक्नुहुन्छ । यदि इमर्जेन्सी नै पर्यो भने हाम्रो दुवाकोट र सिनामंगलस्थित दुवै अस्पताल सेवाको लागि चौबिसैं घण्टा खुला रहेको जानकारी गराउँन चाहन्छु ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...