News Portal

  • नेकपा राहत वितरणको नाममा सस्तो राजनीतिक प्रचारबाजीमा ब्यस्त छ : दुर्लभ थापा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ बैशाख
    ३१२५ पटक
    भक्तपुर, १ बैशाख

    (दुर्लभ थापा नेपाली काँग्रेसको भक्तपुर जिल्ला सभापति हुन् । देशमा २० दिन देखि जारी बन्दाबन्दी (लकडाउन) बाट भक्तपुरमा परेको प्रभाव र नेपाली काँग्रेसको क्रियाशीलताको विषयमा केन्द्रित रहेर भक्तपुर पोस्टका लागि संजीप शुभचिन्तकले उनीसंग गरेको टेलिफोन संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।)

    नयाँ वर्ष कसरी मनाइरहनुभएको छ ?
    कोरोना भाइरसको बिश्वब्यापी महामारी रहेको र हाम्रो देशमा पनि लकडाउन भएकोले नयाँ वर्ष उत्साहजनक छैन । तथापी, घरमै रहेर परिवारसंग र साथीभाइसंग टेलिफोन र सामाजिक संजाल मार्फत शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइरहेको छु । नयाँ वर्षको नाममा खर्च बढाउने भन्दा खर्च घटाउने समय हो यो । लकडाउनका कारण खाना खान नपाउने विपन्नहरुलाई आफ्नो गाँस काटेर खाना उपलब्ध गराउनुपर्ने अवस्थामा फजुल खर्च नगर्न परिवार, साथीभाई र आम कार्यकर्तालाई निर्देशन दिइरहेको छु ।

    नेपाली काँग्रेसले भक्तपुरमा राहत नै बाँडेन भन्ने छ नि ?
    हेर्नुस्, अहिले राहतको नाममा फोटो खिचाएर आफ्नो प्रचार गर्ने मात्र काम भएको छ । यो समय निस्वार्थ सहयोग गर्ने समय हो । सहयोगको नाममा राजनीति र प्रचारवाजी गर्ने समय होइन । अहिले तपाइँ हेर्नुहुन्छ भने सतारुढ़ दल राहत वितरणको नाममा सस्तो राजनीतिक प्रचारबाजीमा ब्यस्त छ । यकातिर, उ नेपाली काँग्रेसका नेता कार्यकर्तालाई राहत सामाग्री बाढ्न बन्देज गर्दैछ जुनकुरा पूर्व मन्त्रीहरुलाई नै सहयोग गर्नबाट रोकेको सार्वजनिक भैसकेको छ भने अर्कोतिर नेपाली काँग्रेस यस्तो दुखको बेलामा पनि घरमा सुतेर बसेको प्रोपोगान्डा फैलाइरहेको छ । यो अति नै तुच्छ राजनीतिक खेल भैराखेको देखिन्छ ।

    जहाँ सम्म भक्तपुर काँग्रेसको कुरा छ, हामीले आफ्नो हैसियत अनुसार सहयोग गरिरहेका छौं । म आफू पनि आफ्नो समुदायमा रहेका बिपन्न परिवारलाई सहयोग गरिरहेको छु र प्रत्येक क्रियाशील सदस्यले आफ्नो घर वरपर रहेका विपन्नको लागि खाद्यान्न व्यवस्थापन गर्न मैले निर्देशन गरेको छु । हाम्रा तरुण दल , नेवि संघ लगायतका युवा साथीहरुले पनि सचेत ढंगमा आवाजविहीनहरुको आवाज बनेर विपन्न परिवारको चुल्हो बाल्ने जोहो गरिरहनु भएको छ ।

    भक्तपुरमा बिपन्न परिवार भोकै रहनुपर्ने अवस्था छ कि छैन ?

    स्थानीय तहका वडास्तरमा रहेका नेताहरुले सबैको हैसियत बुझेका हुन्छन तर यहाँ हामीले समाचारमा पढ्यौ कि हुनेखानेले पनि राहत लगे भनेर नेकपाबाटै निर्वाचित वडाध्यक्षहरु रोइकराइ गरिरहेका थिए । राहत वितरणको मापदण्ड बनाउन नसक्ने त हाम्रा वडाध्यक्षहरु छन् । यस्तोमा सरकारी राहत लोभीपापीले खाइरहेका र पाउनुपर्ने जनताले नपाइरहेका हुन सक्छन । कतिपय ठाउँमा ३ किलो चामल राहत भनेर दिएको पनि देखियो । त्यो राहतले कति दिन खाने हो ? यसर्थ, राहत वितरणमा संबेदनशील नहुने हो भने बिपन्न परिवार भोकै रहनुपर्ने स्थिति छ । यद्यपी हामीले आफ्नो एक छाक काटेर अर्को छाक खान नपाउनेलाई खुवाउन कार्यकर्तालाई निर्देशन दिएकाले हामी त्यो अवस्था आउँन दिंदैनौं । हामी कम्युनिष्ट जस्तो गरीबको नाउँमा राजनीति गरी गरीबलाई नै लात हान्ने कठोर ह्दयका होइनौं । हामी धर्ममा विस्वास गर्छौं । बिहान मन्दिरमा अक्षता चढाउने सस्कार बाट हामी हुर्किएका छौं । हामीलाई थाहाँ छ भोकालाई भोजन दिनु जत्ति पुण्य कर्म अरु हुन सक्दैन । त्यसैले नेपाली काँग्रेसले कसैलाई भोको हुन दिंदैन ।

    भक्तपुरमा संघ र प्रदेशका सांसद छन्, ४ वटा स्थानीय सरकार पनि छ । यिनीहरुको कामलाई प्रमुख प्रतिपक्षी दलको नेताको आखाँले कसरी मुल्यांकन गरिरहनुभएको छ ?
    संघ र प्रदेशका सांसदहरु, स्थानीय सरकारका प्रमुखहरु र वडाप्रतिनिधिहरु कता लुकेका छन्, जनताले देखेका छैनन् । फोटो खिचाउने र घरमा भागिहाल्ने प्रवृत्ति छ । जनताको करले किनेको राहत आफ्नै घरबाट दिएको झैँ अभिमान देखाउँदै फोटो खिच्ने बाहेक उनीहरुको काम देखिएको छैन । जनता घरमा लकडाउनमा छन् । यतिबेला उनीहरुलाई सरकारको सबभन्दा धेरै खाँचो छ तर कमिसन खान पल्केकाहरु जनताको घरमा जाने साहस देखाउन सकेका छैनन् । रोगविरुद्ध लड्न योजनाबद्ध योजनाहरु बनाएका छैनन् । ४ मुठ्ठा साग बेच्न किसानहरु बाटोमा जोखिम मोलेर बस्नुपर्ने अवस्था छ । स्थानीय सरकारले किसानको साग किनिदिएर ब्यवस्थित बिक्रीको व्यवस्था मिलाउन सकेको छैन । यद्यपी समाचार बनाउन एकदुइ दिन गरी टोपलेका थिए । बजारमा भिडभाड कायम छ, स्थानीय सरकारले घरघरमा सामान पुर्याउने सेवा दिन सक्थ्यो तर, गरेको छैन । मलाई त यस्तो लाग्छ, हामीलाई भगवान पशुपतिनाथले बचाइरहेका छन्, सरकारले लकडाउन भित्र आवश्यक अन्य सुरक्षा सावधानी अपनाउन सकेको छैन ।

    जिल्लामा लकडाउन प्रभावकारीता कस्तो देखिएको छ ? स्थानीय प्रशासनकाे कस्ताे मूल्यांकन गर्नु भएकाे छ ?
    जिल्ला प्रशासन कार्यालयले लकडाउनलाई कडाइका साथ् लागू गराएको भएपनि प्रहरीको आखाँ छलेर बाहिर निस्कँदा आफूलाई बहादुर ठान्ने मानिसहरुका कारण केहि समस्या छ । शहरी शिक्षित भनिने भक्तपुरमा केहि मानिसहरु कोरोना जस्तो भयावह रोग प्रति लापरवाह देखिनु राम्रो कुरा होइन । तरकारी किन्न दशैमा टीका लाउन हिँडे जसरी पूरै परिवार हिडेका देखिन्छन । प्रहरी प्रशासन जोखिम मोलेरै सडकमा हाम्रो सुरक्षाको लागि कराइरहेको छ । सरकारले घरमै बस भनेको छ तर हावा खान भन्दै केहि मानिसहरु समूह बनेर टहलिरहेका छन् । यसमा प्रशासनको असक्षमताको कुरा भन्दा मानिसहरुको मूर्खता हावी देखिएको छ ।

    भक्तपुरमा कालोबजारी भएको छ कि छैन ?
    कालोबजारी गर्न त सरकारले नै सिकाएको छ नि । हामीले देख्यौं, स्वास्थ्य सामाग्री खरीदका नाउँमा करोडौं कुम्ल्याउन सरकारले नै कालोबजारी गर्यो । स्वास्थ्य विभागका डिजीले यस्तो महामारीमा सामान महँगो हुन्छ भनेर आफ्नो खरीदको बचाव गरे । यस्तो अबस्थामा अब किसानले १० रुपियाँको साग २० मा बेच्दा कालोबजारी भन्ने कि नभन्ने ? जो अगुवा उही कालोबजारी भएको अवस्थामा बजारमा कालोबजारी नियन्त्रण चुनौतिपूर्ण कुरा भएको छ । यद्यपी, नेपाली काँग्रेस कालोबजारी बिरुद्ध कठोर छ र कालोबजारी हुन नदिन प्रतिवद्ध छ ।

    अन्त्यमा तपाईको संदेश के छ

    कोरोना महामारीबाट शक्ति राष्ट्रहरु नै बिचलित बनेका छन् । यस्तोमा, नेपालमा कोरोना संक्रमण फैलिन नदिन हामी सबै जिम्मेवार हुनुपर्छ । लकडाउनको पूर्ण पालना गरी घरमै सुरक्षित किसिमले बस्न र बेला बेलामा हात धोइरहन अनुरोध गर्दछु । अत्यावस्यक काममा बाहिर निस्कदा घरको निरोगी व्यक्ति, रोगप्रतिरोधी क्षमता भएको एक व्यक्ति मात्र बाहिर निस्कन समेत अनुरोध छ । सरकारका प्रतिनिधि र जनताका प्रतिनिधिलाई मूल्यांकन गर्ने अवसर कोरोनाले जुटाइदिएको छ । उनीहरुको मूल्यांकन गरेर राख्नुहोला । अन्त्यमा मेरो व्यक्तिगत र जिल्ला पार्टीको तर्फबाट पनि तपाइँ सम्पूर्ण महानुभावहरुमा नयाँ वर्ष २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु । हामी घरमै बसि सुरक्षित रहौैँ । आफू पनि बचौँ, अरुलाई पनि बचाऔँ ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...