News Portal

  • भक्तपुरमा ‘राष्ट्रिय परिचयपत्र’का लागि विवरण दर्ता कार्य शुरु

    संजीप शुभचिन्तक भक्तपुर, ५ साउन
    ४८३९ पटक
    भक्तपुर, ५ साउन

    भक्तपुरमा ‘राष्ट्रिय परिचयपत्र’का लागि विवरण दर्ता कार्य शुरु भएकाे छ । आइतवारबाट विवरण दर्ता कार्य शुरु भएकाे हो ।

    भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्ला प्रशासन कार्यालयमा कार्यरत प्रमाणीकरण अधिकृतमार्फत आफ्नो विवरण दर्ता गरी राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यको शुभारम्भ गरेकी हुन् । आइतवार करिब पचास जनाको विवरण दर्ता कार्य सम्पन्न भएको छ । चालु आर्थिक वर्षभित्र भक्तपुरका सबैको विवरण दर्ता कार्य सम्पन्न गर्ने लक्ष लिइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी गराइन् ।

    राष्ट्रिय परिचयपत्रको माध्यमबाट गुणस्तरीय सार्वजनिक सेवा तथा शान्ति, सुरक्षा र सुशासन प्रवर्द्धन गर्ने कार्यमा सहयोग हुने भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको भनाइ छ । उनले सरकारको यस कार्यक्रममा सहभागी बन्न र ‘राष्ट्रिय परिचयपत्र’का लागि विवरण दर्ता गराउन सबैलाई अपिल पनि गरेकी छन् ।

    “प्रविधिमैत्री, सुशासित र सुदृढ सेवा प्रवाह नेपालको सान, बहुउपयोगी राष्ट्रिय परिचयपत्र हाम्रो पहिचान” भन्ने नाराका साथ् शुरु भएको ‘राष्ट्रिय परिचयपत्र’ व्यक्तिका परिचय प्रमाणिकरणको डिजिटल समाधान (digital solution) हो । डिजिटल विशेषता रहेकाले अहिलेको आधुनिक युगमा यसलाई सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराउन यो अत्यन्त उपयोगी छ । राष्ट्रिय परिचयपत्रको रुपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटो सहितको बायोमेट्रिक स्मार्ट कार्डको रुपमा ‘राष्ट्रिय परिचयपत्र’ प्रदान गरिने हुँदा यसलाई नागरिकता भन्दा बढी उपयोगी बनाउने सरकारी प्रयत्न देखिन्छ ।

    नागरिकताको आधारमा विवरण फारम भरी दर्ता गरेपछि बायोमेट्रिक स्मार्ट कार्डको रुपमा ‘राष्ट्रिय परिचयपत्र’ प्राप्त हुने र यसको डिजिटल रेकर्ड हुने हुँदा अधिकार प्राप्त अधिकारीले जहाँ बाट पनि परिचय हेर्न र प्रमाणीकरण गर्न सक्ने व्यवस्था रहेको छ । फाेटाे, नाम, जन्ममिति, बाबुआमाको नाम, बायोम्याट्रिक (औठा) छापसहितको विवरणयुक्त यो परिचयपत्र अनलाइनमा रिड गर्नेे डिजिटल परिचयपत्र हो ।

    राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमलाई प्रकृयागतरुपमा अघि बढाउन “राष्ट्रिय परिचयपत्र व्यवस्थापनको रणनीतिक योजना २०७५”, “राष्ट्रिय परिचयपत्र वितरणका लागि नेपाली नागरिकता प्राप्त व्यक्तिको विवरण दर्ता तथा राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी कार्यविधि, २०७५”, मन्त्रीपरिषद् र मन्त्रालयस्तरीय विभिन्न निर्णयहरुले कानुनी आधार प्रदान गरेको छ ।

    सबै जिल्लामा लागू गर्नुपूर्व आ.व.२०७५/०७६ मा पाँचथर जिल्लाका नागरिकहरु र सिंहदरबार परिसरका कर्मचारीहरुलाई ‘राष्ट्रिय परिचयपत्र’ वितरण गरी यसको सफल परीक्षण गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले दावी गरेको छ । ‘राष्ट्रिय परिचयपत्र’ वितरणसम्बन्धी कार्यादेश पाएको गृह मन्त्रालय अन्तर्गत रहेको यो विभागले जिल्ला प्रशासन कार्यालय मातहत रहने गरी कर्मचारी नियुक्त गरी राष्ट्रिय परिचयपत्रसम्बन्धी कामकाजमा खटाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...