काठमाडौँ, २६ साउन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ दिनहुँ उकालो लागेपछि नेपालमा सुनको व्यवसायी सङ्कटमा पर्न थालेका छन् । सामान्य अवस्था दैनिक १० देखि २० किलोभन्दा बढी र तीज, दशैँ, तिहार तथा विवाहका सिजनमा ३० देखि ४० किलोसम्मको व्यापार हुने गरेकोमा कोरोनाको सङ्क्रमण र मूल्य वृद्धिसँग कारोबार ठप्प जस्तै छ ।
सुनको मूल्य बढेपछि किन्नेभन्दा बढी बेच्ने होलान् भन्ने व्यवसायीको अपेक्षा भए पनि खासै बिक्रेता पनि नआएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा ढिक्का सुनभन्दा पनि गहना बनाएर राख्ने प्रचलन रहेकाले मूल्य निरन्तर बढिरहँदा उपभोक्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ ।”
खासमा सामान्य ग्राहकको सुनप्रतिको आकर्षण अहिले सुनको बढ्दो भाउ बुझ्दै आश्चर्य प्रकट गर्नु मात्र रहेको पाइन्छ । ग्राहकले मूल्य बढेका आधारमा सुन बिक्री गर्न जाँदा व्यवसायीले करिब पाँच प्रतिशतसम्म रिफाइनरी चार्ज (ज्याला जर्ती) भनेर कट्टी गर्ने आपसी समझदारी गरेका छन् । सामान्य अवस्थामा भने यो दुईदेखि तीन प्रतिशत मात्र रहन्थ्यो ।
महासचिव बज्राचार्य भन्नुहुन्छ, “यो कुनै नियम बनाएको होइन किन्ने र बेच्ने बीचको आपसी समझदारीले अधिकतम पाँच प्रतिशतसम्म गर्न सकिने भन्ने समझदारी भएको हो ।”
महासङ्घका अनुसार नेपालमा सुनचाँदीको व्यवसायमा करिब ६० अर्ब रुपियाँको लगानी छ । यो व्यवसायमा देशभर करिब २२ हजार व्यवसायी आबद्ध छन् । तीमध्ये काठमाडौँमा दुई चार जना व्यवसायी विदेशी पनि रहेका छन् ।
सुनका गरगहना तयार गर्न र बिक्रेताका रूपमा यो क्षेत्रमा करिब दुई लाखभन्दा बढी श्रमिक आबद्ध छन् । तीमध्ये ७० देखि ८० प्रतिशत श्रमिक विदेशी रहेकाले अहिले आ-आफ्नो घर फर्किएका छन् । बन्दाबन्दी सकिएपछि करिब १० प्रतिशत काममा फर्के पनि उनीहरूले काम पाउन नसकेको महासचिवको भनाइ रहेको छ । गोरखापत्र दैनिकबाट