भक्तपुर । भक्तपुरका कुमालेहरुलाई अहिले फुर्सदै फुर्सद भएको छ । कुनै बेला माटोका भाडाहरु बनाउन भ्याइनभ्याइ हुने कुमालेलाई अहिले यो कोरोना कहरले फुर्सदिलो बनाइदिएको हो ।
हुन त अहिले प्राय सबै व्यवसायीलाई नै फुर्सद छ । त्यससंगै अरुबेला सधै व्यस्त देखिने कुमालेहरु पनि फुर्सदिला बनेका छन् । यस समयमा युवाहरु भने मोबाइलहरु चलाएर आफ्नो दिन काटिरहेका छन् । तर, मोबाइलमा अभ्यस्त नभएका बुढापाकाहरुलाई भने समय काट्न मुस्किल छ । उनीहरु अचेल बिना काम बस्नुपर्दा एकदमै अल्छी लागेको बताउँछन् ।
७६ वर्षीय गणेशभक्त प्रजापति भन्छन्, भएको सबै काम गरिसके, दिन बिताउन नै गाह्रो भइसकेको छ । प्रजापति भक्तपुरका तालाको (पोर्टरी स्क्वार) को स्थानीय बासिन्दा हुन् । उनको पुर्खौली काम माटाका भाडाहरु बनाउने हो । आफूले जानेदेखि यही काम गर्दै आएको उनले यही कामलाई अहिलेसम्म पनि निरन्तरता दिदैं आइरहेका छन् ।
गणेशभक्त प्रजापति मात्र होइन, उनका छिमेकी गणेशकुमार प्रजापतिको हालत पनि त्यस्तै रहेको छ । उनले पनि आफूलाई अहिलेसम्म अर्डर आएका सबै माटाका भाडा बनाएर सकिएको जानकारी दिए । त्यसमा उनी फेरि थप्छन्, सामान त सबै बनाइसक्यौ तर अहिले सम्म साहूहरु लिन आएको छैन । “साहूहरुले पसल खोल्न नपाएको झण्डै ६ महिना भइसकेको छ, सामान सबै स्टक रहेको छ । खोलेपछि लिन आउछु भनेका छन् ।” प्रजापतिले भने ।
पोर्टरी स्क्वारमा बनाइएका माटाका भाडाहरु हेर्न देश विदेशबाट आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । पर्यटकहरुले ती सामान खरिद गर्नुका साथै ठूलाे मात्रामा अर्डर पनि दिने गर्दछन् । माटाका भाडाहरु बनाउन कुमालेहरुले माटो भने हरिसिद्धि, थिमिबाट लिएर आउने गर्दछन् ।
यस कोरोनाको कारण कुमालेहरुको व्यवसाय ठप्प भएसंगै आम्दानी पनि सुकेको छ । पर्यटन व्यवसाय संग प्रत्यक्ष जोडिएको उनीहरुको व्यवसाय सुचारु हुने समय अझै अनिश्चित छ । अनिश्चयका बीच पनि पुरानै लयमा फर्कने बिस्वासमा समय बिताउनुको उनीहरु संग अर्को कुनै बिकल्प देखिदैन ।